सवारी आवागमन सहज बनाउन लमही-७ मा स्थान परिचय सहितका होडिङ बोर्ड स्थापना

घरसञ्चार

लमही, असार ७ । सवारी आवागमनलाई सहज, सुरक्षित तथा व्यवस्थित बनाउन लमही नगरपालिका-७ ले वडाभित्रका विभिन्न स्थानमा स्थान परिचय सहितका होडिङ बोर्ड स्थापना गरेको छ ।

वडा कार्यालयको पहलमा स्थापना गरिएका बोर्डमार्फत स्थानीय बस्ती तथा विभिन्न टोलको पहिचान स्पष्ट हुने भएकाले यात्रु, सवारी चालक तथा बाहिरबाट आउने आगन्तुकलाई गन्तव्य पहिचान गर्न सहज हुने अपेक्षा गरिएको छ । विशेषगरी पूर्व-पश्चिम राजमार्ग (हाइवे) बाट भित्री बस्तीमा जाने सडक तथा बढी सवारी चाप हुने स्थानहरूमा यस्ता बोर्ड राखिएको वडा कार्यालयले जनाएको छ । वडाध्यक्ष मोहन गिरीका अनुसार वडाभित्र पछिल्लो समय सवारी साधनको चाप बढ्दै गएकाले स्थानीय बस्तीको पहिचानसँगै आवतजावतलाई सहज बनाउने उद्देश्यले होडिङ बोर्ड स्थापना गरिएको हो ।

उनले भने, “वडा नम्बर ७ भित्रका विभिन्न बस्तीमा पुग्ने यात्रु तथा सवारी चालकलाई बाटो पहिचान गर्न सहज होस् भन्ने उद्देश्यले स्थान परिचय सहितका बोर्ड राखिएका हुन् । विशेषगरी बढी गाडीको चाप हुने स्थानलाई प्राथमिकतामा राखेर बोर्ड स्थापना गरेका छौँ । यसले स्थानीय बस्तीको पहिचानसमेत थप मजबुत बनाउने विश्वास लिएका छौँ ।” वडा नम्बर ७ अन्तर्गत हाइवे सडकभन्दा भित्र रहेका कमानपुर, बन्गईं, हसनापुर, बनघुस्री, जनकपुर, फचकपुर, खलुवाटोल लगायतका क्षेत्रको नाम र दिशासूचक जानकारी समेटिएका बोर्डहरू स्थापना गरिएको छ । यसबाट स्थानीयबासी मात्र नभई बाहिरी क्षेत्रबाट आउने सर्वसाधारणलाई समेत गन्तव्य पहिचान गर्न सहज हुने अपेक्षा गरिएको छ ।

स्थानीयवासीले पनि वडाको यो पहल सकारात्मक रहेको बताएका छन् । उनीहरूका अनुसार स्थान परिचय खुल्ने बोर्ड नहुँदा नयाँ व्यक्तिलाई गन्तव्य पहिचान गर्न समस्या हुने गरेको थियो । अब भने विभिन्न टोल तथा बस्तीको स्पष्ट जानकारी पाउन सहज हुने भएको छ । वडाले आगामी दिनमा आवश्यकताका आधारमा अन्य स्थानहरूमा समेत यस्ता सूचनामूलक तथा दिशासूचक बोर्ड विस्तार गर्दै जाने जनाएको छ । स्थानीय बस्तीको पहिचान संरक्षणसँगै सुरक्षित र व्यवस्थित यातायात व्यवस्थापनमा समेत यसले सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *