गोरखा स्कुल लमहीमा शैक्षिक शिकाई मेला

घरसञ्चार
देउखुरी । बिद्यार्थी सिकाइ, संस्कार क्षमता प्रबर्द्वन गर्न लमहीमा रहेको गोरखा मोडेल सेकेण्डरी स्कुल लमहीले एकदिने शैक्षिक सिकाई मेला आयोजना गरेको छ ।

घर, समुदाय तथा विद्यालयमा सिकाइ, संस्कार प्रबर्द्वन गरी बालबालिकाको आनीबानीको विकास गर्ने उद्देश्यले एकदिने शैक्षिक सिकाई मेला आयोजना गरिएको गोरखा मोडेल सेकेण्डरी स्कुल लमहीका प्राचार्य लोकमान रिजालले बताए । शैक्षिक सिकाई मेलाको उद्घाटन गर्दै जिल्ला शिक्षा समन्वय समिति दाङका प्रमुख देवमणी चौधरीले बालबालिकाको शैक्षिक गुणस्तर बढाउन मेलाको निकै महत्वपुर्ण भुमिका रहने बताए । उनले सामुदायिक तथा निजी विद्यालयमा शैक्षिक गुणस्तरका साथ घरपरिवार तथा समाजमा संस्कार खस्किदै गईरहेको हुँदा यस्ता कार्यक्रम प्रभावकारी हुने बताए । शैक्षिक मेलाले विद्यालयमा पठन संस्कृतिको विकास हुने विश्वा समेत उनले ब्यक्त गरे ।

गोरखा मोडेल सेकेण्डरी स्कुल लमहीका प्राचार्य लोकमान रिजालले विद्यालयको शैक्षिक गुणस्तर बढाउन शैक्षिक मेला आयोजना गरिएको बताउँदै उनले शैक्षिक मेलाले बालबालिकाको पढ्ने बानीको विकास गरी शैक्षिक गुणस्तर वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास जागृत भएको बताए । स्थापना कालदेखि गोरखा मोडेल सेकेण्डरी स्कुल लमहीले गुणस्तरीय शिक्षा सुदृढीकरणका लागि बालबालिकाका विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ । प्रिन्सिपल रिजालले स्थानीयस्तरमा शिक्षकले निर्माण गरिरहेका शैक्षिक सामग्री र त्यसको प्रयोगसहित अभिभावकको पनि संलग्नता शिक्षण सिकाइ क्रियाकलापमा हुनुपर्छ भन्ने सन्देश दिन मेला आयोजना गरिएको बताए । यस्ता कार्यक्रमले शिक्षक र विद्यार्थीका शिक्षण सिकाइ क्रियाकलाप वृद्धि हुने र बालबालिकाको सिकाइको उपलब्धि वृद्धि गराउन सकियो भने विद्यार्थीको सीप वृद्धि हुने भएकाले यस्तो कार्यक्रम आयोजना गरिएको विद्यालयका प्राचार्य रिजालले बताए ।


यता अभिभावक पवन शर्मा रिजालले शैक्षिक अवस्था सुधार गर्न विद्यालयले शैक्षिक मेला आयोजना गरेको प्रति खुसि व्यक्त गर्दै, मेलामा बालबालिकाद्वारा निर्माण गरिएका शिक्षण सिकाइ क्रियाकलाप अन्तर्गतका सामग्री र परम्परागत सामग्री लगायत सामग्री प्रदर्शनीमा राखिएका विद्यालयलाई धन्यवाद ज्ञापन गरे उनले भने-पढाईको गुणस्तर सुधार गर्न शैक्षिक मेलाको आयोजना गरिनुपर्छ ।’ कार्यक्रमका अवसरमा जंगफुड (पत्रु खाना) खान नहुने, नियमित स्वास्थ्यको ख्याल राख्नुपर्ने, आफ्ना बालबालिकाले गृहकार्य गरे-नगरेको अभिभावकले नियमित अनुगमन गर्नुपर्नेलगायत सन्देश दिने खालका सचेतना प्रदर्शन गरिएको थियो । यस्ता सिकाइ मेलाले आफूहरूजस्ता विद्यार्थीलाई स्थानीयस्तरमा भएका सामग्री र सीप कसरी प्रयोग गर्ने भन्ने जानकारी हुने तथा अन्तरविद्यालयको सीप एकअर्काले आदानप्रदान गर्दा विद्यार्थी साथीबीच सद्भाव कायम हुने कार्यक्रममा सहभागी गोमा भण्डारीले बताईन । यस्ता गतिविधले आफूजस्ता विद्यार्थीमा अन्तरनिहीत प्रतिभा प्रस्फुटन गराउन मद्दत पुग्ने उनले बताईन ।


मेलामा मोडल कक्षा, विद्यार्थीका क्रियाकलाप, शैक्षिक सामग्री स्टल, गणित शैक्षिक सामग्री स्टल, घरमा पढाइ कुना स्टल तथा सृजनात्मक क्रियाकलाप स्टल गरी दर्जनभन्दा बढी स्टल राखिएको थियो । मेलामा विभिन्न विषयसम्बन्धी शैक्षिक सामग्री पनि प्रदर्शन गरिएको थियो । कक्षा १ देखि ५ सम्म नेपाली तथा अँग्रेजी अक्षर चिन्ने, गणितको समस्या हल गर्ने नगरपालिकास्तरीय प्रतियोगिता समेत गरिएको विद्यालयका प्राचार्य रिजालले जानकारी दिए । मेलामा विद्यार्थीले बालविवाहले समाजमा पारेको असरसम्बन्धी चेतनामूलक नाटक समेत प्रस्तुत गरेका थिए । कार्यक्रममा ९ सय ७३ जना बालबालिकाले आफ्नो प्रस्तुति देखाएका थिए । विद्यालयका प्राचार्य रिजालको अध्यक्षता तथा जिल्ला शिक्षा दाङका समन्वय समितिका प्रमुख देवमणी चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्राचार्य रिजालले विषयवस्तुका बारेमा जानकारी गराउदै सबै उपस्थितिलाई स्वागत गरेका थिए भने कार्यक्रमको सहजिकरण शिक्षिका शिला रिजाल र दिप्ती शर्माले संयुक्त रुपमा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *