देउखुरीको मौरिघाटमा राष्ट्रिय वाणिज्य बैंकको एटीएम सेवा सञ्चालन
भिसुन शाही
देउखुरी । दाङको राप्ती गाउँपालिका-४ श्रीनारायण चोक, मौरिघाटमा रहेको राष्ट्रिय वाणिज्य बैंक, देउखुरी शाखाले सेवाग्राहीको सुविधालाई मध्यनजर गर्दै एटीएम सेवा सञ्चालनमा ल्याएको छ । बैंकले शुक्रबारदेखि एटीएम सेवा सुरु गरेसँगै मौरिघाट तथा आसपासका क्षेत्रका नागरिकलाई नगद झिक्न तथा आवश्यक बैंकिङ कारोबार गर्न थप सहज हुने भएको छ ।
राष्ट्रिय वाणिज्य बैंकको देउखुरी शाखा वि.सं. २०८२ जेठ २२ गतेदेखि मौरिघाटमा सञ्चालनमा आएको हो । शाखाबाट हाल कर्जा, निक्षेप, रेमिट्यान्स, डिजिटल बैंकिङलगायत बैंकिङसम्बन्धी विभिन्न सेवाहरू प्रदान हुँदै आएका छन् । शाखामा सेवाग्राहीको बढ्दो चाप र स्थानीयस्तरमा बैंकिङ सेवाको आवश्यकता समेतलाई ध्यानमा राख्दै एटीएम सेवा थप गरिएको बैंकले जनाएको छ । शाखा प्रबन्धक विष्णु गैरेका अनुसार बैंकमा आउने सेवाग्राहीलाई सहज, छिटो र आधुनिक बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले एटीएम सेवा सञ्चालनमा ल्याइएको हो ।
एटीएम सञ्चालन भएपछि बैंक खुल्ने समयबाहेक पनि आवश्यकताअनुसार नगद झिक्न सकिने भएकाले स्थानीय सेवाग्राहीलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ । मौरिघाट देउखुरी क्षेत्रको महत्वपूर्ण व्यापारिक तथा आवागमनको केन्द्रका रूपमा विकास हुँदै गएको अवस्थामा राष्ट्रिय वाणिज्य बैंकले एटीएम सेवा सञ्चालनमा ल्याएपछि स्थानीय व्यवसायी, कर्मचारी, विद्यार्थी, सर्वसाधारण तथा आसपासका बासिन्दालाई बैंकिङ कारोबारमा थप सुविधा पुग्ने भएको छ ।
बैंकले आगामी दिनमा पनि सेवाग्राहीको आवश्यकता र मागअनुसार बैंकिङ सेवालाई थप प्रभावकारी र प्रविधिमैत्री बनाउँदै लैजाने जनाएको छ । एटीएम सेवाको विस्तारले मौरिघाट तथा आसपासका क्षेत्रको आर्थिक तथा वित्तीय गतिविधिलाई समेत थप सहज बनाउने विश्वास गरिएको छ ।






