सामाजिक सञ्जालको प्रेम सम्बन्ध, पहिलो भेटमै हत्या

घरसञ्चार
दैलेख । सामाजिक सञ्जालबाट सुरु भएको प्रेम विवाहमा परिणत गर्ने बहानामा बोलाइएका युवाको भेटकै दिन हत्या भएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार मलेसियाबाट फर्किएका २८ वर्षीय सुरेन्द्रबहादुर शाहीलाई प्रेमिका र उनका परिवारले मिलेर झोलुङ्गे पुलबाट खसालेर हत्या गरेका हुन् । चामुण्डाबिन्द्रासैनी नगरपालिका–६ लैनचौरका शाही आफ्नी प्रेमिका २७ वर्षीया गंगा वनलाई भेट्न महावु गाउँपालिका–५ काशिकाँध पुगेका थिए । विवाहको सल्लाहका लागि माइतीघर बोलाएकी प्रेमिका गंगाले आफ्ना बुवा ६३ वर्षीय नैने र आमा ५६ वर्षीया झक्कुसहित मिलेर गत साउन १० गते रापट झोलुङ्गे पुलनजिक हत्या गरी खोलामा फालेको अनुसन्धानबाट खुलेको दैलेख जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ ।

प्रहरीको अनुसन्धानअनुसार शाही र वनबीच दुई वर्षदेखि सामाजिक सञ्जालमार्फत प्रेम सम्बन्ध थियो । सो अवधिमा शाहीले विदेशमा रहँदा गंगालाई झण्डै ४ लाख ४६ हजार रुपैयाँ पठाएका थिए । तर, विवाह नगरी रकमसमेत पचाउन योजनावद्ध रूपमा हत्या गरिएको अभियोग पत्रमा दाबी गरिएको छ । यसअघि अविवाहित रहेको भन्दै सुरेन्द्रलाई विवाहको आश्वासन दिएकी गंगाले पछि आफू विवाहित भएको र छोरी समेत रहेको स्वीकार गरेपछि दुवैबीच विवाद बढेको बताइएको छ । नेपाल फर्किएलगत्तै विवाह गर्न दबाब दिएपछि घटना घटेको सुराक प्रहरीसँग पुगेको छ । साउन ११ गते कयलकुनास्थित छामघाट खोलामा शाहीको शव फेला परेको थियो ।

शव परीक्षण प्रतिवेदनअनुसार उनको घाँटी थिचिएको र टाउकोमा धारिलो हतियार प्रहार भएको उल्लेख छ । घटनामा संलग्न आरोपित तीनै जनालाई दैलेख जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । ‘कर्तव्य ज्यान’ मुद्दा दर्ता भइसकेको जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता द्रोणदत्त पौडेलले जानकारी दिएका छन् । हत्या अभियोगित गंगाले भने सुरेन्द्रले पुलमै पासो लगाएर आत्महत्या गरेको दाबी गरेकी छन् । तर, कल डिटेल र बयानबीचको फरक, रकमको लेनदेन र योजनाबद्धताले उनको दाबी अस्वीकृत हुने प्रहरी अनुसन्धानले देखाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *