जन्मोत्सवको फरक उदाहरण: रक्तदान शिविर आयोजना, १५ जनाको सहभागिता

घरसञ्चार

दाङ । लमही जेसिज वर्ष २०२६ को आयोजनामा पूर्व अध्यक्ष दुलमदास चौधरीको जन्मदिनको अवसर पारेर रक्तदान शिविर सम्पन्न गरिएको छ ।

रक्त अभावका बेला बिरामीको जीवन बचाउन सहयोग पुग्ने उद्देश्यले आयोजना गरिएको शिविरमा १५ जनाले स्वेच्छिक रूपमा रक्तदान गरेका छन् । कार्यक्रम लमही जेसिज वर्ष २०२६ का कार्यकारिणी उपाध्यक्ष रमित बुढा मगरको अध्यक्षता तथा नेपाल रेडक्रस सोसाइटी लमहीका अध्यक्ष थानेश्वर गैरेको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा शिशिर सुबेदीले स्वागत मन्तव्य व्यक्त गर्दै रक्तदान मानव सेवाको उत्कृष्ट माध्यम भएको बताए । उनले युवाहरूलाई सामाजिक उत्तरदायित्वप्रति सचेत हुँदै यस्ता मानवीय अभियानमा निरन्तर सहभागी हुन आग्रह गरे ।

प्रमुख अतिथि थानेश्वर गैरेले नेपालमा रगतको आवश्यकता वर्षभरि रहने भएकाले स्वस्थ व्यक्तिले नियमित रूपमा रक्तदान गर्नुपर्ने बताए । उनले एक पिन्ट रगतले एकभन्दा बढी बिरामीको जीवन बचाउन सक्ने भएकाले रक्तदानलाई महान दानका रूपमा लिनुपर्ने धारणा व्यक्त गरे । विशिष्ट अतिथि तथा लमही जेसिजका पूर्व अध्यक्ष हरिबहादुर कँवरले जेसिजले नेतृत्व विकाससँगै सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिँदै आएको उल्लेख गर्दै रक्तदान जस्ता अभियानले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताए । रक्तसञ्चार केन्द्र दाङका उपसभापति दिलिप न्यौपानेले जिल्लामा रगतको माग निरन्तर रहने भएकाले यस्ता कार्यक्रमले रक्त सञ्चितिमा महत्वपूर्ण सहयोग पुग्ने बताए । उनले रक्तदान गर्ने सम्पूर्ण रक्तदाताप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि नियमित रूपमा रक्तदान गर्न आग्रह गरे ।

कार्यक्रमबारे जानकारी दिँदै लमही जेसिजका सन् २०२१ का अध्यक्ष दुलमदास चौधरीले आफ्नो जन्मदिनलाई व्यक्तिगत उत्सवका रूपमा नभई सामाजिक सेवासँग जोड्ने उद्देश्यले रक्तदान शिविर आयोजना गरिएको बताए । उनले जन्मदिनमा हुने अनावश्यक खर्चलाई मानव जीवन बचाउने अभियानमा रूपान्तरण गर्न सके समाजका लागि उदाहरणीय कार्य हुने विश्वास व्यक्त गरे । कार्यक्रमको सहजीकरण महासचिव केशव दीपक शर्माले गरेका थिए । उनले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण रक्तदाता, अतिथि, स्वयंसेवक तथा सहयोगी संस्थाप्रति धन्यवाद व्यक्त गरे । शिविरमा १५ जनाले स्वेच्छिक रूपमा रक्तदान गरेको आयोजकले जनाएको छ । लमही जेसिजले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य, सामाजिक सेवा तथा युवाको नेतृत्व विकाससँग सम्बन्धित रचनात्मक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *