चौथो खुमबहादुर खड्का स्मृति भलिवल प्रतियोगिता सुरु हुँदै

घरसञ्चार
दाङ । चौथो खुमबहादुर खड्का स्मृति लुम्बिनी प्रदेशस्तरीय खुल्ला पुरुष भलिवल प्रतियोगिता यही फागुनको २० गतेदेखि हुने भएको छ ।

जिल्लामा खेलकुद क्षेत्रको विकास र नयाँ प्रतिवान खेलाडी उत्पादन गर्ने उद्देश्यले नेपाली कांग्रेस दाङले चौथो खुमबहादुर खड्का स्मृति लुम्बिनी प्रदेशस्तरीय खुल्ला पुरुष भलिवल प्रतियोगिता आयोजना गर्न थालेको हो । नेपाली कांग्रेस दाङ खुमबहादुर खड्का स्मृति समाज विकास समितिको आयोजनामा स्वर्गीय नेता एवं पूर्वमन्त्री खुमबहादुर खड्काको सम्झनामा खेलकुद क्षेत्रको विकासका लागि प्रतियोगिता गर्न थालेको हो । जिल्लाका दश वटा स्थानीय तहलाई सहभागी गराएर प्रत्येक बर्ष सञ्चालन हुँदै आएको प्रतियोगितालाई यो बर्षदेखि लुम्बिनी प्रदेशस्तरीय खुल्ला प्रतियोगिताका रुपमा सञ्चालन गर्न थालिएको नेपाली कांग्रेस दाङका जिल्ला सभापति शंकरप्रसाद डाँगीले जानकारी दिएका छन् ।

प्रतियोगितामा स्थानीय तहका भलिवल टिमसँगै खुल्ला रुपमा अन्य टिमले पनि सहभागीता जनाउन सक्ने बताए । पुरस्कार राशीमा वृद्धिसँगै प्रतियोगितालाई भव्य रुपमा सञ्चालन गर्नका लागि प्रदेशस्तरीय बनाइएको भन्दै जिल्ला सभापति डाँगीले भने,‘प्रतियोगिताका तीन संस्करणमा जिल्लाका दशवटा स्थानीय तहबाट भलिवल टिम बनाएर खेल सञ्चालन गरेका थियौ । यो बर्षदेखि प्रतियोगितालाई प्रदेशस्तरीय बनाएका छौ,अव प्रदेशका १२ वटै जिल्लाबाट टिम सहभागी हुन पाउने छन् ।’

प्रतियोगितामा सहभागीताका लागि फागुनको १३ गतेसम्मलाई टिम दर्ताको समय भएको नेपाली कांग्रेस दाङका सहसचिव तथा खुमबहादुर खड्का स्मृति समाज विकास समितिका संयोजक राजु आचार्यले बताए । दर्ता शुल्क पाँच हजार एक रुपियाँ रहेको छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद दुई लाख ५१ हजार रुपियाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसैगरी दोश्रो हुने टिमले नगद एक लाख २५ हजार र तेश्रो हुने टिमले नगद ५० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने नेपाली कांग्रेस दाङले जनाएको छ । प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई विद्यागत रुपमा समेत पुरस्कृत गरिने छ । प्रतियोगिता घोराहीस्थित जिल्ला समन्वय समितिको मैदानमा हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *