अर्थतन्त्रको मुख्य मेरुदण्ड नै सहकारी-नगरप्रमुख चौधरी

घरसञ्चार
दाङ । लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरीले अर्थतन्त्रको मुख्य मेरुदण्डनै सहकारी रहेको बताएका छन् ।
उनले साना सहकारी अब ठूला सहकारीसंग मर्च गरि अघि बढ्नसके सहकारीले अझै प्रभाबकारी काम गर्न सक्ने जिकिर गरे । ६८ औँ सहकारी दिवसको अवसरमा बुधवार लमही नगरपालिकाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख चौधरीले सहकारीले पुँजी वृद्धि गर्दै उद्योग संचालन गर्ने, रोजगारीको सिर्जना निर्माण गर्ने जस्ता काम गर्नुपर्ने बताए । उत्पादन संग जोडेर ऋण लगानी गरि शेयर सदस्यको आर्थिकस्तर वृद्धि गर्न सहकारीको योगदान रहेको हुदाँ सदस्यहरुले आर्थिक वृद्धितर्फ उन्मुख हुनुपर्ने नगर प्रमुख चौधरीले आग्रह गरे ।
उनले यसको दीगो र प्रतिष्पर्धी विकासबाट मुलुकमा गरिबी निवारणदेखि लिएर आर्थिक समाजिक रुपान्तरणमा सकारात्मक योगदान पुग्ने बताए । उनले भने,–। ‘अहिलेपनि घरेलु तथा साना उद्योगहरुले स्वदेशी श्रम, सीप, पूँजी र कच्चा पदार्थको उच्चतम प्रयोग गरी आन्तरिक उत्पादन वृद्धि र रोजगारी सृजनामा योगदान पुर्याएको छ ।’ सहकारीले मुलुकको कुल ग्राहस्थ उत्पादनमा महत्वपूर्ण योगदान पुर्याएको स्मरण गर्दै रोजगारी सँगै राष्ट्रिय अर्थतन्त्रमा यस क्षेत्रको योगदान उच्च रहेको बताए । उनले यस क्षेत्रको विकास र सहजीकरणका लागि सहयोग गर्न स्थानिय सरकार प्रतिबद्ध रहेको जनाए ।

कार्यक्रममा लमही नगरपालिका उपप्रमुख लक्ष्मी योगीले अतिकम विकसितबाट मुलुक विकासशील मुलुकमा परिणत हुन गइरहेको अवस्थामा सहकारीको विकासका लागि तीनै तहको सरकारले एक आपसमा समन्वय गरी प्रभावकारी योजनाका साथ काम गर्नुपर्ने बताईन । सुमधुर श्रम सम्बन्ध र औद्योगिक शान्ति कायम गराउन सरकार प्रतिबद्ध रहेको उनको भनाई छ । यस्तै कार्यक्रममा लमही नगरपालिका प्रमुख प्रशासकीय अधिकृत प्रकाश देवकोटाले मुलुकमा जनताले प्रयोग गर्ने अधिकांश वस्तु तथा सेवा विदेशबाट आयात भइरहेको स्थितिमा एकातिर औद्योगिकीकरण, आत्मनिर्भर अर्थतन्त्र विकास र अर्कोतिर विदेशी मुद्दाको मागमा अत्यधिक चाप सृजना भई अर्थतन्त्रमा दबाब सृजना भइरहेको बताए ।
उनले मुलुक भित्रै स्थानीय स्रोत र साधनको परिचालनबाट दैनिक जीवनमा आवश्यक वस्तु तथा सेवा उत्पादन गर्न सबैले जोड दिनुपर्ने खाँचो रहेको बताउदै स्थानिय सरकारबाट आफुहरुले सहकारीको संस्थागत विकासका लागि हुन सक्ने सहयोग प्रदान गर्ने प्रतिवद्धता जनाए । उनले भने,–। ‘सहकारीको विकास सँगै देशले पनि बिकाशमा फड्को मार्नेछ । अघिल्लो समयमा सहकारीले मुलुकको अर्थतन्त्रमा ठूलो भूमिका निर्वाह गरेको छ । यसको व्यवस्थापन गर्दै अघि बढनुपर्ने आवश्यक देखिएको छ ।’

त्यसैगरी कार्यक्रममा लमही नगरपालिका प्रशासन शाखा प्रमुख महेश थापाले सहकारीहरुको विकासको लागि तीनै तहको सरकारबीच सहकार्यको आवश्यकता औंल्याउनुभयो । उनले न्यून वर्गीय परिवारको लागि सहकारी महत्वपूर्ण रहेको बताउँदै गरिबी निवारणमा सहकारीले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । कार्यक्रममा सहकारीलाई ब्यबस्थित तवरबाट सञ्चालन गरिनुपर्ने जोड दिईएको थियो । सो अबसरमा दरणजन बढी सहकारीमा आबद्ध ब्यक्तित्व हरु सम्मानित भएका छन ।