ट्राफिक नियम उलङ्घन गर्नेहरुलाई सडकमा नखटाउन इन्सेकको आग्रह

१८ जेठ, काठमाडौँ- ट्राफिक नियम उलङ्घन गर्नेहरुलाई सडकमा नखटाउन ईन्सेकले गृहमन्त्रीलाई आग्रह गरेको छ ।
गृहमन्त्री रवि लामिछानेले गरेको यो निर्णय कानुन विपरीत भएको भन्दै इन्सेकले शुक्रबार विज्ञप्तिमार्फत जनाएको छ । इन्सेकले गृहमन्त्री लामिछानेले जेठ १५ गते फेसबुकमा एक स्ट्याटस लेख्दै मापसेलगायत ट्राफिक नियमको उल्लंघन गर्नेहरूले स्वयंसेवकका रूपमा सडकमा सघाउने जनाएका थिए । त्यसको भोलिपल्टदेखि ट्राफिक नियम उल्लंघन कर्ताहरूलाई ट्राफिक प्रहरीले स्वयंसेवक नाम दिएर श्रममा खटाउन थालेको र सवारी ऐनमा व्यवस्था नभएको उपाय अबलम्वन गर्नु लहडको शासनद्वारा विधिको शासनको प्रतिस्थापन गर्न खोजेको उल्लेख गरेको छ ।
इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ- कसैको लहडमा गरिने यस्ता निर्णय र कार्यक्रमले समाजमा अराजकतालाई बढवा दिने वा कानुन विहीनताको अवस्थालाईमात्रै प्रश्रय गर्दछ ।
गृहमन्त्रीको आदेशपछि जेठ १६ गते बिहानदेखि ट्राफिक प्रहरीले मादक पदार्थ सेवन (मापसे), तीव्र गति, रातो बत्ती उल्लङ्घन र लेन अनुशासन पालना नगरेकोमा आर्थिक जरिवानासहित थप एक घण्टा स्वयंसेवकका रूपमा श्रम सजाय दिन थालिएको छ ।