२४ घण्टे अल्टिमेटमलाई अटेरी गरेका सिक्टाका शिक्षक खत्रीलाई पालिकाले पुनः सोध्यो स्पष्टिकरण

घरसञ्चार
दाङ । माध्यामिक विद्यालय सिक्टा शिक्षक बिष्णु खत्रीलाई राजपुर गाउँपालिकाले दोस्रो पटक स्पष्टिकरण सोधेको छ । सामाजिक संजालमा पालिका, पालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र शिक्षा अधिकृतलाई गालि गलौच तथा अमर्यादित शब्द लेखेर बदनाम गरेको भन्दै पालिकाले यो भन्दा अघि शिक्षक खत्रीलाई २४ घन्टे स्पष्टिकरण सोधेको थियो ।
पालिकाले सोधेको स्पष्टिकरणको वेवास्ता गरेको भन्दै बुधबार पुनः पालिकाले स्पष्टिकरण सोधेको प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद पाण्डेले जानकारी दिए ।
सजाय दिन नपर्ने कारण भए शिक्षक खत्रीलाई तीन दिन भित्र चित्त बुझ्दो जवाफ दिन समेत पालिकाले भनेको छ । पालिकाले नियुक्त गरेको निमित्त प्रधानाध्यापक भारत बहादुर बस्नेतलाई दैनिक कामकाजमा समेत अबरोध गरेको शिक्षा शाखाले जारी गरेको स्पष्टिकरण पत्रमा उल्लेख गरेको छ । पालिकाले शिक्षक खत्रीलाई भदौ २ गते स्पष्टिकरण सोधेको थियो । शिक्षक खत्रीले २४ घण्टे अल्टिमेटमलाई अटेरी गरि उपस्थित नभएको शिक्षा शाखा प्रमुख केशब लम्सालले जानकारी दिए ।