लमही-कोइलावास सडक बिस्तार, भौतिक संरचनाको क्षतिपूर्ती दिन माग

घरसञ्चार
दाङ । दाङको लमही-कोइलावास सडकअन्तर्गत पर्ने लमही बजार क्षेत्रका स्थानीयले भौतिक संरचनाको क्षतिपूर्ती दिएर मात्र सडक विस्तार गर्न माग गरेका छन् ।
जग्गाको मुआव्जा प्राप्त गरेपनि स्थानीयले भौतिक संरचनाको क्षतिपूति नपाएकाले क्षतिपूर्ती दिएर मात्र सडक विस्तार गर्न माग गरेका हुन् । सडक डिभिजन कार्यालय दाङले साउनको २९ गते सूचना निकाल्दै लमही-गढवा-कोइलावास सडकअन्तर्गत लमही बजार क्षेत्रअन्तर्गत मुआब्जा लिइसकेका घरधनीलाई सडक क्षेत्रभित्र पर्ने संरचना हटाउन आग्रह गरेको थियो । सूचनामा लमही-गढवा-कोइलावास सडकअन्तर्गत लमही बजार क्षेत्रमा ३० मिटर सडक कायम गर्नुपर्ने व्यवस्था अनुसार मुआव्जा बुझिसकेका स्थानीयलाई आग्रह गरिएको सडक डिभिजन कार्यालय दाङका सिनियर डिभिजन इन्जिनियर गुरुप्रसाद अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार अहिलेको सडकको दुवैतर्फ १५/१५ मिटर सडक विस्तार गरिनेछ ।
हुलाकी सडक क्षेत्रमा पर्ने घर टहरालगायतका भौतिक संरचनाहरु ह्टाउनका लागि ३५ दिने सुचना निकालेपछि स्थानीयले संघर्ष समिति समेत गठन गरेका छन् । उक्त संघर्ष समितिले विहीबार लमही नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष ओमप्रसाद सुवेदीलाई ज्ञापनपत्र बुझाउँदै क्षतिपूर्तीको माग गरेका छन । सडकअन्तर्गत पर्ने ३२ जनाले संयुक्त रुपमा हस्ताक्षर गरेर ज्ञापनपत्र बुझाएका थिए । हुलाकी सडकअन्तर्गत लमही बजारको सडक क्षेत्रमा पर्ने भौतिक संरचना हटाउनका लागि आफुहरु तयार रहेपनि त्यसका लागि भौतिक संरचनाको क्षतिपूर्ती पाउनुपर्ने संघर्ष समितिका संयोजक शोभाकर घिमिरे बताउँछन् । उनका अनुसार सडक विस्तार गर्ने कार्यमा सम्पूणर् स्थानीय सहमत रहेपनि भौतिक संरचनाको क्षतिपूती पाउनुपर्ने बताउँछन् ।
सडक क्षेत्रमा पर्ने जग्गासहित भौतिक संरचनाको पनि क्षतिपूर्ती दिने सहमति भएको र त्यही अनुसार आफुहरुले पाउनुपर्ने संघर्ष समितिको माग छ । उक्त सडकअन्तर्गत करिव ३२ घरपरिवारले जग्गाको क्षतिपूर्ती लिएर भौतिक संरचना हटाउन नमानेपछि बजार क्षेत्रमा सडक विस्तार हुन सकेको छैन । बजार क्षेत्रमा सडक खुल्ला हुनुपर्ने भएपनि साघुरो हुँदा पटक पटक सडक विस्तार गर्नुपर्ने आवाज उठ्ने गरेको छ ।