एक्लोपनको लामो रात (कबिता)

रातहरू अब
घडीले होइन,
यादहरूले गन्न थाल्यो
सेकेन्ड सेकेन्डमा
कुनै पुरानो आवाज
मनभित्र ठोक्किन्छ ।

झ्यालबाहिर शहर बाँचिरहेको छ,
बत्तीहरू झिलिमिली छन्,
तर मेरो कोठाभित्र
अँध्यारोले आफ्नै घर बनाइसकेको छ ।

हिजो जसलाई
“आफ्नो” भन्थेँ,
आज तिनै सम्झनाहरू
सबैभन्दा भारी भएका छन्
न त फ्याँक्न मिल्छ,
न त सम्हाल्न सकिन्छ
मनले धेरै कुरा भन्न खोज्छ,
तर शब्दहरू
घाँटीमै मरेर जान्छन्
आँखा रसाउँछन्,
तर आँसु झर्दैनन्
सायद थाकिसकें
रोइरहनु पनि कति ?

भीडमा हुँदा
एक्लोपन झन् चर्किन्छ,
किनकि सबैसँग
केही न केही छ कोही न कोही छ,
र मसँग
केवल खाली हात न कसैको साथ ।

कहिलेकाहीँ लाग्छ,
यदि म हराएँ भने
कसैले याद गर्ला ?
कि संसार
यत्तिकै अघि बढ्ला
म कहिल्यै थिएनजस्तै गरेर ?

रात गहिरिँदै जाँदा
मन आफैंसँग झगडा गर्छ
“किन अझै बाँचेको ?”
तर जवाफमा
केवल सासको आवाज
बाँकी रहन्छ ।

एक्लोपन डर होइन अब,
यो त बानी भइसकेको छ
दु:खसँग
चुपचाप बस्न सिकिसकेँ,
मुस्कान ओठ
भित्रैबाट हराउँदैछ ।

सायद सायद एकदिन
यो पीडाले पनि थाक्ला,
सायद उज्यालो
मेरो नाम लिएर आउला ।

घरी घरी यो पनि लाग्छ
कतै म नै पो गलत हो कि ?
सायद म गलत हुनसक्छु
तर मैले महसुस गरेका
भावनाहरू कतै गलत छैनन् ?

त्यसैले आज…
आज म
यही अँध्यारोसँग
एक्लै बस्न चाहन्छु ।

अबिना ढुंगाना, दाङ
हाल: काठमाडौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *