राप्तीको कार्यक्रम-‘उद्यमीसँग पालिका : समस्या समाधानका लागि प्रत्यक्ष संवाद’

तुल बहादुर कवँर मगर

दाङ । देउखुरीकाे राप्ती गाउँपालिकाले स्थानीय उद्यमीहरूसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको समस्या, चुनौती र आवश्यकता उद्योगमै पुगेर बुझ्ने “उद्यमीसँग पालिका : समस्या समाधानका लागि प्रत्यक्ष संवाद” कार्यक्रमलाई निरन्तरता दिई रहेको छ ।

पालिकाबाट विभिन्न समयमा सीप तथा प्रविधि सम्बन्धी तालिम लिई व्यवसाय सञ्चालन गरिरहेका युवा तथा महिला उद्यमीहरूको प्रगति, चुनौती र भावी आवश्यकता बुझ्न गाउँपालिकाको टोली उद्योगमै पुगेर अन्तरक्रिया गरिरहेको हाे । यसै क्रममा आइतबार गाउँपालिकाकी उपाध्यक्ष कमलापती चौधरी, रोजगार संयाेजक मुमाराम भुसाल, उद्यम विकास सहजकर्ता बीनिता चौधरी लगायतको टोलीले वडा नम्बर ४ स्थित राप्ती हाते कागज उद्योग र वडा नम्बर ८ स्थित राप्ती केरा चिप्स उद्योगमा पुगेर उद्यमीहरूसँग प्रत्यक्ष छलफल र अन्तरक्रिया गरेको हो । कार्यक्रममा व्यवसाय सञ्चालनमा देखिएका व्यावहारिक समस्याहरू, बजार अभाव, वित्तीय कठिनाइ तथा प्राविधिक सुधारका आवश्यकताका विषयमा विस्तृत छलफल गरिएको थियो ।

उपाध्यक्ष चौधरीले उद्यमीहरूको दैनिक कामकाजलाई सहज बनाउने र रोजगारी सृजनामा निरन्तरता दिने प्रतिबद्धता जनाउँदै पालिका सधैं उद्यमीहरूको साथमा रहने स्पष्ट पारिन । रोजगार संयाेजक भुसालले उद्यमीहरूको सीप अभिवृद्धि, प्राविधिक सहयोग र तालिम कार्यक्रमलाई पालिकाले उच्च प्राथमिकतामा राखेर अघि बढिरहेको जानकारी दिए । उद्योगीहरूले रोजगार सिर्जना, उत्पादन वृद्धि तथा बजार विस्तारका लागि पालिकासँग थप सहकार्य र सहयोगको अपेक्षा व्यक्त गरेका छन् । यस पहलले पालिका र उद्यमीबीचको सहकार्यलाई मजबुत बनाउँदै स्वरोजगारको प्रवर्द्धन र आर्थिक सशक्तिकरणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *