रोजी बड्स बालबाटिकाद्वारा बाढी प्रभावितका लागि १ लाख ११ हजार १११ रुपैयाँ सहयोग
घरसञ्चार
दाङ । लमहीस्थित रोजी बड्स बालबाटिका स्कुलले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहतका लागि १ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको छ ।
विद्यालयले बिहीबार उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो ।
विद्यालयका प्रिन्सिपल वसन्त न्यौपानेका अनुसार विपद्को समयमा पीडित नागरिकलाई सहयोग पुगोस् भन्ने उद्देश्यले विद्यालयको तर्फबाट उक्त रकम प्रदान गरिएको हो । बाढी तथा अन्य प्राकृतिक विपद्का कारण प्रभावित भएका नागरिकको राहत र पुनःस्थापनामा सहयोग पुग्ने विश्वाससहित कोषमा रकम जम्मा गरिएको उहाँले बताउनुभयो । रोजी बड्स बालबाटिका स्कुलले शैक्षिक गतिविधिसँगै खेलकुद तथा सामाजिक क्षेत्रमा समेत सक्रिय सहभागिता जनाउँदै आएको छ ।

विद्यालयले विद्यार्थीलाई पढाइसँगै सामाजिक उत्तरदायित्व, मानवीय भावना र सहयोगको संस्कार विकास गराउने उद्देश्यले विभिन्न सामाजिक गतिविधिमा समेत जोड दिँदै आएको जनाएको छ । प्रिन्सिपल न्यौपानेले विद्यालयको मुख्य उद्देश्य गुणस्तरीय शिक्षा प्रदान गर्नु भए पनि समाजमा आइपर्ने विपद् तथा समस्यामा विद्यालय परिवारले आफ्नो तर्फबाट सक्दो सहयोग गर्दै आएको बताउनुभयो । आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गतका गतिविधिलाई निरन्तरता दिने उहाँको भनाइ छ । बाढी तथा विपद्बाट प्रभावित नागरिकको राहतका लागि विभिन्न संघसंस्था, विद्यालय, व्यवसायी तथा व्यक्तिहरूले सहयोग गरिरहेका बेला रोजी बड्स बालबाटिकाले गरेको यो सहयोगले सामाजिक उत्तरदायित्व निर्वाहमा सकारात्मक सन्देश दिएको छ ।






