राष्ट्रिय वाणिज्य बैंकको देउखुरी शाखा सुरु

घरसञ्चार
दाङ । राष्ट्रिय वाणिज्य बैंकले आफ्नो सेवा विस्तार गर्दै देउखुरी उपत्यकाको राप्ती गाउँपालिका–४, श्रीनारायण चोकमा नयाँ शाखा स्थापना गरेको छ ।
यो शाखा बैंकको ३०१ औँ शाखा हो, जसले बिहिवारदेखी औपचारिक रूपमा सेवा सुरु गरेको छ । बैंकले देउखुरीको यो शाखामार्फत् स्थानीय बासिन्दाहरूलाई सुलभ, भरपर्दो र डिजिटल बैंकिङ सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ । अब स्थानीयवासीहरूलाई बैंकिङ सेवाका लागि तुलनात्मक रूपमा टाढा जानु नपर्ने भएको छ । यो शाखाबाट खाताखोल्ने, नगद जम्मा र झिक्ने, कर्जा सेवा, रेमिट्यान्स सेवा, मोबाइल बैंकिङ, अनलाइन भुक्तानी जस्ता सम्पूर्ण आधुनिक सेवा उपलब्ध हुने शाखा प्रबन्धक बिष्णु गैरेले जानकारी दिए ।

उनका अनुसार देउखुरी क्षेत्रमा कृषि, व्यवसाय, पर्यटन तथा घर निर्माणमा लगानी गर्न चाहने ग्राहकहरूलाई लक्षित गर्दै सहज ऋण सुविधा पनि संचालनमा ल्याइनेछ । विशेषगरी स्थानीय युवा, महिला उद्यमी तथा किसानहरूलाई प्राथमिकतामा राख्दै वित्तीय पहुँच विस्तार गरिने योजना रहेको प्रबन्धक गैरेले बताए ।
राष्ट्रिय वाणिज्य बैंकको आगमनले स्थानीय आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्नुका साथै वित्तीय साक्षरताको वृद्धि गर्दै स्थानीय उत्पादन र सेवाको व्यवसायिकरणमा सघाउ पुर्याउने बिश्वास गरिएको छ । शाखा सुरु भएसँगै राप्ती लगायत आसपासका क्षेत्रका ग्राहकहरू अब सजिलै बैंकिङ सेवा प्राप्त गर्न सक्नेछन् । देउखुरी उपत्यका कृषि प्रधान क्षेत्र हो, जहाँ बैंकको उपस्थितिले कृषिमा आधारित उद्यम विस्तारका लागि ऋण तथा अन्य आवश्यक वित्तीय सहुलियत उपलब्ध गराउन महत्त्वपूर्ण भूमिका खेल्ने बिश्वास गरिएको छ ।

स्थानीय व्यवसायी तथा समाजसेवीहरूले पनि बैंकको स्थापनालाई स्वागत गरेका छन् । स्थानियका अनुसार देउखुरीमा एक प्रतिष्ठित र भरपर्दो बैंकको आवश्यकता थियो, जुन अब पूरा भएको छ । शाखा पप्रबन्धक गैरेले सम्पूर्ण ग्राहकवर्गलाई गुणस्तरीय सेवा दिन आफू र आफ्नी टोली पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए । साथै, बैंकले आगामी दिनमा सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रममार्फत स्थानीय समुदायसँग अझ नजिक हुने योजना बनाइरहेको जानकारी दिए । नव स्थापना भएको देउखुरी शाखा अब स्थानीय समुदायको आर्थिक समावेशीकरणमा टेवा पुर्याउने एक महत्वपूर्ण वित्तीय केन्द्र बन्ने विश्वास गरिएको छ ।