राजमार्ग सुरक्षामा नयाँ प्रविधि : अर्जुनखोलामा अत्याधुनिक एएनपिआर सिसी क्यामेरा सञ्चालनमा

घरसञ्चार

दाङ । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत दाङको लमही नगरपालिका क्षेत्रमा पर्ने अर्जुनखोलामा अत्याधुनिक एएनपिआर (Automatic Number Plate Recognition) सिसी क्यामेरा जडान गरी सञ्चालनमा ल्याइएको छ ।

लमही चेम्बर अफ कमर्सले आयोजना गरेको मेला महोत्सवबाट बचत भएको रकमबाट करिब ५ लाख ५० हजार रुपैयाँ लागतमा क्यामेरा जडान गरिएको हो । राजमार्गमा हुने चोरी, आपराधिक गतिविधि, सवारी दुर्घटना तथा विभिन्न घटनाको अनुसन्धानलाई प्रभावकारी बनाउने उद्देश्यले क्यामेरा जडान गरिएको हो । जडान गरिएको क्यामेरा तथा सम्पूर्ण प्रणाली लमही नगरपालिकालाई हस्तान्तरण गरिएको छ भने यसको प्रत्यक्ष निगरानी वडा प्रहरी कार्यालय लमहीबाट सुरु गरिएको छ । प्रहरी कार्यालयमा मनिटर राखेर क्यामेरा सुचारु गरिएको हो ।

लमही चेम्बर अफ कमर्सले महोत्सव आयोजना गर्दा नै “महोत्सवको आम्दानीलाई सामाजिक तथा सार्वजनिक हितमा प्रयोग गर्ने” लक्ष्य राखेको थियो । सोही योजना अनुसार राजमार्ग सुरक्षालाई प्राथमिकता दिँदै अत्याधुनिक प्रविधिसहितको एएनपिआर क्यामेरा जडान गरिएको चेम्बरले जनाएको छ । एएनपिआर क्यामेराले सवारी साधनको नम्बर प्लेट स्वतः पहिचान गरी रेकर्ड राख्ने क्षमता राख्छ । यस प्रविधिबाट कुनै पनि सवारी साधन कुन समयमा कहाँबाट आवतजावत गर्‍यो भन्ने विवरण सुरक्षित राख्न सकिन्छ । चोरी भएका सवारी खोज्न, शंकास्पद गतिविधिमा संलग्न सवारी पहिचान गर्न, दुर्घटनापछि फरार हुने सवारीको विवरण संकलन गर्न तथा सुरक्षा निकायलाई अनुसन्धानमा सहयोग पुग्ने विश्वास गरिएको छ ।

त्यस्तै, राजमार्ग क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण, रातिको समयमा हुने आपराधिक घटनाको निगरानी तथा ट्राफिक व्यवस्थापनमा समेत क्यामेराले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । स्थानीयवासीले पनि आधुनिक प्रविधिको प्रयोगले सुरक्षा व्यवस्था थप मजबुत हुने विश्वास व्यक्त गरेका छन् ।लमही चेम्बर अफ कमर्सका अध्यक्ष किरण कुमार बुढाथोकीको अध्यक्षता तथा लमही नगरपालिकाका नगरप्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यमा क्यामेरा हस्तान्तरण गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख चौधरीले निजी क्षेत्रले सामाजिक उत्तरदायित्व अन्तर्गत गरेको काम प्रशंसनीय रहेको बताए । उनले प्रविधिको प्रयोगमार्फत नगरको सुरक्षा प्रणालीलाई थप मजबुत बनाउन नगरपालिकाले पनि सहकार्य गर्दै जाने प्रतिबद्धता जनाए । “राजमार्ग क्षेत्रमा हुने विभिन्न गतिविधि नियन्त्रण तथा नागरिकको सुरक्षाका लागि यस्ता प्रविधि आवश्यक छन्,” उनले भने, “यसले प्रहरी प्रशासनलाई काम गर्न सहज बनाउनुका साथै नागरिकलाई पनि सुरक्षित महसुस गराउनेछ ।” कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका लमही नगर सभापति शिवलाल भण्डारी, नेपाली काँग्रेसका लमही नगर सभापति सन्तोष बुढाथोकी, नेकपा एमालेका नगर अध्यक्ष रतन कुमार केसी, वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रोशनराज पाण्डेय तथा लमही नगरपालिकाकी उपप्रमुख लक्ष्मी योगीले मन्तव्य व्यक्त गरेका थिए ।

वक्ताहरूले निजी क्षेत्र, स्थानीय सरकार र सुरक्षा निकायबीचको सहकार्यले समाजमा सकारात्मक सन्देश गएको बताएका थिए । वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रोशनराज पाण्डेयले क्यामेराले अनुसन्धान कार्यलाई धेरै सहज बनाउने बताए । उनका अनुसार कुनै घटना घटेपछि सवारी साधनको पहिचान गर्न घण्टौँ लाग्ने अवस्था अब कम हुने अपेक्षा गरिएको छ । “एएनपिआर प्रविधिले नम्बर प्लेट स्वतः रेकर्ड गर्ने भएकाले घटनामा प्रयोग भएका सवारीको पहिचान छिटो गर्न सकिन्छ,” उनले भने ।

लमही चेम्बर अफ कमर्सका अध्यक्ष किरण कुमार बुढाथोकीले महोत्सवबाट बचत भएको रकमलाई दीर्घकालीन सार्वजनिक हितमा खर्च गरिएको बताए । उनले व्यापारिक संस्था केवल व्यापारमा मात्र सीमित नभई सामाजिक उत्तरदायित्वप्रति पनि सचेत हुनुपर्ने धारणा राखे । कार्यक्रमको सञ्चालन चेम्बरका महासचिव नारायण भुषालले गरेका थिए । राजमार्ग क्षेत्रमा आधुनिक सुरक्षा प्रविधिको प्रयोगसँगै अब पुर्ब पश्चिम महेन्द्र राजमार्ग क्षेत्रको निगरानी थप प्रभावकारी हुने अपेक्षा गरिएको छ । स्थानीयवासी तथा यात्रुहरूले पनि यस कदमले सुरक्षा अनुभूति बढ्ने विश्वास व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *