असल अभिभावकत्व र महिला हिंसा न्यूनीकरणबारे लमहीमा अभिमुखीकरण
घरसञ्चार
दाङ । असल अभिभावकत्व, महिला हिंसा न्यूनीकरण तथा कानुनी उपचार सम्बन्धी अभिमुखीकरण कार्यक्रम शनिबार लमही नगरपालिका-७ नम्बर वडा कार्यालयमा सम्पन्न भएको छ ।
लायन्स क्लब अफ लमही जागरणको आयोजनामा भएको कार्यक्रम संस्थाकी अध्यक्ष गायत्री थापाको अध्यक्षता तथा लमही नगरपालिकाकी उपप्रमुख लक्ष्मी योगीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा संस्थाकी प्रथम उपाध्यक्ष तथा कार्यक्रम संयोजक सितादेवी शर्माले सहभागीलाई स्वागत गर्दै कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेकी थिइन् । आफ्नो जन्मदिनको अवसरलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै उनले अभिमुखीकरण कार्यक्रम आयोजना गरेको बताइन् । जन्मदिनलाई केवल औपचारिक शुभकामना आदानप्रदानमा सीमित नराखी समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनको भनाइ थियो ।

प्रमुख अतिथि उपप्रमुख लक्ष्मी योगीले महिला हिंसा अन्त्यका लागि कानुनको प्रभावकारी कार्यान्वयनसँगै परिवार र समाजमा सचेतना विस्तार हुनुपर्नेमा जोड दिइन् । उनले असल अभिभावकत्वबाट नै सभ्य, जिम्मेवार र हिंसामुक्त समाज निर्माण गर्न सकिने उल्लेख गर्दै यस्ता जनचेतनामूलक कार्यक्रमले समुदायमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरिन् । कार्यक्रममा वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक रमेश कुमार तिमिल्सिनाले महिला हिंसाका विभिन्न स्वरूप, त्यसबाट पीडितले प्राप्त गर्न सक्ने कानुनी संरक्षण तथा प्रहरीमा उजुरी दिने प्रक्रिया लगायतका विषयमा सहजीकरण गरेका थिए । उनले महिला तथा बालबालिकामाथि हुने हिंसाका घटनालाई लुकाएर नराखी सम्बन्धित निकायमा जानकारी गराउन आग्रह गर्दै कानुन सबैका लागि समान रहेको बताए ।
त्यसैगरी स्वास्थ्य अधिकृत रुपलाल पाण्डेले पारिवारिक वातावरण, अभिभावकको भूमिका, बालबालिकाको मानसिक तथा शारीरिक विकास, सकारात्मक पालनपोषण र स्वस्थ पारिवारिक सम्बन्धका विषयमा प्रशिक्षण दिएका थिए । उनले परिवारभित्रको राम्रो संवाद, माया, अनुशासन र जिम्मेवारीपूर्ण व्यवहारले बालबालिकाको भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताए । कार्यक्रममा करिब ६० जना स्थानीय महिला, अभिभावक तथा समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । सहभागीहरूले प्रशिक्षणका क्रममा आफ्ना जिज्ञासा राख्दै महिला हिंसा न्यूनीकरण, कानुनी उपचार तथा बालबालिकाको उचित पालनपोषणसम्बन्धी विषयमा जानकारी लिएका थिए ।

आयोजकका अनुसार यस्ता सचेतनामूलक कार्यक्रमले समुदायमा कानुनी सचेतना अभिवृद्धि गर्नुका साथै महिला हिंसा न्यूनीकरण र जिम्मेवार अभिभावकत्वको विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ । साथै आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रम सञ्चालन गर्दै समुदायसँग सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता लायन्स क्लब अफ लमही जागरणले जनाएको छ । कार्यक्रममा ७ नम्बर वडा सदस्य उर्मिला चौधरी, महिला संजाल वडा नम्बर ७ कि अध्यक्ष शोभा श्रेष्ठ लगायतले शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रमको सहजिकरण रेश्मा थापाले गरेकि हुन ।






