राजपुरका विद्यार्थीलाई मिडिया साक्षरता तालिम, तीन विद्यालयमा सञ्चालन
घरसञ्चार
दाङ । नेपाल पत्रकार महासंघ दाङ शाखाको आयोजनामा तथा राजपुर गाउँपालिकाको आर्थिक सहयोगमा राजपुर गाउँपालिकाभित्रका विद्यार्थीलाई लक्षित गरी मिडिया साक्षरता तालिम सञ्चालन गरिएको छ ।
सूचना तथा सञ्चारमाध्यमको सही प्रयोग, भ्रामक सूचनाको पहिचान तथा सामाजिक सञ्जालको जिम्मेवार प्रयोगसम्बन्धी जानकारी दिने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो । नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षता तथा राजपुर गाउँपालिकाकी उपाध्यक्ष धनपतीदेवी यादवको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा गाउँपालिका उपाध्यक्ष धनपतीदेवी यादवले सूचना प्रविधिको तीव्र विकाससँगै विद्यार्थीहरूमा मिडिया साक्षरताको आवश्यकता झनै बढ्दै गएको बताइन् । उनले सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यमबाट आउने सूचनालाई सत्य र असत्य छुट्याउन सक्ने क्षमता विकास गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने बताउँदै भविष्यका जिम्मेवार नागरिक निर्माणका लागि मिडिया साक्षरता अपरिहार्य रहेको उल्लेख गरिन् । उनले गाउँपालिकाले शिक्षा र चेतनामूलक कार्यक्रमलाई प्राथमिकतामा राख्दै यस्ता गतिविधिलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

त्यसैगरी पालिकाका शिक्षा शाखा प्रमुख बासुदेव खनालले विद्यार्थीहरूलाई पाठ्यपुस्तकको ज्ञानसँगै सूचना र सञ्चारसम्बन्धी व्यवहारिक ज्ञान पनि आवश्यक रहेको बताए । उनले डिजिटल माध्यमको बढ्दो प्रयोगसँगै गलत सूचना र अफवाहबाट जोगिन मिडिया साक्षरता महत्वपूर्ण विषय बनेको उल्लेख गर्दै विद्यालय तहदेखि नै विद्यार्थीमा आलोचनात्मक सोच र सही सूचना छनोट गर्ने क्षमता विकास गरिनुपर्नेमा जोड दिए । तालिममा नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सन्तोष सुवेदी र महासंघका पूर्व अध्यक्ष डा. सुदीप गौतमले प्रशिक्षण दिएका थिए । कार्यक्रमको सहजीकरण महासंघ दाङका कोषाध्यक्ष अमर क्षितिज भण्डारी र जिल्ला सदस्य टेकबहादुर पुनले गरेका थिए ।
राजपुर गाउँपालिकाभित्रका तीन विद्यालयमा कार्यक्रम सञ्चालन गर्ने योजना अनुसार साधारण उच्च नमुना माध्यमिक विद्यालय सालभौँरी र शंकर माध्यमिक विद्यालय खरदरियामा मिडिया साक्षरता तालिम सम्पन्न भइसकेको छ भने जनज्योति माध्यमिक विद्यालय बेलामा कार्यक्रम सञ्चालन गर्न बाँकी रहेको आयोजकले जनाएको छ ।






