मानव स्वास्थ्य सँग जोडिएको वातावरण स्वच्छ राखौँ-विश्व वातावरण दिवश

घरसञ्चार

दाङ । लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरीले वातावरणमा असर नपर्ने गरी सरकारले विकास निर्माणका काम गरिरहेको बताएका छन् ।

उनले वर्तमानमा सुविधा दिलाउने नाममा भविष्यका सन्ततिलाई असर पर्ने गरी सरकारले विकास निर्माणका काम नगर्नेमा विश्वस्त हुन आग्रह गरे । बिहिवार लमही नगरपालिका र डिभिजन वन कार्यालय दाङ, देउखुरी लमहीले संयुक्त रुपमा आयोजना गरेको विश्व वातावरण दिवसको अवसरमा बोल्दै नगर प्रमुख चौधरीले फोहोरलाई आम्दानीको स्रोतका रुपमा उपयोग गर्नेगरी अघि बढेको बताए । जसका कारण पालिकाहरु अव्यवस्थित र दुर्गन्धित हुनबाट जोगिने बताए । उनले वातावरण संरक्षणका लागि सरकारलाई सबैले सहयोग गर्नुपर्नेमा जोड दिए । वातावरण संरक्षणका लागि स्थानिय तह, वन तथा वातावरण मन्त्रालय र यस मातहत रहेको वातावरण विभागले विभिन्न पहल गर्दै आएको छ तर पनि व्यवहारमा लागु हुन नसक्दा समस्या श्रृजना भएको लमही नगरपालिका उपप्रमुख लक्ष्मी योगीले बताईन । कार्यक्रममा लमही नगरपालिका प्रमुख प्रशासकीय अधिकृत प्रकाश देवकोटाले वातावरण दिवसको अवसर पारेर प्लाष्टिक प्रदूषण रोक्न विश्व समुुदायलाई ध्यान केन्द्रित गरेको बताए ।

उनले नेपालमा प्लाष्टिक प्रयोगको इतिहास त्यति लामो नभए पनि छोटो समयमै यसको अत्यधिक मात्राको प्रयोगका कारण मानव स्वास्थ्य र वातावरणमा असर गरेको प्रति चिन्ता व्यक्त गरे । नेपालमा व्यापारिक, औद्योगिक र घरायसी प्रयोगका सामग्रीको रूपमा जताततै पोलिथिन झोला र अन्य प्लाष्टिकजन्य सामग्रीहरू प्रयोग गर्ने गरिएको छ, उनले भने,–। ‘बढ्दो जनसंख्या र विलासी जीवनशैलीसँगै फोहोरमा प्लाष्टिकको मात्रा निरन्तर बढिरहेको छ । शहरका ढलहरू पोलिथिन फोहोरहरूले भरिदा सडकमै ढल बग्ने गरेको देखिन्छ ।’ ‘प्लाष्टिकका अन्य सामग्री र पोलिथिनका झोला र प्याकेटहरूले गर्दा सिंचाइका कुलोहरू पुरिंदै र साँघुरिंदै गएका छन् । प्लाष्टिकले गर्दा कुलो सरसफाइ र मर्मत गर्न कठिन हुँदै गएको छ । खोलामा पोलिथिन फोहोरको मात्रा बढेकोले खोलाहरू पुरिने र बहाव मार्ग परिवर्तन हुने क्रम जताततै बढिरहेको छ ।’

कार्यक्रममा डिभिजन वन कार्यालय दाङ, देउखुरीका सिनियर डिभिजनल वन अधिकृत महेन्द्र राज वाग्लेले वातावरण संरक्षणका लागि गरेको प्रतिबद्धता पूरा गर्नुपर्नेमा जोड दिए । उनले भने,–। हामीले विकासोन्मुख देशलाई प्रतिकूल मौसममा अनुकूलन गर्न, प्रकृतिको संरक्षण गर्न र दिगो विकासलाई समर्थन गर्नका लागि ठुलो मात्रामा आर्थिक स्रोत उपलब्ध गराएर सघाउनु पर्छ ।’ उनले वातावरण संरक्षणका लागि समन्वयकारी भूमिका निर्वाह गरेर वातावरण शिक्षा विद्यालय तहसम्म पुर्याउन सघाउनुका साथै वातावरण मानिसको जीवनसँग जोडिएकाले यसको संरक्षणमा सबैले ध्यान दिनुपर्ने बताए । जहाँ पायो त्यहीँ फोहोर फाल्नु हुदैन, नदीमा फोहोर फाल्नु हुँदैन भन्ने जानकारी नभएर फालेका हैनन्, उनले भने,–। ‘फालेर केही हुन्छ र भन्ने अर्को अज्ञानता जानी जानी अँगालिरहेका छन् । सिकेको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा आत्मसात् गर्न व्यक्ति, घरपरिवार र समुदायले नसकेको अवस्था छ ।’

यता अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पवन शर्मा रिजालले राजमार्ग किनारका वन क्षेत्रमा प्लाष्टिक झोला र थैलाजन्य फोहोर जताततै छरिएको प्रति निराशजनक चिन्ता व्यक्त गरे । उनले भने,–। ‘वनमा छरिएको प्लाष्टिकले गर्दा वनस्पतिको वृद्धि र विस्तारमा प्रतिकूल असर परेको मात्र छैन, पोलिथिन झोला र थैलाभित्र रहने केही खानेकुराको लोभमा प्लाष्टिक समेत खान पुग्दा वन्यजन्तु र वनमा चर्ने घरपालुवा पशुचौपायाहरू मरेका खबरहरू बारम्बार आइरहेका छन् ।’ ‘खोला र कुलोमा फ्याँकिएका प्लाष्टिक झोला र थैलाहरू सिंचाइको क्रममा किसानका खेतबारीमा पुग्ने गरेकोले कृषि उत्पादनमा ह्रास, खनजोतमा कठिनाइ जस्ता समस्याहरू जताततै देखा परिरहेका छन् ।’ कार्यक्रमको सहजिकरण लमही नगरपालिका वन, वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख गायत्री थापाले गरेकि थिईन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *