आयाम सहकारी आफ्नै भवनमा, किसानमा नया आयाम थप्दै

घरसञ्चार

दाङ । देउखुरीस्थित आयाम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नै भवनबाट सेवा विस्तारको थालनी गरेको छ ।

गढवालाई केन्द्र बनाएर दाङ जिल्लामा काम गरिरहेको आयाम सहकारीले सुबिधा सम्पन्न भवनबाट नागरिकलाई सेवा दिन थालेको हो । बुधबार एक विशेष समारोहबीच लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री इन्द्रजित थारुले भवन समुद्घाटन गरेका हुन् । समारोहमा बोल्दै प्रमुख अतिथि थारुले सहकारीलाई ग्रामीण विकासको मेरुदण्ड रहेको बताउँदै राज्य र नागरिकबीचको पुलको रूपमा सहकारीको भूमिका औंल्याए । “स्थानीय उत्पादन, रोजगारी र वित्तीय पहुँचको माध्यम बनेका सहकारीहरूले सामाजिक रूपान्तरणमा उल्लेखनीय भूमिका खेल्न सक्छन्,” थारुले भने, “त्यसैले राज्यले सहकारी क्षेत्रलाई नीतिगत संरक्षण र प्रवर्द्धनमा निरन्तर साथ दिनुपर्छ ।”

कार्यक्रममा गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोखरेलले सहकारी आन्दोलनलाई स्थानीय सरकारको अभिन्न साझेदारको रूपमा व्याख्या गरे । “गढवा गाउँपालिकाको समग्र विकासमा सहकारीहरूको महत्त्वपूर्ण योगदान छ,” उनले भने, “सहकारीमार्फत युवाहरू स्वरोजगारतर्फ आकर्षित हुनु सकारात्मक पक्ष हो ।” कार्यक्रममा सहकारीका अध्यक्ष ओम प्रकाश बसेलले सहकारीको विकासलाई संस्थागत बनाउने उद्देश्यले नयाँ भवन निर्माण गरिएको बताए । “सुरुवात सानो भएपनि अहिले संस्था वित्तीय रूपमा सबल हुँदै गएको छ,” उनले भने, “नयाँ भवनबाट अझ व्यवस्थित सेवा दिने हाम्रो लक्ष्य छ ।”

दुईतल्ले आधुनिक संरचना भएको भवनले सहकारीको प्रशासनिक कार्यहरू संचालन गर्नका लागि आवश्यक सम्पूर्ण भौतिक पूर्वाधार समेटेको छ । भवनमा सदस्य सेवा कक्ष, लेखा शाखा, ऋण तथा बचत विभाग, व्यवस्थापन कक्ष, बहुउद्देश्यीय हल, अभिलेख कक्ष र विश्राम कक्ष रहेका छन् । भवनको डिजाइन स्थानको भौगोलिक अवस्था, भविष्यका विस्तार योजनाहरू र सदस्यहरूको सहजतालाई मध्यनजर राखेर तयार गरिएको हो । साथै, स्वच्छ शौचालय, पिउने पानीको सुविधा, सौर्य ऊर्जा प्रणाली जडान र सीसीटीभी सुरक्षाको प्रवन्ध समेत गरिएको छ । सहकारी क्षेत्रलाई पारदर्शी, जिम्मेवार र दिगो बनाउन सवै पक्ष एकजुट हुनुपर्नेमा वक्ताहरूको जोड थियो । अन्य बक्ताले सहकारीले गाउँघरमै सेवा पुर्‍याएर वित्तीय समावेशीकरणमा ठूलो काम गरेको बताउँदै अझ राम्रो बनाउने जिम्मा नेतृत्वमा रहेको बताए । समारोहमा अध्यक्ष बसेलले भवन निर्माणमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा सहकारीको सामाजिक उत्तरदायित्व अझ विस्तार गर्ने प्रतिबद्धता जनाए । उनले भवन निर्माणमा सहयोगार्थमा एकता जनाउने सबै मनकारीहरुलाई सम्झिदै आगामी दिनको सहकार्यका लागि अपेक्षा प्रकट गरे । सहयोगार्थ सँस्था तथा ब्यक्तिहरुलाई दोसल्ला तथा प्रमाणपत्रले समेत सम्मान गरिएको थियो ।

सँस्थाकि प्रबन्धक सीता नेपालीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा चेतनशिस समाज गढवाकी अध्यक्ष सकुन्तला डिसी, गढवा उद्योग बाणिज्य संघकि बरिष्ठ उपाध्यक्ष मधा न्यौपाने, गढवा गाउँपालिका स्तरिय सहकारी सँस्थाका अध्यक्ष बेगम् गहतराज लगायतका बक्ताले बोलेका थिए । सँस्थाका अध्यक्ष ओम प्रकाश बसेलको अध्यक्षता, लुम्बिनी प्रदेश सभा सदस्य ईन्द्रजित थारुको प्रमुख आतिथ्य एबम् गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोखरेलको बिशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो ।

आयाम सहकारीले कृषकमा नयाँ आयाम थप्दै!!

आर्थिक रूपान्तरणको अभियानमा सशक्त रुपमा अघि बढ्दै आएको आयाम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड अहिले दाङ क्षेत्रको एक प्रेरणादायी सहकारी मोडेलका रूपमा स्थापित हुँदै गएको छ । २०७२ सालमा स्थापना भएको यो संस्थामा ३१ सय ३० बढि शेयर सदस्य आबद्ध छन् । खासगरी सँस्थाले गढवामा केन्द्र बनाउदै दाङ देउखुरीको लमही, राजपुर, राप्ती लगायतका क्षेत्रमा आफ्नो सेवा प्रवाह गरिरहेको छ ।

स्थापनाको सुरुवाती दिनमा सीमित स्रोत र साधनबाट सुरु गरिएको संस्थाले हाल व्यापक सेवा विस्तार गर्दै आएको छ । बचत, कर्जा, उद्यम प्रवर्द्धन, कृषि सहुलियत, महिला सशक्तिकरण, सीप विकास र सामाजिक सचेतनामूलक कार्यहरू संस्थाको प्राथमिक सेवाको रूपमा स्थापित छन् । २०७४ सालदेखी सँस्थाले नागरिकका लागि एम्बुलेन्स सेवा पनि दिँदै आईरहेको छ । जसले गर्दा त्यसक्षेत्रका नागरिकले छिटो छरितो स्वास्थ्य सेवा पाईरहेका छन् । सहकारी अब कृषि विकास र किसान सशक्तिकरणमा केन्द्रित हुँदै मलखाद आपूर्ति तथा कृषि सहुलियत कार्यक्रम तर्फ कदम चाल्दै गरेको सास्थाले जनाएको छ । किसानका लागि मलखाद उत्पादन तथा अन्य खेतीका लागि जग्गा ठेक्कामा लिएर समेत अघि बढ्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *