लमहीमा म्याद गुज्रिएका औषधी बरामद, २१ हजारभन्दा बढी मूल्यका सामान नष्ट

घरसञ्चार

दाङ । उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका वस्तुहरूमा लापरबाही बढ्दै गएको गुनासोबीच लमही बजारका विभिन्न पसलहरूमा गरिएको अनुगमनमा म्याद गुज्रिएका सामग्री फेला परेका छन् ।

लमही नगरपालिकाको आयोजनामा गरिएको अनुगमनका क्रममा एग्रोभेट सेन्टर, फलफूल पसल तथा मेडिकलहरूमा व्यापक अनियमितता भेटिएको हो । नगरपालिकाले सञ्चालन गरेको अनुगमन टोलीले बजारका ११ वटा पसलमा पुगेर निरीक्षण गर्दा म्याद सकिएका औषधी, बीउबिजन तथा अन्य सामग्री बरामद गरेको छ । बरामद गरिएका सामग्रीको कुल मूल्य २१ हजार ९२ रुपैयाँ बराबर रहेको जनाइएको छ । ती सबै सामग्री तत्कालै नष्ट (पुरेर व्यवस्थापन) गरिएको नगरपालिका हित संरक्षण शाखाका प्रमुख शिबराज न्यौपानेले बताए । अनुगमनका क्रममा सबैभन्दा बढी अनियमितता आरोग्य हर्वल (आयु फार्मेसी) मा फेला परेको छ । उक्त पसलबाट मात्रै १६ हजार ५२० रुपैयाँ बराबरका म्याद गुज्रिएका औषधी बरामद गरिएको छ । त्यसैगरी एसएस बिउबिजन सेन्टरबाट ४ हजार ४ सय २२ रुपैयाँ र बिनोद एग्रोभेट सेन्टरबाट १ सय ५० रुपैयाँ बराबरका सामग्री बरामद गरिएको अनुगमन टोलीले जानकारी दिएको छ ।

टोलीले लालिगुँरास एग्रोभेट सेन्टर, देउराली एग्रोभेट सेन्टर, मनकामना पोल्टी केयर सेन्टर, सफल एग्रि सप्लायर्स, दर्शन स्वर्गद्वारी एग्रोभेट सेन्टर, बगारबाबा एग्रोभेट सेन्टर, सुरेश फलफूल पसल र देउपुर मेडिकल समेतमा अनुगमन गरेका थिए । तीमध्ये केही पसलहरूमा सामान्य सचेतना दिइएको छ भने कतिपयलाई भविष्यमा कडा कारबाही गरिने चेतावनी दिइएको छ । अनुगमन टोलीको नेतृत्व लमही नगरपालिकाको उपभोक्ता हित संरक्षण शाखाका प्रमुख शिबराज न्यौपानेले गरेका थिए । टोलीमा स्वास्थ्य शाखा प्रमुख नारायण शर्मा, पशु सेवा शाखा लमहीका डा. सन्देश वली, कृषि ज्ञान केन्द्र घोराहीका कृष्ण प्रसाद शर्मा र बवि न्यौपाने लगायतका प्राविधिकहरूको उपस्थितीमा अनुगमन गरिएको थियो ।

यसैगरी, अनुगमनमा वडा प्रहरी कार्यालय लमही, देउखुरी उद्योग वाणिज्य संघ, लमही चेम्बर अफ कमर्स, होटल व्यवसायी समिति लमही, कृषि ज्ञान केन्द्र घोराही तथा नेपाल पत्रकार महासंघका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो । विभिन्न निकायको संयुक्त उपस्थितिले अनुगमनलाई थप प्रभावकारी बनाएको सहभागीहरूले बताएका छन् । अनुगमनका क्रममा उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्ने खालका सामग्री बिक्रीका लागि राखिएको पाइएपछि टोलीले सम्बन्धित व्यवसायीलाई कडा निर्देशन दिएको छ ।

“म्याद गुज्रिएका सामग्री बिक्री गर्नु कानुनविपरीत मात्र होइन, मानव स्वास्थ्यसँग प्रत्यक्ष खेलवाड हो,” प्रमुख न्यौपानेले भने, “अब यस्ता कार्य दोहोरिए कडा कारबाही अघि बढाइनेछ ।” नगरपालिकाले आगामी दिनमा पनि यस्ता अनुगमनलाई निरन्तरता दिने जनाएको छ । बजारलाई व्यवस्थित, सुरक्षित र उपभोक्तामैत्री बनाउन नियमित अनुगमन आवश्यक रहेको भन्दै सरोकारवालाहरूले समेत सक्रियता बढाउनुपर्नेमा जोड दिएका छन् । स्थानीय उपभोक्ताहरूले भने यस्ता अनुगमनलाई स्वागत गर्दै निरन्तरता दिनुपर्ने माग गरेका छन् । उनीहरूले बजारमा अझै पनि म्याद नाघेका औषधी तथा खाद्य सामग्री बिक्री भइरहेको आशंका व्यक्त गर्दै कडाइ गर्न आग्रह गरेका छन् । लमही नगरपालिकाले पछिल्लो समय उपभोक्ता अधिकार संरक्षणका लागि सक्रियता बढाएको देखिन्छ । अनुगमनले व्यवसायीहरूलाई जिम्मेवार बनाउन र उपभोक्तालाई सुरक्षित सामग्री उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *