युवा चेम्बरद्वारा अन्तर्राष्ट्रिय युवा दिवस मनाइयो, स्वदेशमै पसिना बगाऔँ:मन्त्री चौधरी
ओमप्रकाश गुप्ता
सिसहनियाँ २८ साउन । दाङको राप्ती गाउँपालिकामा रहेको युवा चेम्बर अफ कमर्सले २७ औँ अन्तर्राष्ट्रिय युवा दिवस कार्यक्रम मनाएको छ ।
राप्ती चेम्बर अफ कमर्सको मातहतमा रहेको युवा चेम्बर अफ कमर्सले बुधबार राप्ती गाउँपालिका-१ पाखापानीमा ‘राष्ट्र निर्माणमा युवाको भूमिका’ विषयक खुला वक्तृत्वकला प्रतियोगिता आयोजना गरि मनाएको हो ।
‘भिन्न परिवेश, साझा आकांक्षा’ भन्ने मूल नाराका साथ राप्ती चेम्बर अफ कमर्सको मातहतमा रहेको युवा चेम्बर अफ कमर्सको दिवस मनाएको हो ।
युवा चेम्बर अफ कमर्सका कार्यवाहक अध्यक्ष पदम परियारको अध्यक्षता एवम् लुम्बिनी प्रदेश सरकार कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्री तुलसी प्रसाद चाैधरीको प्रमुख आतिथ्यातामा दिवस मनाइएको हो । सो अवसरमा बोल्दै मन्त्री चाैधरीले राष्ट्र निर्माणका लागि विदेश होइन स्वदेशमै पसिना बगाउन आवश्यक रहेको बताएका छन् । उनले पछिल्लो समय पढाइ सकेपछि रोजगारी तथा अवसरको खोजीमा विदेश जाने युवाको संख्या बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरे । उनले युवालाई स्वदेशमै सम्भावना खोज्दै उद्यम, व्यवसाय, कृषि तथा उत्पादनमूलक क्षेत्रमा जोड्न सके मुलुकलाई आत्मनिर्भर बनाउन सकिने बताए ।
मन्त्री चौधरीले युवा शक्ति राष्ट्रको सबैभन्दा महत्वपूर्ण सम्पत्ति भएको बताए । युवाको ऊर्जा, सिर्जनशीलता, सीप र क्षमतालाई सही ढंगले परिचालन गर्न सके देशले आर्थिक तथा सामाजिक क्षेत्रमा उल्लेखनीय फड्को मार्न सक्ने उनको भनाइ थियो । उनले नेपालमा प्राकृतिक स्रोत, कृषि, पर्यटन, उद्योग, व्यवसायलगायतका क्षेत्रमा प्रशस्त सम्भावना भए पनि त्यसको पर्याप्त उपयोग हुन नसकेको बताए । सम्भावनाको खोजी गर्दै युवाले स्वदेशमै उद्यमशीलता विकास गर्न सके रोजगारीका लागि विदेश जानुपर्ने बाध्यता क्रमशः अन्त्य गर्न सकिने उनले बताए । ‘पढ्ने, सीप सिक्ने अनि विदेश जाने’ प्रवृत्तिलाई मात्र विकल्पका रूपमा लिन नहुने भन्दै मन्त्री चौधरीले विदेशबाट सिकेको ज्ञान, सीप र अनुभवलाई समेत स्वदेशको विकासमा प्रयोग गर्नुपर्ने धारणा राखे । युवाको सोचमा परिवर्तन ल्याउँदै श्रमलाई सम्मान गर्ने वातावरण निर्माण गर्नुपर्नेमा उनले जोड दिए ।
मन्त्री चौधरीले कृषि क्षेत्रलाई आधुनिक, व्यावसायिक र प्रविधिमैत्री बनाउन सके युवाका लागि स्वदेशमै रोजगारी र आम्दानीका प्रशस्त अवसर सिर्जना गर्न सकिने बताए । परम्परागत कृषि प्रणालीलाई व्यवसायीकरण गर्दै उत्पादन, प्रशोधन र बजारीकरणसँग जोड्न सके कृषि नै युवाको भविष्य निर्माणको बलियो आधार बन्न सक्ने उनको भनाइ थियो ।
त्यस्तै अन्य वक्ताहरूले युवा दिवसलाई औपचारिक कार्यक्रममा मात्र सीमित नगरी युवाको वास्तविक समस्या पहिचान र समाधानका लागि बहस तथा अभियानका रूपमा अगाडि बढाउनुपर्ने बताए । उनीहरूले युवा पुस्तालाई नेतृत्व विकास, उद्यमशीलता, सामाजिक उत्तरदायित्व र उत्पादनसँग जोड्न सके देशको विकासमा दीर्घकालीन योगदान पुग्ने धारणा राखे । युवाहरूको बढ्दो विदेश पलायनप्रति चिन्ता व्यक्त गर्दै उनीहरूलाई स्वदेशमै अवसर सिर्जना गर्ने वातावरण बनाउन तीनै तहका सरकार, निजी क्षेत्र तथा नागरिक समाजबीच सहकार्य आवश्यक रहेकोमा जोड दिइएको थियो । वक्ताहरूले युवाको ऊर्जा र क्षमतालाई सही दिशामा परिचालन गर्न सके देशले विकासको गति तीव्र बनाउन सक्ने बताए ।
सो अवसरमा आयोजित प्रतियोगितामा सिरिन भ्याली पब्लिक स्कुलकी सुप्रिया खनाल प्रथम, गोरखा आइडियल स्कुलकी पुजा पाैडेल द्वितीय र राप्ती गाउँपालिका-१ भालुवाङ निवासी सम्पदा काैशल तृतीय स्थान हासिल गरेका थिए । विजेताहरूलाई क्रमश नगद ५ हजार, ३ हजार र १ हजार ५ सय सहित प्रमाणपत्र वितरण गरिएको थियोे । प्रतियोगितामा निर्णायकको भुमिका कृष्ण गिरी, जिवराज शर्मा, निर्मला भुसाल र कृष्णप्रसाद पाडेलले निभाउनु भएको थियोे । प्रतियोगितामा १५ जना प्रतियोगीले भाग लिएका थिए ।
कार्यक्रममा राप्ती गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख देवी मल्ल, नागरिक समाज दाङका सदस्य दामोदर भण्डारी, गैरसरकारी संस्था महासंघ लुम्बिनी प्रदेशका कार्यक्रम संयोजक केशव भुसाल, राप्ती चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष तथा सल्लाहकार नेमलाल शर्मा बेल्वासे, राप्ती उद्योग वाणिज्य संघका महासचिव बासुदेव न्याैपाने लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । युवा चेम्बरका दोस्रो उपाध्यक्ष सुधन घिमिरेको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन प्रेस सल्लाहकार ओमप्रकाश गुप्ता र युवा चेम्बरका सदस्य आर. के यादवले गरेका थिए ।






