कोषाध्यक्ष नै कालोसुचीमा परेपछि लमही खानेपानीका सबै खाता बन्द, कारोबार प्रभावित

घरसञ्चार

दाङ । लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका विभिन्न बैंकमा सञ्चालनमा रहेका बैंक खाताहरू धमाधम बन्द भएपछि संस्थाको आर्थिक तथा दैनिक प्रशासनिक कारोबार प्रभावित भएको छ ।

संस्थाका अनुसार लमहीका अधिकांश बैंक शाखामा सञ्चालनमा रहेका खातामध्ये पछिल्लो पटक भदौ ८ गते कुमारी बैंक लमही शाखाको खाता समेत बन्द भएको छ ।
संस्थाका कोषाध्यक्ष श्यामलाल भण्डारी व्यक्तिगत बैंकिङ कारोबारका क्रममा कालोसूचीमा रहेको नेपाल राष्ट्र बैंकको पत्रमा उल्लेख भएपछि संस्थाका बैंक खाताहरू सञ्चालनमा समस्या आएको हो । हालको कार्यसमिति २०८१ माघ २७ गते निर्वाचित भएको भएपनि राष्ट्र बैंकको पत्रअनुसार भण्डारी उक्त मितिभन्दा अगावैदेखि नै कालोसूचीमा रहेको देखिएको संस्थासँग सम्बन्धित स्रोतले जनाएको छ ।

कालोसूचीमा रहेको व्यक्ति संस्थाको कोषाध्यक्ष बनेपछि पनि करिब १८ महिनासम्म संस्थाका बैंक खाता सञ्चालनमा रहनुले सम्बन्धित बैंक शाखाहरूको प्रक्रियामाथि समेत प्रश्न उठेको छ । यद्यपि बैंक तथा सम्बन्धित निकायको मिलेमतो भएको भन्ने विषयमा आधिकारिक पुष्टि भने भएको छैन । विभिन्न बैंकमा खाता सञ्चालन हुँदै आएको र पछिल्लो समय क्रमशः खाता बन्द भएको संस्थाले जनाएको छ । खाता बन्द भएपछि संस्थाको नियमित आर्थिक कारोबारमा प्रत्यक्ष असर परेको छ । २५ जना कर्मचारी कार्यरत रहेको संस्थामा मासिक करिब ९ लाख १ हजार रुपैयाँ तलब खर्च हुने गरेको छ । हाल कर्मचारीको चालु महिनाको तलबसमेत भुक्तानी हुन बाँकी रहेको जनाइएको छ ।

त्यसैगरी संस्थाले नेपाल विद्युत् प्राधिकरणलाई करिब ४ लाख ७८ हजार रुपैयाँ विद्युत् बक्यौता तिर्न बाँकी रहेको छ । यो रकम चालु महिनाभित्र भुक्तानी हुन नसके नियमानुसार ५ प्रतिशत जरिवाना लाग्ने संस्थाकी कार्यवाहक प्रमुख कल्पना जिसीले बताईन । उनका अनुसार त्यसबाट करिब २३ हजार ९ सय रुपैयाँ थप जरिवाना लाग्न सक्छ । लामो समयसम्म बक्यौता रहे विद्युत् प्राधिकरणले नियमअनुसार विद्युत् लाइनसमेत काट्न सक्ने अवस्था रहेको उनले बताईन । कालोसूची सम्बन्धी विषय संस्थाका पदाधिकारी तथा सदस्यहरूलाई जानकारी हुँदाहुँदै पनि समयमै आवश्यक निर्णय नलिँदा अहिलेको अवस्था आएको भन्दै संस्थाभित्रै प्रश्न उठेको छ । भण्डारी तत्कालीन नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संयुक्त गठबन्धनबाट कोषाध्यक्षमा निर्वाचित भएका हुन ।

समस्या समाधानका लागि संस्थाले भदौ २५ गते सर्वदलीय तथा सर्वपक्षीय बैठक बोलाएको थियो । बैठकमा संस्थाका पदाधिकारी, सदस्य, पुर्ब अध्यक्षहरु तथा सल्लाहकारसहित रास्वपा लमही नगर सभापति रोशन खनाल, नेपाली कांग्रेस लमही सभापति सन्तोष बुढाथोकी, नेकपा एमालेका रतनकुमार केसी, लमही-५ का वडाध्यक्ष ओमप्रसाद सुवेदी, लमही-६ का वडाध्यक्ष श्यामनारायण चौधरीलगायतको सहभागिता थियो । बैठकमा व्यापक छलफल भए पनि तत्काल कुनै निष्कर्ष ननिस्किएपछि बैठक स्थगित गरिएको संस्थाका अध्यक्ष सनमकुमार पौडेलले बताए । बैठकमा कोषाध्यक्ष भण्डारीले आफू आफ्नै कारणले नभई सहोदर दाइको ऋणमा साक्षी बसेका कारण कालोसूचीमा परेको दाबी गरेका थिए ।

उनले समस्या समाधानका लागि आफूले प्रयास गरिरहेको भन्दै एक साताको समय मागेका थिए । साथै, संस्थाको नामबाट ‘स्टे अर्डर’ माग गरेपछि बैंकिङ कारोबार सहज हुने दाबी गर्दै एक साताभित्र समस्या समाधान गर्न नसके स्वतः राजीनामा दिने प्रतिबद्धता व्यक्त गरेको अध्यक्ष पौडेलले जानकारी दिए । तर व्यक्तिगत बैंकिङ समस्याका सन्दर्भमा संस्थाले नै अदालतबाट आदेश माग्ने विषयमा सहमति जुट्न नसकेपछि कानुनी पक्षमा थप छलफल गर्न बैठक स्थगित गरिएको हो । भदौ २६ गते बिहान ११ बजे पुनः बैठक बस्ने निर्णय गरिएको छ । यसैबीच, संस्थाको विधानमा पदाधिकारीको पद रिक्त भएमा पदपूर्तिको स्पष्ट व्यवस्था रहेको देखिन्छ ।

विधानको सम्बन्धित प्रावधानअनुसार अध्यक्षको लिखित राजीनामा, अविश्वासको प्रस्ताव वा विधानको दफा ४ बमोजिम पद रिक्त भएमा तीन वर्षे कार्यकालमा ६ महिना मात्र बाँकी रहेको अवस्थामा उपाध्यक्षले अध्यक्षको काम गर्ने तथा सोभन्दा बढी कार्यकाल बाँकी भए नयाँ निर्वाचनबाट पदाधिकारी पूर्ति गर्ने व्यवस्था छ । त्यस्तै, अन्य पद राजीनामा वा दफा ४ बमोजिम रिक्त भएमा बाँकी कार्यकालका लागि कार्यसमितिको बैठकको बहुमतबाट योग्य सदस्यलाई मनोनित गर्न सकिने व्यवस्था विधानमा उल्लेख छ । यस व्यवस्थाले संस्थाको नियमित कारोबार नै प्रभावित हुने अवस्था सिर्जना हुँदा समस्या समाधानका लागि पदाधिकारीको व्यक्तिगत बैंकिङ अवस्थाभन्दा संस्थाको हित र विधानअनुसार तत्काल निर्णय लिन सकिने बाटोसमेत देखाएको छ । अबको बैठकले कोषाध्यक्षको विषयमा कानुनी तथा संस्थागत रूपमा के निर्णय गर्छ भन्ने विषय लमही खानेपानीका उपभोक्ता, कर्मचारी र सरोकारवालाको चासोको विषय बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *