राप्तीमा जैविक कृषि प्रवर्द्धनका बारेमा एकदिने सचेतनामूलक कार्यक्रम

तुलबहादुर कवँर मगर
दाङ । देउखुरीको राप्ती गाउँपालिका-६ भगवानपुरमा ‘सबैको चाहना, विषादीमुक्त खाना’ भन्ने नाराका साथ प्राङ्गारिक मल, जैविक विषादी निर्माण तथा रासायनिक विषादी सम्बन्धी एकदिने सचेतनामूलक कार्यक्रम आइतबार सम्पन्न भएको छ ।
राप्ती-६ का वडाध्यक्ष दीपक कुमार चौधरीको अध्यक्षता र गाउँपालिकाका उपाध्यक्ष कमलापती चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै उपाध्यक्ष चौधरीले विषादीको प्रयोग सकेसम्म नगर्न आग्रह गर्दै, आवश्यक परेमा जैविक विषादी प्रयोग गर्नुपर्नेमा जोड दिईन । उनले रासायनिक विषादीको अत्यधिक प्रयोगले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने भएकाले गाउँपालिकाको नीति तथा कार्यक्रममा विषादी रहित अर्गानिक खेतीलाई विशेष प्राथमिकता दिइएको बताईन ।

त्यसैगरी, वडाध्यक्ष चौधरीले कृषक तथा खाद्य उत्पादनसँग सम्बन्धित सबै सरोकारवालाहरू बढी सचेत हुनुपर्नेमा जोड दिए । उनले क्यान्सर, मुटु, मृगौला जस्ता रोगहरूमा वृद्धि भईरहेको उल्लेख गर्दै यस्ता रोगहरूको एक प्रमुख कारण रासायनिक विषादी नै रहेको बताए । कृषि विकास शाखा प्रमुख बरसाती गडरिया, कृषि अधिकृत प्रदीप खत्री र कृषि प्राविधिक निर्मला पौडेलले प्राङ्गारिक मल र जैविक विषादी बनाउने तरिका, प्रयोग विधि तथा यसका लाभबारे प्राविधिक प्रशिक्षण र जानकारी गराईएको थियो । गाउँपालिकाले यसअघि पनि आफ्ना केही वडामा यस्ता कार्यक्रम सञ्चालन गरिसकेको छ भने बाँकी रहेका वडामा समेत चाँडै सञ्चालन गर्ने तयारी भइरहेको जनाएको छ । पालिकाले सबै नौ वटै वडामा यस्ता सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखेको छ ।