बिद्यार्थीलाई कम्प्युटर तालिम, सूचना प्रविधि अहिलेको जिवनशैली-प्रबक्ता गिरी

घरसञ्चार
दाङ । लमहीमा बिद्यार्थीलाई दुई महिने निशुल्क कम्प्युटर तालिम शुरु गरिएको छ ।
लमही नगरपालिका वडा नम्बर ७ को आयोजना र द सुपर कम्प्युटर एण्ड ट्रेनिङ एकेडेमी लमहीको सहकार्यमा तालिम शुरु भएको हो । कार्यक्रममा लमही नगरपालिकाका प्रबक्ता तथा वडा नम्बर ७ का वडाध्यक्ष मोहन गिरीले सूचना प्रविधि अहिलेको आवश्यकता मात्र नभई जीवनशैली बनेको बताएका छन् ।कम्प्युटर तालिमको उद्घाटन गर्दै उनले सूचना प्रविधिमा बढ्दो आवश्यकता र उपयोगितालाई ध्यानमा राख्दै युवालाई डिजिटल सीप प्रदान गर्न तालिम आयोजना गरिएको बताए । “आजको युग प्रविधिको युग हो । हाम्रा विद्यार्थी युवाहरूलाई दक्ष बनाउने जिम्मेवारी स्थानिय तहको हो,” उनले भने ।

वडाध्यक्ष गिरीले सात घण्टे कम्प्युटर एडभान्स तालिमले युवा स्वरोजगारका लागि कोशे ढुङ्गा बन्ने बताए । कम्प्युटर सिपले आजको युगमा मनग्य कमाउन सकिने बताउँदै उनले सीप सिकेर भविष्यमा व्यावसायिक बन्नुका साथै आयआर्जनमा जुट्न आग्रह गरे । प्रबिधिको पहिलो खुड्किलो कम्प्युटर शिक्षा हाँसिल गर्न पाउँदा बिद्यार्थीमा उमँग छाएको छ । आर्थिक स्थिती नाजुक भएका विद्यार्थी त्यसै माथी टाढा गएर कम्प्युटर पढ्नुपर्दा बिद्यार्थीमा सकस नै हुन्थ्यो । अहिले त्यो बाध्यता केही हदसम्म अन्त्य भएको छ । लमही नगरपालिका वडा नम्बर ७ उचानिम्बु निवासी एलिसा चौधरी कम्प्युटर चलाउन रुचि राख्थिन । चौधरीले कम्प्युटरका बारेमा चाख मानेर सुन्थिन् । आर्थिक स्थिती कमजोर भएकै कारण उनी कम्प्यूटर चलाउने रहरबाट बञ्चित थिईन । अहिले वडाले कक्षा सञ्चालन गरेपछि उनिमा आत्मविश्वास बढेको छ । उनिजस्तै लमही नगरपालिका वडा नम्बर ७ कमानपुर निवासी सिशिर पुन मगर पनि जीवनको पहिलोचोटी कम्प्युटर चलाउन र सिक्न पाएकोमा खुसी ब्यक्त गरे । कम्प्युटर शिक्षा आजको आबस्यकता भन्ने सुनेका उनलाई कम्प्युटर सिक्ने रहर थियो । आज त्यो चाहना वडाले पूरा गरिदिएकोमा खुसी ब्यक्त गरे ।

कार्यक्रममा बोल्ने अन्य बक्ताले यस्ता सीपमूलक कार्यक्रमले बेरोजगार युवालाई आत्मनिर्भर बन्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । तालिममा वडा नं. ७ का २ सय विद्यार्थी सहभागी रहेका छन् । तालिममा बेसिक र डिप्लोमा अन्तरगतका आधारभूत सीप देखि इन्टरनेट प्रयोग, माइक्रोसफ्ट अफिस, टाइपिङ, डिजिटल सञ्चार आदिसम्मका विषयमा प्रशिक्षण दिइने छ । वडाध्यक्ष मोहन गिरिको अध्यक्षतामा तालिमको उद्घाटन भएको हो । वडासदस्य उर्मिला चौधरीले स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको सञ्चालन वडासचिब शेर बहादुर चौधरीले गरेका थिए । वडाले प्रत्यकबर्ष शिक्षा तथा सिपमुललाई लक्षित गरी यस्ता तालिमहरुको आयोजना गर्दै आईरहेको छ । शिक्षा तथा सिपमुलक कार्यक्रमले हरक तहमा प्रविधिको पहुँच विस्तार गर्नुका साथै स्थानिय स्तरमै रोजगारीका सम्भावनाहरू सिर्जना गर्ने अपेक्षा गरिएको छ ।
