गढवामा कपडा बैंक शुरु, विपन्न वर्गलाई राहत हुने अपेक्षा

घरसञ्चार
दाङ । गढवा गाउँपालिकामा बुधबार एक कार्यक्रमको आयोजना गरी “कपडा बैंक” को शुभारम्भ गरिएको छ ।
कपडा बैँक नेपाल र गढवा गाउँपालिकाको सहकार्यमा गरिब, विपन्न तथा असहाय वर्गलाई प्रत्यक्ष राहत पुर्याउने उद्वेश्य सहित कपडा बैँकको सुरुवात गरिएको हो । कार्यक्रममा कपडा बैँक नेपालका अध्यक्ष कमल जिसीले कार्यक्रमको उद्देश्य र महत्वबारे प्रकाश पार्दै कपडा बैंकको अवधारणा अनुसार प्रयोगमा नआएका, तर प्रयोगयोग्य कपडालाई संकलन गरी आवश्यक परेका समुदायलाई वितरण गर्नु मुल उद्येश्य रहेको बताए । उनले भने, “हाम्रो उद्देश्य भनेको स्रोतसाधन सीमित भएकाहरुलाई सहयोग पुर्याउनु हो । लुगा र अन्य आवश्यक सामग्री संकलन गरी विना मूल्य उनीहरूलाई प्रदान गरिन्छ ।” उनले देशका १ सय ५३ पालिकाहरुमा यो सेवा सुरु गरिएको जनाउदै यसको मुल उद्येश्य नै सेवाभाब रहेको बताए ।

कपडा बैँकको उद्घाटन गर्दै गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोखरेलले पालिकाले सामाजिक सेवामा प्राथमिकता दिएको उल्लेख गर्दै कपडा बैंक जस्तो अभियानले स्थानीयस्तरमा सामाजिक उत्तरदायित्वको भावना जगाउने बताए । उनले थपे, “सामाजिक सद्भाव र सहयोगको भावना विकास गर्न यस्तो कार्यक्रम आवश्यक छ । गाउँपालिकाले यस्ता कार्यक्रमलाई निरन्तर साथ दिनेछ ।” कार्यक्रममा विभिन्न वक्ताहरूले विपन्न वर्गका लागि यस्ता कार्यक्रमले जीवनमा ठुलो परिवर्तन ल्याउने विचार राखे । विशेष गरी जाडो मौसममा लुगा अभावका कारण समस्या भोग्नुपर्ने समुदायहरूलाई कपडा बैंकबाट राहत मिल्ने विश्वास गरिएको छ । कार्यक्रमलाई स्वागत गर्दै पालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले सयस्तो सामाजिक कार्यमा पालिकाको सधैं साथ रहने बताइन् ।

बपडा बैँक नेपालले यसअघि देशका विभिन्न स्थानमा यस्ता अभियान संचालन गर्दै आएको छ । संस्थाले आगामी दिनमा अन्य पालिकाहरूमा समेत यस्तो कार्यक्रम विस्तार गर्ने योजना बनाएको छ । पालिकाका अनुसार गढवामा ‘कपडा संकलन बक्स’ राखिनेछ जहाँ इच्छुक व्यक्तिले आफ्नो घरमा प्रयोगमा नभएका तर प्रयोगयोग्य कपडा दान गर्न सक्नेछन् । संकलित कपडाहरूलाई छानबिन गरी आवश्यकता अनुसार विभिन्न समुदायमा वितरण गरिनेछ । वितरण गर्दा गरिब, अपाङ्ग, वृद्धवृद्धा तथा एकल महिलालाई प्राथमिकता दिइनेछ । कार्यक्रमले समुदायमा सहयोग गर्ने संस्कारलाई बढावा दिने बिश्वास सहित र यसको निरन्तरताको माग समेत गरिएको छ ।
