रक्तदान गरि सहकारी दिवस मनाइयो

घरसञ्चार

दाङ । लमही नगरपालिकाले सहकारी दिवसको अबसर पारेर रक्तदान कार्यक्रम गरि मनाएको छ ।

६८ औँ सहकारी दिवसको अवसरमा लमही नगरपालिकाले रक्तदान कार्यक्रमको आयोजना गरेको हो । खुल्ला रक्तदान कार्यक्रममा ३७ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाईटी लमही उपशाखा रक्त संचार केन्द्रका इञ्चार्ज मनिष चन्दले जानकारी दिए । रक्तदान कार्यक्रम लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा नगर प्रमुख चौधरीले रक्तदान महादान भएकोले रक्तदान गर्नका लागि प्रोत्साहित गर्नुपर्ने बताए । उनले मानिसको जीवन बचाउने महान कार्यका लागि रगत अत्यावस्यक भएकोले लमही नगरपालिकाले रक्तदानको कार्यक्रम आयोजना गरेको बताउँदै हरेक वर्ष रगत अभाव हुने गरेकोले यसरी नै विभिन्न संघसंस्था द्वारा रक्तदान कार्यक्रम गर्नुपर्ने बताए । ‘शिक्षित व्यक्तिको संख्या वृद्धि भएपनि अझै रक्तदानको ज्ञान बारेमा पर्याप्त जानकारी छैन । रक्तदान गर्दा कमजोर भइन्छ भन्ने भ्रम हटाऔं । रक्तदान जीवनदान हो उनले भने-मन्दिरमा गएर धूप बत्ती बाली लाखौंको फलफूल, प्रसाद चढाएर धर्म हुँदैन । कसैको जीवन बचाउने रक्तदान नै सबैभन्दा ठूलो धर्म हो । हामीले शरीरमा भएको रगत दान नगरेपनि तीन महिनामा त्यो रगत त्यतिकै खेर जान्छ । खेर जाने रगत दान गर्दा कसैको ज्यान बच्छ भने किन नगर्ने ? ।’

लमही नगरपालिका उपप्रमुख लक्ष्मी योगीले रक्तदानको मानवजीवनमा ठूलो महत्व रहेको बताईन । कार्यक्रममा लमही नगरपालिका मातहतका सम्पूर्ण कर्मचारीहरु, वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख प्रकाश भुषाल, अस्थाई ट्राफिक पोष्ट लमही, लमही नगर स्तरिय सहकारी संजाल र देउखुरी सहकारी क्लवका कर्मचारीहरुले रक्तदान गरेका थिए । यता लमही नगरपालिका प्रमुख प्रशासकीय अधिकृत प्रकाश देवकोटाले लमही नगरपालिकाले विभिन्न कार्यक्रमको अवसर पारेर रक्तदानको व्यवस्था गर्दै आएको बताउँदै संघसंस्था र व्यक्तिहरूको अथक प्रयास र सहयोगी भावनाका कारण अहिलेको अति नै चर्को गर्मीमा पनि रक्तदानका कार्यक्रम निरन्तर भइरहेको बताए । उनले भने,–। ‘रगत नालीमा होइन, नाडीमा बगाऔँ । रक्तदाता घट्न नदिन र अल्पविकसित देशमा रक्तदान बढाउन संसारका कुना काप्चाका क्षेत्र र समुदायमा पनि रक्तदान गरौँ भन्ने सन्देश दिन आवश्यक रहेको छ । रक्तदान गर्यो भने कमजोर भइन्छ भन्ने हामीमा भ्रम छ ।’ ‘रक्तदान गरेजस्तो पुण्यको काम अरु केही हुँदैन । हामीले रक्तदान नगरे आवश्यक व्यक्तिले कसरी रगत पाउँछन् । कुनै बेला हामी आफैलाई रगत चाहिँदा कसले दिन्छ ? त्यसैले रक्तदान गरौं र अरुको अमूल्य जीवन बचाऔं ।’ कार्यक्रममा लमही नगरपालिका प्रशासन प्रमुख महेश थापाले प्रत्येक वर्ष सहकारी दिवसको अवसरमा विभिन्न कार्यक्रम गरि मनाउँदै आएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *