टेङ्गनैया धाममा साहित्यकारहरूको भेला, भाषा-संस्कृति संरक्षणमा जोड
घरसञ्चार
लमही, जेठ २५ । देउखुरी साहित्य तथा सांस्कृतिक मञ्च दाङको आयोजना तथा टेङ्गनैया बाबा मच्छेधामको व्यवस्थापनमा अन्तरजिल्ला साहित्य तथा सांस्कृतिक सम्मेलन कार्यक्रम टेङ्गनैया धाममा सम्पन्न भएको छ ।
देउखुरी साहित्य तथा सांस्कृतिक मञ्चका अध्यक्ष नीमबहादुर थापाको अध्यक्षता तथा लमही नगरपालिकाकी उपप्रमुख लक्ष्मी योगीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा दाङ, बाँके, प्यूठान, दैलेख लगायत विभिन्न जिल्लाका प्रतिष्ठित साहित्यकार, स्रष्टा तथा संस्कृतिकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा टेङ्गनैया धाम व्यवस्थापन समितिका अध्यक्ष दिकपाल योगीले धामको इतिहास, महत्व तथा व्यवस्थापन गतिविधिबारे जानकारी गराउँदै सीमित स्रोतसाधनका बाबजुद स्थानीय समुदायको सक्रिय सहयोगमा धाम सञ्चालन भइरहेको बताए ।
सम्मेलनमा प्रगतिशील लेखक संघ (प्रलेस) दाङका उपाध्यक्ष रेशम बीसी, प्यूठानका कवि देबेन्द्रकुमार रिजाल, सर्वदा साहित्य संगम बाँकेका सचिव खड्ग बोहरा, लुम्बिनी वाङ्मय प्रतिष्ठान बाँकेका अध्यक्ष भरत रानाभाट, आध्यात्मिक कवि हिरालाल शर्मा ‘चिन्तक’, वरिष्ठ साहित्यकार खगेन्द्र गिरी ‘कोपिला’, साहित्यकार किरण आचार्य तथा कवि सूर्यराज गौतमलगायतले आ-आफ्ना सिर्जना प्रस्तुत गरेका थिए । थारु भाषा साहित्य प्रतिष्ठानका अध्यक्ष छबिलाल कोपिलाले टेङ्गनैया धामको ऐतिहासिक तथा धार्मिक महत्वबारे चर्चा गर्दै यस क्षेत्रलाई शक्तिपीठका रूपमा विकास हुनुले सांस्कृतिक पहिचानलाई थप बल पुगेको बताए ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य लीला शाहले शुभकामना मन्तव्य व्यक्त गरेकी थिइन् । कार्यक्रममा देउखुरी गजल अभियानका अध्यक्ष गुरुप्रसाद कुमाल ‘बुलबुल’, गिरीराज खनाल, मकुश पन्थी, शेषमणि शर्मा, पुरुषोत्तम शर्मा, पत्रकार विदुर एमसी तथा दैलेखका डेउडा विद् भीमबहादुर शाहीलगायतले पनि रचना वाचन गरेका थिए । देउखुरी साहित्य तथा सांस्कृतिक मञ्चको जेठ २१ गते बसेको कार्यसमिति बैठकको निर्णयअनुसार आयोजना गरिएको कार्यक्रममा धामका संस्थापक सचिव तथा संगीतकार यादवनाथ योगीले प्रस्तुत गरेको ‘मेरो दाङ मेरो देउखुरी’ गीतले सहभागीहरूको विशेष ध्यान आकर्षित गरेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि उपप्रमुख लक्ष्मी योगीले यस्ता साहित्यिक तथा सांस्कृतिक जमघटले भाषा, साहित्य, कला, संस्कृति र सांस्कृतिक सम्पदासँग सम्बन्धित संस्थाबीच एकता, सद्भाव र आत्मीयता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताइन् । विशिष्ट अतिथि प्रा.डा. जनार्दन आचार्यले कार्यक्रमले साहित्यिक गतिविधिसँगै सांस्कृतिक धरोहरको गहिरो परिचय गराउँदै नयाँ सन्देश दिएको उल्लेख गरे । उनले यस्ता कार्यक्रमलाई सदरमुकाम केन्द्रित सोचभन्दा बाहिर निकालेर ग्रामीण क्षेत्रमा पनि व्यापक बनाउनुपर्ने धारणा राखे ।
टेङ्गनैया धाम व्यवस्थापन समितिका सचिव नारायण मजगैयाँले कार्यक्रमको सहजीकरण गरेका थिए भने देउखुरी साहित्य तथा सांस्कृतिक मञ्चकी सहसचिव प्रेमा जीसीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् । रचना वाचनपछि आयोजित दोस्रो सत्रमा नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापक तथा बालगोपालेश्वर मन्दिर बनघुस्रीका प्रमुख डा. रघुनाथ नेपालले शुभवचन मन्तव्य दिएका थिए । त्यसपछि आश्रमका सांस्कृतिक भजन मण्डली संयोजक आशाराम चौधरी र सल्लाहकार मेघनारायण चौधरीलाई कार्यक्रम हस्तान्तरण गरिएको आयोजक संस्थाका सचिव बालमुकुन्द आचार्यले जानकारी दिए ।






