बस खरिदका लागि जनता मा वि गढवाको आर्थिक संकलन अभियान
आलोक भावुक
गढवा, १८ भदौ । जनता माध्यमिक विद्यालय गढवा -७, दाङले विद्यार्थीको सहज र सुरक्षित यातायात सुविधाका लागि विद्यालय बस खरिद गर्न “आर्थिक संकलन महाअभियान – २०८३” सञ्चालन गरेको छ ।
विद्यालयले “हातेमालो गरौँ, विद्यार्थीको सुविधाका लागि विद्यालय बस खरिद गरौँ !” भन्ने नारासहित आर्थिक सहयोग संकलन अभियान अघि बढाएको हो । विद्यालयका अनुसार बस खरिद गरी विद्यार्थीलाई आवतजावतमा सहजता प्रदान गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो । अभियानअन्तर्गत सहयोग गर्ने दातालाई सहयोग रकमअनुसार विभिन्न सम्मानको व्यवस्था गरिएको विद्यालयले जनाएको छ । रु. ५०० भन्दा माथि सहयोग गर्नेको नाम विद्यालयको निर्णय पुस्तिकामा उल्लेख गरी धन्यवाद ज्ञापन, रु. १ हजारभन्दा माथि सहयोग गर्नेको नाम विद्यालयको सूचना पाटीमा, रु. ५ हजारभन्दा माथि सहयोग गर्नेको नाम विद्यालयको वार्षिक स्मारिकामा समावेश गरिने जनाइएको छ ।
त्यस्तै रु. १० हजारभन्दा माथि सहयोग गर्ने दातालाई विशेष सम्मान-पत्र प्रदान गरिनेछ भने रु. २५ हजारभन्दा माथि सहयोग गर्नेको नाम विद्यालय बसमा विशेष स्थानमा लेखिने विद्यालयले जनाएको छ । विद्यालयले इच्छुक अभिभावक, पूर्वविद्यार्थी, समाजसेवी, व्यवसायी, संघ-संस्था तथा सम्पूर्ण शुभेच्छुकलाई अभियानमा सहयोग गरी विद्यालय बस खरिद गर्ने अभियान सफल बनाउन आग्रह गरेको छ । विद्यालयले सानो सहयोगले पनि हजारौँ विद्यार्थीको भविष्य उज्ज्वल बनाउन योगदान पुग्ने भन्दै “आउनुहोस्, साथ दिऔँ ! विद्यालय बनाऔँ, भविष्य सँवारौँ !!” भन्ने अपिल गरेको छ ।






