देउखुरी सामुदायिक सेवा केन्द्र लमहीको छैठौ अधिबेसन, अध्यक्षमा बस्नेत निर्बिरोध चयन

घरसञ्चार

दाङ । देउखुरी सामुदायिक सेवा केन्द्र लमहीको १२औँ साधारण सभा तथा छैठौँ अधिवेशनबाट गोमा बस्नेतको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ । अधिवेशनले नेपाल पत्रकार महासंघ दाङ शाखाका सदस्य टेकबहादुर पुनलाई प्रेस संयोजकमा समेत चयन गरेको छ ।
अधिवेशनबाट उपाध्यक्षमा सीतादेवी चौधरी, सचिवमा भानु जोशी, कोषाध्यक्षमा दीपा खत्री र सहसचिवमा रामचन्द्र विक्रम शाह चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरूमा पुनिराम चौधरी, गोमा घर्ती मगर, कृष्णकुमार थापा, उमाकान्त चौधरी, गोपाल शाही, कल्पना पछाईं, हल्लु प्रसाद चौधरी, पूर्णप्रकाश विश्वकर्मा, तेजबहादुर नेपाली र जंगबहादुर चौधरी चयन भएका छन् । निर्वाचन समितिका संयोजक मीना गुरुङका अनुसार अधिवेशनबाट चयन भएका सबै पदाधिकारी तथा सदस्यहरू निर्विरोध निर्वाचित हुनुभएको हो । कार्यसमितिमा तीन सदस्यीय आर्थिक समिति, पुरुष उपाध्यक्ष र महिला सहसचिव भने समितिको बैठकबाट मनोनयन गरिने जनाइएको छ ।

संस्थाका अध्यक्ष किरण विक्रम शाहको अध्यक्षता तथा लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यता एबम् वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक रमेश तिमिल्सिनाको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा अध्यक्ष किरण विक्रम शाहले सामुदायिक सेवा केन्द्रलाई सामाजिक उत्तरदायित्व बहन गर्ने साझा संस्थाका रूपमा विकास गर्नुपर्नेमा जोड दिए । उनले संस्थाले स्थापनाकालदेखि गर्दै आएका सामाजिक गतिविधिलाई निरन्तरता दिँदै आगामी दिनमा अझ सक्रिय र प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताए । समाजमा देखिने विभिन्न समस्या समाधानका लागि समुदाय, सुरक्षा निकाय र स्थानीय सरकारबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।

प्रमुख अतिथि नगर प्रमुख जोगराज चौधरीले सामुदायिक संस्थाहरू समाज परिवर्तनका महत्वपूर्ण आधार भएको उल्लेख गर्दै स्थानीय तहले पनि यस्ता संस्थासँग सहकार्य र समन्वय गरेर अघि बढ्नुपर्ने बताए । उनले सामाजिक सचेतना, शान्ति सुरक्षा, विकृति विसंगति न्यूनीकरण तथा नागरिकलाई जिम्मेवार बनाउने अभियानमा सामुदायिक सेवा केन्द्रको भूमिका महत्वपूर्ण हुने धारणा राखे । संस्थाले समाजको हितमा सञ्चालन गर्ने रचनात्मक गतिविधिमा स्थानीय सरकारको सहकार्य आवश्यक रहने उनले बताए । संस्थाकी उपाध्यक्ष गोमा बस्नेतको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा संस्थाका सचिव सीता चौधरीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेकि थिईन भने कोषाध्यक्ष दीपा खत्रीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकि हुन ।

प्रस्तुत प्रतिवेदनमाथि छलफल गर्दै संस्थाको वार्षिक गतिविधि, आर्थिक अवस्था तथा आगामी कार्ययोजनाका विषयमा समीक्षा गरिएको थियो । सो अवसरमा संस्थाको विकास र सामाजिक सेवामा योगदान पुर्‍याउने संस्थापक अध्यक्ष लीला शाह, पूर्वअध्यक्ष योगमाया शाही र पूर्वअध्यक्ष पुष्पराज अधिकारीलाई प्रमाणपत्र, फूलमाला र अबिरसहित सम्मान गरिएको थियो ।
कार्यक्रममा पूर्वअध्यक्ष पुष्पराज अधिकारी, योगमाया शाही, संस्थापक अध्यक्ष लीला शाह तथा वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक रमेश तिमिल्सिनाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । वक्ताहरूले सामुदायिक सेवा केन्द्रले समाजमा शान्ति, सुरक्षा, सामाजिक सद्भाव र नागरिक सचेतना अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए ।

उनीहरूले संस्थाको संस्थागत विकासका लागि सबै पक्षबीच सहकार्य, समन्वय र एकता आवश्यक रहेको उल्लेख गर्दै नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै संस्थाको आगामी कार्यदिशासमेत तय गरेको छ । नवनिर्वाचित कार्यसमितिले संस्थालाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै सामाजिक सेवाका गतिविधिलाई निरन्तरता दिने अपेक्षा गरिएको छ । कार्यक्रमको सञ्चालन संस्थाका सहसचिव निरञ्जन सिंहले गरेका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *