जनप्रतिनिधि र कर्मचारीलाई क्षमता विकास तालिम

घरसञ्चार
दाङ । लमही नगरपालिकाले जनप्रतिनिधि तथा कर्मचारीहरुलाई क्षमता विकास तालिमको आयोजना गरेको छ ।
पाँच दिवसीय क्षमता विकास तालिमको आइतवार लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरीले उद्घाटन गरेका हुन् । कार्यक्रमको पहिलो दिन लमही नगरपालिका प्रमुख प्रशासकीय अधिकृत प्रकाश देवकोटाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बारे सहजिकरण गरेका थिए । तालिममा घरजग्गा सम्बन्धी सिफारिस तथा न्यूनतम मुल्याङ्कन, स्थानीय तहको एकल अधिकार र साझा अधिकार, राष्ट्रिय झण्डाको प्रयोग विधी, पञ्जिकरण, सामाजिक सुरक्षा र अनलाईन नागरिकता, टिप्पणी, निर्णय लेखन र सरकारी कागजात धुल्याउने विधि, राजस्वको अवधारणा, स्थानीय तहको राजस्व परिचालनको अधिकार, स्थानीय तहको आर्थिक ऐन निर्माण, सार्वजनिक खरिदका विधिहरु, बेरुजु फछ्र्यौट र न्यूनिकरणको उपायहरु जानकारी गराइएको लमही नगरपालिका प्रशासन शाखा प्रमुख महेश थापाले जानकारी दिए ।

कार्यक्रममा बोल्दै लमही नगरपालिका नगरप्रमुख जोगराज चौधरीले कर्मचारीहरुको दक्षता क्षमता र सेवा सहजतालाई दिगो बनाउन यस्ता तालिमले ठुलो योगदान दिने बताए । क्षमता विकास तालिममा सहभागी हुँदै उपप्रमुख लक्ष्मी योगीले तालिमले कर्मचारीहरुमा उत्प्रेरणा तथा पुनर्ताजगी दिने बताईन । उनले सिकेका कुरा व्यवहारमा लागु गर्न सके देश र जनताको लागि सहजता हुने समेत बताईन । कार्यक्रममा अतिथिहरुलाई स्वागत तथा प्रशिक्षार्थिहरुलाई उत्प्रेरणा जगाउदै लमही नगरपालिका प्रमुख प्रशासकीय अधिकृत प्रकाश देवकोटाले कर्मचारी र जनप्रतिनिधिमार्फत सेवाग्राहीले सहज रुपमा सेवा पाउन र सेवालाई थप चुस्त दुरुस्त बनाउन यस्तो तालिमले सहयोग पुर्याउने बिश्वास ब्यक्त गरे ।
प्रशिक्षणमा सहभागीहरुलाई सिकाइले आफ्नो अनुभव दक्षता र रचनात्मक कार्य गर्न उत्प्रेरणा प्राप्त गर्न सो तालिमको आयोजना गरिएको बताए । कार्यक्रमको प्रशिक्षकको रुपमा लमही नगरपालिका प्रमुख प्रशासकीय अधिकृत प्रकाश देवकोटा, मालपोत कार्यालय लमहीका प्रमुख राम प्रसाद खनाल, गढवा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत पुनराम शर्मा, इलाका प्रशासन कार्यालय लमहीका प्रमुख प्रेम आचार्य, राजश्व विज्ञ दामोदर गिरी, कोलनीका दाङका प्रमुख मोहन कुमार जैसवाल रहेका छन् ।