‘समृद्ध राष्ट्र निर्माणका लागि संकल्प अभियान’ लिएर महाकाली-मेची यात्रामा युवाको टोली

घरसञ्चार
दाङ । ‘समृद्ध राष्ट्र निर्माणका लागि संकल्प अभियान’ लिएर युवाको टोली महाकाली-मेची यात्रामा निक्लिएको छ ।

कञ्चनपुरको गड्डाचौकीबाट ‘स्वतन्त्रको एकता महाकाली–मेची यात्रा’मा निस्किएको टोली देउखुरीको लमही आएर पत्रकार सँग भेटघाट गरेको हो । यात्रामा निस्किएको टोली दोस्रो दिन मंगलवार देउखुरीको लमहीमा पुगेर बुधवार बिहान पत्रकार समक्ष आफ्ना अभियानका बारेमा प्रष्टाएका थिए । ‘समृद्ध राष्ट्र निर्माणका लागि संकल्प अभियान’को आयोजनामा मंगलबारदेखि यो यात्रा प्रारम्भ गरिएको हो । सुदूरपश्चिम प्रदेशसभा सदस्य डा. तारा प्रसाद जोशीले नेपालको राष्ट्रिय झण्डा अभियानका संयोजक प्रेम राज भट्टलाई राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै यात्राको शुभारम्भ गरेका थिए । यात्रामा १८ जनाको सहभागीता रहेको छ ।

राष्ट्रियता, सुशासन, समृद्धि, एकता नारासहित सुरु भएको अभियान अन्तर्गत टोलीले महाकाली–मेची यात्रा सुरु गरेको हो । युवाहरूले पार्टीको झन्डा नभई नेपालको झन्डा बोकेर अघि बढ्नुपर्ने संयोजक भट्टले बताए । राजनीतिक दलहरुले अहिलेको समस्याको समाधान दिन नसक्ने भन्दै उनिहरुले कम्तिमा स्थानिय तहमा स्वतन्त्र ब्यक्ती निर्बाचित हुनुपर्ने जिकिर गर्दै आएका छन् । देशका पुराना राजनीतिक दलहरूको अस्तव्यस्तता र कमजोर नेतृत्वका कारण आम नागरिक निराश बनेको अपिल मार्फत सुचित गरिएको छ । रोजगारको अवसर अभावमा परदेशिन बाध्य युवाको भविष्य अझै अनिश्चित बन्दै गएको छ । स्थायित्व, सुशासन र पारदर्शी नेतृत्वको अभावले मुलुकको आर्थिक तथा सामाजिक विकास प्रभावित हुँदै आएको अभियानका अभियन्ता भिम बोहराले बताए ।

उनी भन्छन्, “देशमा रोजगारी नहुँदा हजारौंको संख्यामा युवा हरेक दिन विदेश पलायन हुन बाध्य छन् । पुराना दलहरू आ-आफ्नै स्वार्थमा अल्झिँदा राष्ट्रको भविष्य संकटमा परेको छ ।” यता, केही वर्षयता स्वतन्त्र उम्मेदवारको उदयलाई जनताले आशा र विकल्पको रूपमा हेरेका थिए । तर, स्वतन्त्रबाट निर्वाचित जनप्रतिनिधिहरू समेत नयाँ दल खोल्ने तयारीमा लाग्दा आम नागरिक फेरि निराश देखिएको छ । जनताले स्वतन्त्रलाई दलको विकल्पको रूपमा लिएका बेला उनीहरू पनि पुराना दलकै स्वभाबमा देखिनुले गम्भीर प्रश्न उठाएको छ । स्वतन्त्र शक्तिहरू मिलेर पुराना दलको सामना गर्न सकेको खण्डमा मात्र जनताले अपेक्षा गरेको नयाँ राजनीतिक संस्कृति विकास हुन्छ अभियन्ता बोहराले बताए । उनले टुक्राटुक्रा भएर अलग–अलग दल खोल्ने प्रवृत्तिले नयाँ राजनीतिक शक्तिलाई पनि पुरानै रोगले ग्रसित बनाउने सम्भावना बलियो हुने जनाए ।

अभियानअन्तर्गत पूर्व–पश्चिम राजमार्गका विभिन्न स्थानमा कोणसभाको आयोजना गर्दै यात्रा २० गते मेची पुग्ने लक्ष्य लिइएको नेपालको राष्ट्रिय झण्डा अभियानका संयोजक प्रेम राज भट्टले जानकारी दिए । २१ गते भने धरानमा पुगेर श्रमदान गर्दै धरान उपमहानगरका प्रमुख हर्क साम्पाङ सँगै अभियानको समापन गर्ने योजना रहेको बताइएको छ । यात्राका क्रममा ‘समृद्ध राष्ट्र निर्माणका लागि संकल्प अभियान’ले ठाउँ–ठाउँमा आमसभाको आयोजना गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *