बिद्यार्थीका लागि गोरखा स्कुल लमहीको कथा लेखन कार्यशाला

घरसञ्चार
दाङ । गोरखा मोडेल सेकेन्डरी स्कूल लमहीले बिद्यार्थीको सिकाईका लागी तीनदिने कथा लेखन कार्यक्रम गरेको छ ।
कथाले समाज बोल्छ भन्ने भनाईलाई आत्मसात् गर्दै आयोजना गरिएको यस कार्यशालाले विद्यालय स्तरमा साहित्यिक अभिरुचि भएका विद्यार्थीहरूलाई कथा लेखनमा उत्प्रेरणा दिने उद्देश्यले कार्यक्रम गरिएको बिद्यालयले जनाएको छ । कथा लेखन कार्यशालाको आईतबार समापन पनि गरिएको छ । बिद्यार्थीहरुसँगको तिनदिने बसाईमा प्रशिक्षक साहित्यकार विजयराज आचार्यले कथा लेखनका आधारभूत तत्वहरू पात्र, परिवेश, संवाद, दृष्टिकोण र संरचनाका बारेमा प्रशिक्षण दिनुका साथै विद्यार्थीहरूलाई अभ्यासका अवसरहरू समेत प्रदान गरेका थिए ।

कार्यक्रममा वरिष्ठ साहित्यकार तथा नागरिक समाज दाङका संयोजक निम बहादुर थापाले कथा लेखन युवाहरूको सिर्जनात्मक अभिव्यक्तिको सशक्त माध्यम भएको बताउँदै यस्ता कार्यशालाले नयाँ पुस्तामा साहित्यिक चेतना र अभिरुचि जागृत गर्ने विश्वास व्यक्त गरे । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका थापाले कथा लेखन केवल कल्पना मात्र नभई समाज, समय र अनुभूतिहरूको जीवन्त चित्रण रहेको बताए । थापाले भने, “साहित्यले राष्ट्रको आत्मा बोल्छ। यस्ता प्रशिक्षणहरूले भावी लेखकहरूको हुर्काइमा महत्वपूर्ण योगदान पुर्याउँछ।” कार्यशालाको समापन समारोहमा विद्यार्थीहरूले आफैँले तयार गरेका कथाहरू वाचन गरेका थिए जसले उपस्थित सबैलाई मन्त्रमुग्ध बनाएको थियो । केही कथाहरू सामाजिक यथार्थ, किशोर मनोविज्ञान, र परम्परागत संस्कृतिमा आधारित थिए भने केही कथा समसामयिक प्रविधि र भविष्यवादी कल्पनामा केन्द्रित थिए । यस्तो विविधताले विद्यार्थीहरूमा सिर्जनात्मक सोचको विकास भएको देखिएको छ ।

कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य लोकमान रिजालले विद्यार्थीहरूमा लुकेको प्रतिभालाई उजागर गर्ने यो प्रयास भविष्यमा पनि निरन्तरता पाउने बताए । यस्तो कार्यशालाले विद्यार्थीहरूमा लेखनको आत्मविश्वास र सामाजिक चेतनाको विकास गर्नेमा बिश्वास ब्यक्त गर्दै उनले आगामी दिनहरूमा कविता, निबन्ध तथा नाटक लेखन सम्बन्धी कार्यक्रमहरू पनि सञ्चालन गरिने जानकारी दिए । यो कार्यक्रम बिद्यालयको साहित्यिक गतिविधिको नियमित शृंखलाको हिस्सा भएको बिद्यालयले जनाएको छ ।

समापन कार्यक्रममा सहभागिता जनाएका विद्यार्थीहरूले कथा लेखनको आधारभूत ज्ञान प्राप्त गरेको महसुस सुनाउँदै भविष्यमा अझ धेरै लेखन गर्ने उत्साह व्यक्त गरे । यसरी तीन दिने कथा लेखन कार्यशालाले विद्यालय र विद्यार्थी दुवैका लागि सिर्जनात्मक र ज्ञानवर्द्धक अनुभव प्रदान गरेको छ । कार्यक्रममा साहित्यकार, विद्यार्थी, अभिभाबक, शिक्षक शिक्षिका, पत्रकार हरुको उपस्थिती थियो ।