अचार बनाउने तालिम सम्पन्न, महिलालाई स्वरोजगार र आत्मनिर्भर बनाउने उद्देश्य
घरसञ्चार
दाङ । दाङको लमही नगरपालिका वडा नम्बर–७ मा अचार बनाउने तालिम सम्पन्न भएको छ । महिलाहरूलाई सीपमूलक तालिममार्फत आत्मनिर्भर, स्वरोजगार तथा साना उद्यमतर्फ आकर्षित गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको वडा कार्यालयले जनाएको छ ।
लमही नगरपालिका वडा नम्बर–७ को आयोजना तथा ग्लोबल क्लेज अफ ईन्जिनियरिङ टेक्नोलोजी, रुपन्देहीको सहकार्यमा सञ्चालन गरिएको तालिममा स्थानीय महिलाहरूको उत्साहजनक सहभागिता रहेको थियो । तालिममा अचार उत्पादन, संरक्षण, प्याकेजिङ तथा बजार व्यवस्थापन सम्बन्धी आधारभूत जानकारी दिइएको जनाइएको छ । समापन कार्यक्रममा सहभागी कल्पना चौधरीले तालिमले आफूहरूलाई घरमै बसेर आयआर्जन गर्न सकिने आत्मविश्वास दिएको बताइन् । कार्यक्रममा स्वागत मन्तव्य वडा सचिव बिन्तिराम चौधरीले राखेका थिए भने वडा सदस्य उर्मिला चौधरीले महिलाको आर्थिक सशक्तीकरणका लागि यस्ता सीपमूलक कार्यक्रम आवश्यक रहेको धारणा व्यक्त गरिन् ।

कार्यक्रममा वडाध्यक्ष मोहन गिरीले सीप नै आजको आवश्यकता भएको उल्लेख गर्दै तालिमलाई केवल सिकाइमा सीमित नराखी व्यवहारमा उतार्न आग्रह गरे । उनले भने, “हामीले सञ्चालन गर्ने यस्ता तालिमको मुख्य उद्देश्य महिलाहरूलाई आत्मनिर्भर बनाउनु हो । अहिलेको समयमा सीप बिना रोजगारीको अपेक्षा मात्र गरेर हुँदैन, आफैं केही गर्न सक्ने क्षमता विकास गर्नु आवश्यक छ । अचार बनाउने जस्तो सीपलाई व्यवसायमा रूपान्तरण गर्न सके घरबाटै आम्दानी गर्न सकिन्छ ।” उनले स्थानीय उत्पादन र परम्परागत स्वादलाई व्यवसायसँग जोड्न सके महिलाहरूको आर्थिक अवस्था सुधारिनुका साथै गाउँमै रोजगारी सिर्जना हुने बताए । “सानो लगानीबाट पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने सोच विकास गर्नुपर्छ,” उनले भने, “वडा कार्यालयले आगामी दिनमा पनि महिलामैत्री, आयआर्जनमुखी तथा स्वरोजगार सिर्जना गर्ने कार्यक्रमलाई प्राथमिकतामा राख्नेछ ।”






