खुमबहादुरका छोरा अनुराग खड्का केन्द्रीय सदस्यमा भिड्दै-नेपाली काँग्रेस १५ औँ महाधिबेशन
घरसञ्चार
काठमाण्डौ । नेपाली कांग्रेसका युवा नेता तथा लुम्बिनी प्रदेशसभा सदस्य अनुराग खड्काले नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
खड्काले युवा खुला तर्फ (३५ वर्षमुनि) केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । स्वर्गीय नेता खुमबहादुर खड्काका छोरा अनुराग खड्का लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका छन् । हाल उनी लुम्बिनी प्रदेशसभाका प्रदेशसभा सदस्यसमेत हुन् । पार्टीको संगठन निर्माण, युवाको सहभागिता र कांग्रेसको आगामी पुस्ताको नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै आफूले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिन लागेको उनको घोषणा पत्रमा उल्लेख छ । उम्मेदवारी घोषणा गर्दै खड्काले नेपाली कांग्रेसलाई थप संगठित, सुदृढ र जनमुखी बनाउने अभियानमा युवाको सक्रिय र निर्णायक भूमिका आवश्यक रहेको बताएका छन् । पार्टीको संगठनलाई तल्लो तहदेखि नै मजबुत बनाउँदै वडा, पालिका, प्रदेश र केन्द्रबीच प्रभावकारी समन्वय कायम गर्नुपर्ने उनको धारणा छ ।
उनले कांग्रेसको संगठन बलियो भए मात्रै लोकतन्त्र र जनताको अधिकार थप मजबुत हुने उल्लेख गर्दै पार्टीभित्र युवाको सहभागिता केवल संख्यामा सीमित नभई नीति निर्माण, निर्णय प्रक्रिया र नेतृत्वमा अर्थपूर्ण सहभागिता हुनुपर्नेमा जोड दिएका छन् । खड्काले पार्टीका नेता तथा कार्यकर्ताबीचको सम्बन्धलाई थप सुदृढ बनाउँदै संगठनलाई जनतासँग प्रत्यक्ष जोड्ने, कार्यकर्ताको भावना र समस्यालाई नेतृत्व तहसम्म पुर्याउने तथा नयाँ पुस्तालाई कांग्रेसको मूलधारको राजनीतिमा आकर्षित गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । उनको घोषणामा नेपाली कांग्रेसको इतिहास, लोकतान्त्रिक मूल्य-मान्यता र अग्रज नेताहरूको योगदानलाई सम्मान गर्दै त्यसबाट प्राप्त राजनीतिक संस्कारलाई नयाँ पुस्तासम्म पुर्याउने विषयलाई समेत प्राथमिकता दिइएको छ । पार्टीको पुरानो विरासतलाई जोगाउँदै समयअनुसार संगठनलाई आधुनिक, प्रविधिमैत्री र युवामैत्री बनाउनुपर्ने खड्काको धारणा छ ।
युवालाई पार्टीको संगठन विस्तार र अभियानमा सक्रिय रूपमा जोड्दै कांग्रेसको भविष्यको नेतृत्व निर्माण गर्नुपर्ने बताउँदै उनले आफूले पाएको राजनीतिक जिम्मेवारीलाई इमानदारी, निष्ठा र समर्पणका साथ निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । स्वर्गीय खुमबहादुर खड्काको राजनीतिक विरासतसँग जोडिएका अनुराग खड्का पछिल्लो समय युवा पुस्तामाझ पनि सक्रिय देखिँदै आएका छन् । लुम्बिनी प्रदेशसभा सदस्यको जिम्मेवारीमा रहेका खड्काको केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणालाई कांग्रेसमा नयाँ पुस्ताको नेतृत्व स्थापित गर्ने प्रयासका रूपमा हेरिएको छ ।
उनले घोषणा पत्रमा आफूलाई व्यक्तिगत रूपमा स्थापित गर्नेभन्दा पनि संगठनलाई बलियो बनाउने, युवालाई अवसर दिने र पार्टीलाई जनताको सुख-दुःखसँग थप नजिक बनाउने अभियानमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आगामी दिनमा कांग्रेसलाई थप एकताबद्ध, ऊर्जाशील र जनउत्तरदायी संगठनका रूपमा विकास गर्न आफ्नो भूमिका केन्द्रित गर्ने उनको भनाइ छ ।।


