दाङमा बसले स्कुटरलाई ठक्कर दिँदा एकजना घाइते

प्रिया स्मृति गजमेर
दाङ । दाङमा बसको ठक्करबाट एकजना महिला घाईते भएकि छिन ।
तुलसीपुर बाट बुटवल तर्फ जाँदै गरेको ना ७ ख ३५७६ नम्बरको यात्रु बसले लमही-घोराही सडक खण्ड अन्तर्गत पर्ने मुसोट नजिकै रा ३ प ६७८५ नम्बरको स्कुटीलाई ठक्कर दिदा स्कुटर चालक लक्ष्मी सुवेदी घाईते भएकि हुन ।
सुवेदी लमही नगरपालिकाको उपभोक्ता हित संरक्षण शाखामा कार्यरत कर्मचारी हुन । वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख प्रकाश भुसालका अनुसार बसको ठक्करबाट स्कुटी पूर्णरूपमा क्षती भएको छ । चालक सुवेदीलाई भने समान्य चोट लागेको छ । उनिसँग सवार अर्का एक महिलालाई भने केही नभएको बताईएको छ ।

दुर्घटना भएको सूचना पाए लगत्तै लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगी सहित पालिकाको टिम दुर्घटना स्थल पुगेको थियो ।दुर्घटनामा घाइते भएकी सुवेदीलाई तत्काल उद्दार गरि लमही अस्पताल पुर्याइएको थियो । प्रशासन शाखा प्रमुख महेश थापा ठेडी, राजस्व शाखा प्रमुख रेशमलाल शर्मा लगायत घटनास्थल पुगेका थिए । अहिले घाइते सुवेदीको अवस्था सामान्य रहेको छ । ठक्कर दिने बसलाई गोग्ली प्रहरी चौकीले नियन्त्रणमा लिएको छ ।
