बाढीपीडितको आँसु पुछ्दै देउखुरी पब्लिक स्कुल, ५५ हजार ५५५ को मानवीय सहयोग
घरसञ्चार
दाङ । रसुवाको भोटेकोशी-त्रिशूली नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि देउखुरी पब्लिक अङ्ग्रेजी माध्यमिक विद्यालय लमही-६, देउपुरले आर्थिक सहयोग गरेको छ ।
विद्यालयले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५५ हजार ५ सय ५५ रुपैयाँ (रु. ५५,५५५) सहयोग रकम जम्मा गरेको हो । विद्यालय सञ्चालक समितिका अध्यक्ष रतन कुमार के.सी. र प्रधानाध्यापक भू-माण्डप के.सी. ले बाढी तथा विपद् बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गरिएको जानकारी दिनुभयो ।
भदौ १० गते रसुवा जिल्लामा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति हुनुका साथै धेरै नागरिक प्रभावित भएको अवस्थामा विद्यालय परिवारले पीडित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै सहयोग गर्ने निर्णय गरेको सञ्चालक समितिका अध्यक्ष रतन कुमार के.सी.ले बताउनुभयो ।
“विपद्को समयमा पीडित नागरिकलाई साथ दिनु हाम्रो सामाजिक दायित्व हो । मानवीय संवेदनालाई आत्मसात् गर्दै विद्यालयको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जम्मा गरेका हौँ,” अध्यक्ष के.सी.ले भन्नुभयो । विद्यालयका प्रधानाध्यापक भू-माण्डप के.सी.ले प्राकृतिक विपद्का कारण समस्यामा परेका नागरिकको राहत तथा उद्धार कार्यमा विद्यालयले आफ्नो तर्फबाट सहयोग गर्ने उद्देश्यले रकम प्रदान गरिएको बताउनुभयो । उहाँले विपद्को समयमा सबै क्षेत्र, संघ-संस्था तथा नागरिकलाई आ-आफ्नो क्षमताअनुसार सहयोग गर्नसमेत आग्रह गर्नुभयो ।
देउखुरी पब्लिक अङ्ग्रेजी माध्यमिक विद्यालयले शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकतामा राख्दै विभिन्न सामाजिक तथा मानवीय कार्यमा सहभागिता जनाउँदै आएको विद्यालयले जनाएको छ । रसुवाको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि विद्यालयले गरेको यो सहयोगले विपद्को समयमा सामाजिक एकता, मानवीय संवेदना र सहयोगी भावनाको सकारात्मक सन्देश दिएको छ ।






