दाङमा आत्महत्या दुरुत्साहन आरोपमा पाँच जना पक्राउ

घरसञ्चार
दाङ, ६ भदौ । दाङ तुलसीपुरका मोवाइल ब्यबसायी दुर्गा भुषाललाई आत्महत्या दुरुत्साहन गरेको आरोपमा पाँच जनालाई पक्राउ गरिएको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य रानाका अनुसार पक्राउ परेका ब्यक्तीहरुको नाम भने खुलाईएको छैन । अन्य ब्यक्ती पनि यसमा संलग्न हुन सक्ने प्रहरीको भनाई छ । भुषालले लेखेको सुसाइड नोटका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा माओवादी केन्द्रका एक स्थानीय नेता समेत रहेको स्रोतले बताएको छ ।
उनीलाई पक्राउ गरि अनुसन्धान थालिएको प्रहरीले बताएको छ । आर्थिक लेनदेनकै कारण उनले आत्महत्या गरेको हुन सक्ने प्रहरीको भनाई छ । करिब तीन करोड रुपैँया ल्याउनुपर्ने ठाउँबाट आउन नदिन ति माओवादी नेताले भूमिका खेलेको स्रोतको भनाई छ । केही महिना अघि आर्थिक कारण नै मृत्यु भएका एक तुलसीपुरका ब्यबसायीले भुषाललाई तीन करोड बढि रकम दिनुपर्ने कुरा आफ्नो सुसाइट नोटमा खुलाएका थिए।त्यसकै आधारमा भुषाललाई उक्त रकम दिने सहमति पनि भएको थियो ।
तुलसीपुरका ब्यबसायीको रोहबरमा भएको त्यो सहमति अनुसार पैसा नदिनकालागि ति माओवादी नेताले भूमिका खेलेपछि उनले आत्महत्या गरेको बुझिएको छ ।