गढवामा महिला स्वास्थ्य स्वयंसेविकाका लागि दुई दिने तालिम सुरु

आलोक भावुक

गढवा, २१ श्रावण । गढवा गाउँपालिका वडा नम्बर ६ मा उपेक्षित उष्णप्रदेशिय रोगहरू तथा कुष्ठरोग सम्बन्धी दुई दिने आधारभूत तालिम सुरु भएको छ । गढवा गाउँपालिका स्वास्थ्य शाखाको समन्वय तथा फेयरमेड/प्रेरणा परियोजनाको आर्थिक सहयोगमा सञ्चालित तालिममा वडा नम्बर ६ का १४ जना महिला स्वास्थ्य स्वयंसेविकाहरू सहभागी भएका छन् ।
कार्यक्रम गढवा गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष वीरबहादुर आलेमगरको अध्यक्षतामा तालिम उद्घाटन भएको हो । तालिम उद्घाटन गर्दै वडाध्यक्ष आलेमगरले समुदायमा अझै लुकेर रहेका कुष्ठरोगीहरू समयमै पहिचान गर्न सकिएमा रोगको नियन्त्रण सम्भव हुने बताए । उनले भने, “स्वास्थ्य स्वयंसेविका महिला दिदीबहिनीहरू नै समुदायको मेरुदण्ड हुन, तपाईंहरूको सक्रियता र समर्पणले गाउँलाई रोगमुक्त बनाउन सकिन्छ । कुष्ठ रोग जस्ता उपेक्षित रोगहरू अझै गाउँका कुनाकन्दरामा लुकेका छन् । तिनको पहिचान र उपचारका लागि यो तालिम निकै महत्वपूर्ण छ।”

तालिममा फेयरमेडका शोभाकर भण्डारी, प्रेरणा परियोजनाका बिबेक केसी, मनिषा सापकोटा र गढवा स्वास्थ्य चौकीका प्रमुख सूर्य नारायण यादवले प्रशिक्षण दिनेछन् । गढवा गाउँपालिकाका सबै आठ वडामा यस्ता कार्यक्रम सञ्चालन गरिने गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कैलाश चन्द्र चौधरीले जानकारी दिए । कार्यक्रमसँगै एक दिने कुष्ठरोग खोजपड्ताल अभियान समेत सञ्चालन गरिनेछ। कार्यक्रमको सञ्चालन प्रेरणा परियोजनाका बिबेक केसीले गर्नु भएको थियो भने स्वागत मन्तव्य स्वास्थ्य शाखा प्रमुख चौधरीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *