अन्तर्राष्ट्रिय युवा दिवसमा पत्रकार तथा सर्प उद्धारकर्ता खनाल सम्मानित
घरसञ्चार
देउखुरी, २७ साउन । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा देउखुरी क्षेत्रमा पत्रकारिता तथा वन्यजन्तु संरक्षणका क्षेत्रमा उदाहरणीय योगदान पुर्याउँदै आउनुभएका पत्रकार एवं सर्प उद्धारकर्ता शिवु खनाल सम्मानित हुनुभएको छ ।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बुधबार लमही जेसीजले लमहीमा आयोजना गरेको कार्यक्रममा खनाललाई सम्मान गरिएको हो । पत्रकारितासँगै वन्यजन्तु तथा सर्प संरक्षण, उद्धार र जनचेतना अभिवृद्धिमा सक्रिय भूमिका निर्वाह गरेको भन्दै उहाँलाई सम्मान गरिएको हाे । खनालले देउखुरी क्षेत्रमा लामो समयदेखि पत्रकारितामार्फत स्थानीय मुद्दा, वातावरण, वन, वन्यजन्तु तथा जैविक विविधताका विषयलाई प्राथमिकताका साथ उठाउँदै आउनुभएको छ । विशेषगरी मानव बस्तीमा प्रवेश गरेका सर्पको उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तथा सर्पदंशबाट जोगिन स्थानीयवासीलाई सचेत गराउने अभियानमा समेत उहाँ सक्रिय हुनुहुन्छ ।
कार्यक्रममा बोल्दै लमही नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष ओमप्रसाद सुवेदीले युवाहरू समाज परिवर्तनका महत्वपूर्ण संवाहक भएको बताउनुभयो । युवाको क्षमता र ऊर्जालाई सकारात्मक क्षेत्रमा परिचालन गर्न सके समाजमा उल्लेखनीय परिवर्तन ल्याउन सकिने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो,-। `युवा भनेको भविष्यको नेतृत्व मात्रै होइन, वर्तमानको जिम्मेवार शक्ति पनि हो । शिवु खनालले पत्रकारितासँगै वन्यजन्तु संरक्षण र सर्प उद्धारको क्षेत्रमा गर्दै आएको काम समाजका लागि उदाहरणीय छ । यस्ता युवालाई प्रोत्साहन र सम्मान गर्न सके अझ राम्रो काम गर्न प्रेरणा मिल्छ ।´ सुवेदीले वातावरण संरक्षण, वन्यजन्तु उद्धार तथा मानव–वन्यजन्तु सहअस्तित्वका विषयमा स्थानीय तह, सामुदायिक वन र युवाहरूबीच सहकार्य आवश्यक रहेको बताउनुभयो ।
युवाहरूले सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै समुदायका समस्या समाधानमा अग्रसर हुनुपर्ने उहाँको जोड थियो । यस्तै कार्यक्रममा अजम्मरी सामुदायिक वन उपभोक्ता समूह लमहीका अध्यक्ष पवन शर्मा रिजालले खनालले वन, वन्यजन्तु तथा जैविक विविधताको संरक्षणका लागि पुर्याउँदै आएको योगदान प्रशंसनीय रहेको बताउनुभयो ।
रिजालले भन्नुभयो,-। `सर्पलाई देख्नेबित्तिकै मार्नुपर्छ भन्ने गलत धारणा अझै पनि समाजमा छ । शिवु खनालले सर्पको उद्धार गरेर सुरक्षित स्थानमा छोड्ने र मानिसलाई पनि सुरक्षित रहने उपायबारे जानकारी दिने काम गर्नुभएको छ । यसले मानव र वन्यजन्तुबीचको सहअस्तित्व कायम गर्न सहयोग पुगेको छ ।´
उहाँले अनुसार सामुदायिक वन क्षेत्रमा पाइने वन्यजन्तुको संरक्षणसँगै समुदायमा वन्यजन्तुप्रति सकारात्मक धारणा विकास गराउन जनचेतना आवश्यक रहेकाे बताउनुहुदैँ, पत्रकारिताको माध्यमबाट यस्ता विषयलाई निरन्तर उठाउँदै आउनु खनालको महत्वपूर्ण योगदान भएको उहाँले बताउनुभयो । कार्यक्रममा लमही जेसीजका पूर्वअध्यक्ष फणाधर ढकालले युवाको सम्मान भनेको युवाको काम र क्षमताको सम्मान भएको बताउनुभयो । युवाहरूलाई सिर्जनशील तथा सामाजिक काममा जोड्न सके समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिने उहाँको भनाइ थियो ।
ढकालले भन्नुभयो,-। युवाले समाजका लागि केही गरिरहेका छन् भने उनीहरूको कामको मूल्याङ्कन र सम्मान गर्नुपर्छ । शिवु खनालले पत्रकारिता मात्र नभई वन्यजन्तु उद्धार र संरक्षणका क्षेत्रमा समेत जोखिम र चुनौतीबीच काम गर्दै आउनुभएको छ । उहाँको कामले अरू युवालाई पनि सामाजिक क्षेत्रमा लाग्न प्रेरणा दिनेछ ।´ अन्तर्राष्ट्रिय युवा दिवस युवाको भूमिका, क्षमता, सिर्जनशीलता र सामाजिक योगदानलाई उजागर गर्ने महत्वपूर्ण अवसर भएको भन्दै उहाँले युवालाई अवसरसँगै जिम्मेवारी पनि दिनुपर्ने बताउनुभयो ।
सम्मानपछि कार्यक्रममा बोल्दै पत्रकार तथा सर्प उद्धारकर्ता शिवु खनालले सम्मानले आफूलाई अझ जिम्मेवार भएर काम गर्न प्रेरणा मिलेको बताउनुभयो । वन्यजन्तु संरक्षण कुनै एक व्यक्ति वा संस्थाको मात्र जिम्मेवारी नभई सबैको साझा दायित्व भएको उहाँको भनाइ थियो । खनालले सर्पलाई अनावश्यक रूपमा नमार्न र सर्प देखिएमा सुरक्षित दूरी कायम गरी सम्बन्धित उद्धारकर्तालाई खबर गर्न आग्रह गर्नुभयो । सर्पले पारिस्थितिक प्रणालीमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले यसको संरक्षणसँगै मानव सुरक्षाका विषयमा पनि समुदायमा सचेतना फैलाउन आवश्यक रहेको उहाँले बताउनुभयो ।
उहाँले पत्रकारितामार्फत समाजका सकारात्मक कामलाई उजागर गर्ने तथा वन्यजन्तु संरक्षणका विषयमा जनचेतना फैलाउने कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा लमही जेसीजका अध्यक्ष जय प्रकाश पाैडेलले युवाको सामाजिक भूमिका, नेतृत्व विकास, वातावरण संरक्षण, वन्यजन्तु संरक्षण तथा समाजमा युवाको योगदानलगायतका विषयमा समेत चर्चा गर्नु भएको थियोे ।।






