कांग्रेसको १५औँ महाधिवेशन : दाङ-१ मा सभापतिका सम्भावित उम्मेदवारको चर्चा, गिरीले गरे घोषणा

घरसञ्चार

दाङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशनको मिति नजिकिँदै जाँदा दाङ निर्वाचन क्षेत्र नम्बर १ मा क्षेत्रीय सभापति पदका सम्भावित उम्मेदवारहरूबारे चर्चा तीव्र बनेको छ । यसैबीच निवर्तमान उपाध्यक्ष दिनेश गिरीले संघीय निर्वाचन क्षेत्र नम्बर १ को सभापतिमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन् ।

असोज २ र ३ गतेदेखि देशभर वडा अधिवेशन सुरु हुने भएपछि कांग्रेसको क्षेत्रीय नेतृत्वका लागि आन्तरिक दौडधुप बढेको हो । वडा तहबाट नेतृत्व तथा प्रतिनिधि चयन हुने भएकाले क्षेत्रीय सभापतिका आकांक्षीहरूले आफ्नो पक्षमा संगठनात्मक समर्थन जुटाउन सक्रियता बढाएका छन् । लमही नगरपालिका, राप्ती गाउँपालिका, गढवा गाउँपालिका, राजपुर गाउँपालिका र घोराहीका केही वडा समेटिएको दाङ-१ मा दुईवटा प्रदेशसभा क्षेत्रीय समिति र एउटा संघीय क्षेत्रीय समिति रहेको छ । विशेषगरी संघीय क्षेत्रीय सभापति पदका लागि विभिन्न नेताहरूको नाम चर्चामा आउन थालेको छ ।

निवर्तमान उपाध्यक्ष दिनेश गिरीले यसपटक संघीय निर्वाचन क्षेत्र नम्बर-१ को सभापतिमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । नेविसंघ तहदेखि राजनीतिक यात्रा सुरु गरेका गिरी नेपाली कांग्रेस लुम्बिनी प्रदेश निर्वाचन क्षेत्र नम्बर १(ख) का सभापतिसमेत भइसकेका छन् । लामो समयदेखि पार्टी संगठनमा सक्रिय रहेका गिरीको उम्मेदवारी घोषणासँगै क्षेत्रीय नेतृत्वको प्रतिस्पर्धा थप चर्चामा आएको हो । गिरीसँगै गढवा गाउँपालिकाका सभापती किरण पौडेल, लमही नगर सभापति सन्तोष बुढाथोकी र महासमिति सदस्य कर्णबहादुर बुढाथोकीको नाम पनि क्षेत्रीय सभापतिका सम्भावित उम्मेदवारका रूपमा चर्चामा छ । यद्यपि, उनीहरूले हालसम्म औपचारिक रूपमा उम्मेदवारी घोषणा भने गरिसकेका छैनन् ।

चर्चामा रहेका नेताहरूले आफ्ना निकट कार्यकर्ता तथा पार्टी नेताहरूसँग आन्तरिक छलफल गरिरहेको बताइएको छ । अधिवेशनको मिति नजिकिँदै जाँदा उम्मेदवारी घोषणा र नेतृत्वका लागि बन्ने समीकरण थप स्पष्ट हुने देखिएको छ । वडा अधिवेशनदेखि नै शक्ति परीक्षण क्षेत्रीय नेतृत्वको अन्तिम प्रतिस्पर्धाअघि वडा अधिवेशनलाई आकांक्षी नेताहरूले आफ्नो संगठनात्मक प्रभाव परीक्षण गर्ने महत्वपूर्ण चरणका रूपमा लिएका छन् । वडा तहबाट चयन हुने नेतृत्व तथा प्रतिनिधिले आगामी प्रदेशसभा र संघीय क्षेत्रीय अधिवेशनमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले नेताहरूले अहिले नै आफ्नो पक्षमा समर्थन जुटाउने प्रयास गरिरहेका छन् ।

दाङ-१ मा यसपटक नेतृत्व परिवर्तन, नयाँ पुस्ताको भूमिका र संगठन सुदृढीकरणका विषयमा समेत कांग्रेसभित्र बहस भइरहेको छ । लामो समयदेखि संगठनमा सक्रिय नेताहरूबीचको प्रतिस्पर्धाले क्षेत्रीय अधिवेशनलाई थप रोचक बनाउने देखिएको छ । वडा अधिवेशनपछि क्रमशः प्रदेशसभा क्षेत्रीय समिति र संघीय क्षेत्रीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढ्नेछ । हालसम्म दिनेश गिरीले मात्र औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेका छन् भने अन्य सम्भावित आकांक्षीहरू भने आन्तरिक तयारीमै देखिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *