देउखुरी बहुमुखी क्याम्पसमा पाँच दिने जर्नल सम्पादन तालिम सञ्चालन हुने

घरसञ्चार

दाङ । देउखुरी बहुमुखी क्याम्पसमा पाँच दिने जर्नल सम्पादन सशक्तीकरण तालिम सञ्चालन हुने भएको छ । देउखुरी बहुमुखी क्याम्पस, लमहीस्थित अनुसन्धान व्यवस्थापन इकाई (आरएमसी) ले प्राध्यापक तथा अनुसन्धानकर्मीहरूको अनुसन्धान क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित तालिम आयोजना गर्न लागेको हो ।

तालिमबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा क्याम्पस प्रशासनले अनुसन्धान र प्राज्ञिक गतिविधिलाई संस्थागत रूपमा सुदृढ बनाउन कार्यक्रम सञ्चालन गर्न लागिएको जनाएको छ । विश्वविद्यालय अनुदान आयोग (यूजीसी) को आर्थिक सहयोगमा हुने उक्त तालिम आगामी जेठ १७ गतेदेखि २१ गतेसम्म सञ्चालन गरिने क्याम्पसले जनाएको छ । पत्रकार सम्मेलनका प्रमुख अतिथि तथा क्याम्पस प्रमुख शिव ओलीले उच्च शिक्षालाई केवल पाठ्यक्रम र कक्षाकोठामा सीमित राख्न नहुने धारणा व्यक्त गरे । उनले अनुसन्धान, नवीन ज्ञान उत्पादन र समाज रूपान्तरणलाई शिक्षासँग जोड्न सके मात्रै विश्वविद्यालयीय शिक्षाको उद्देश्य पूरा हुने बताए । गुणस्तरीय अनुसन्धान तथा प्राज्ञिक जर्नल प्रकाशनले क्याम्पसको शैक्षिक स्तर उकास्न महत्वपूर्ण योगदान पुर्‍याउने उनको भनाइ थियो ।

कार्यक्रमका सभाध्यक्ष तथा अनुसन्धान व्यवस्थापन इकाईका संयोजक सुधिर कुमार अधिकारीले अनुसन्धानलाई व्यवहारिक, सिर्जनात्मक र परिणाममुखी बनाउने दिशामा इकाई सक्रिय रहेको बताए । उनले शिक्षक र विद्यार्थीलाई अनुसन्धानमूलक गतिविधिमा सहभागी गराउँदै नवप्रवर्तन र नयाँ सम्भावनालाई प्रोत्साहन गरिने उल्लेख गरे । अनुसन्धान संस्कृति विकास गर्न यस्ता तालिम प्रभावकारी माध्यम बन्ने उनको विश्वास थियो । क्याम्पसका अनुसार तालिममा अनुसन्धान जर्नल सम्पादन, प्रकाशन मापदण्ड, प्राज्ञिक लेखन, अनुसन्धान अभिलेखीकरण तथा समालोचनात्मक अध्ययनका विषयमा प्रशिक्षण दिइनेछ ।

त्यस्तै पाण्डुलिपि व्यवस्थापन, समीक्ष प्रक्रिया, प्राविधिक सम्पादन, सन्दर्भ सामग्री लेखन, लेआउट डिजाइन तथा प्रकाशन आचारसंहितासम्बन्धी विषयमा पनि सहभागीलाई व्यवहारिक ज्ञान प्रदान गरिने जनाइएको छ । तालिममा नेपालका विभिन्न विश्वविद्यालयसँग आबद्ध विज्ञ प्राध्यापक तथा अनुसन्धानविद्हरू स्रोत व्यक्तिका रूपमा सहभागी हुनेछन् । कार्यक्रमबाट क्याम्पसमा प्रकाशित हुने प्राज्ञिक जर्नलहरूको गुणस्तर अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुधार हुने अपेक्षा गरिएको छ । साथै अनुसन्धानसम्बन्धी लेखन र सम्पादनमा संलग्न जनशक्तिको दक्षता वृद्धि भई शैक्षिक प्रकाशनलाई थप व्यवस्थित बनाउन मद्दत पुग्ने विश्वास क्याम्पसले लिएको छ ।

पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूले तालिमपछि क्याम्पसमा अनुसन्धान तथा जर्नल प्रकाशनको दिगोपन कसरी कायम गरिने, सहभागी छनोटको आधार, तथा तालिमबाट प्राप्त उपलब्धिलाई व्यवहारमा कसरी रूपान्तरण गरिने भन्ने विषयमा जिज्ञासा राखेका थिए । त्यसक्रममा क्याम्पस प्रशासनले तालिमलाई केवल औपचारिक कार्यक्रममा सीमित नराखी दीर्घकालीन अनुसन्धान संस्कृति विकाससँग जोडेर अघि बढाइने जनाएको थियो । पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य लिला शाह तथा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशकी निवर्तमान उपाध्यक्ष चुमा आचार्य लगायत सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजिकरण क्याम्पसका लेखा प्रमुख दिवाकर पोखरेल ले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *