स्वदेशमै रोजगार श्रृजना गर्न ८ युवाले खोले ‘स्टार क्याफे एण्ड रेष्टुरेन्ट’

घरसञ्चार
बाँके । नेपालगञ्ज-१८ बाँकेमा ८ जना युवाहरु मिलेर ‘स्टार क्याफे एण्ड रेष्टुरेन्ट’ सञ्चालनमा ल्याएका छन्।
युवाहरुले १ करोडभन्दा बढीको लगानीमा सुरु गरेको यो रेष्टुरेन्ट स्वास्थ्यप्रद खानाका साथै स्थानीय उत्पादनको प्रवर्द्धनमा केन्द्रित छ । रेष्टुरेन्टका बारेमा जानकारी दिँदै स्टार युवा समूहका अध्यक्ष अभिषेक अमन झाले, स्वदेशमै केही नयाँ र टिकाउ गर्ने लक्ष्यका साथ यो प्रयास गरिएको बताए । उनका अनुसार, क्याफेमा राप्ती नदीको माछा, दाङमा उत्पादन भएको वधिया जातको भाले, मार्सी चामल, साथै कर्णाली क्षेत्रका अर्गानिक उत्पादनहरूलाई विशेष प्राथमिकता दिइएको छ ।

रेष्टुरेन्टमा नेपाली, इन्डियन र चाइनिज खानाका परिकारहरूको स्वाद उपलब्ध हुने पनि उहाँले जानकारी दिए । अध्यक्ष झाले थप जानकारी दिँदै भन्नुभयो, “हामीले नेपालमै उत्पादन भएका विशिष्ट वस्तुहरूलाई प्राथमिकता दिँदै, गुणस्तरीय सेवा दिन खोजेका हौं । विशेषगरी दाङमा उत्पादन भएको वधिया भालेलाई नेपालगञ्जमा पहिलोपटक परिकारको रूपमा प्रस्तुत गर्न लागेका हौं ।” शुक्रबार जेठ २३ देखी सञ्चालनमा आउने यो क्याफे नेपालगञ्ज-१८, कारकाँदो, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अगाडि रहेको छ । यो प्रयासले स्वदेशमै रोजगारी सिर्जना गर्नुका साथै स्थानीय उत्पादनको प्रवर्द्धनमा योगदान दिने अपेक्षा गरिएको छ ।