डढेलो रोकथाम गर्न डिभिजन वन कार्यालय ‘देउखुरी’को पूर्वतयारी

शिवुु खनाल
दाङ । वन डढेलो रोकथामका लागि दाङमा विशेष अभियान सुरु गर्न थालिएको छ ।
जिल्लाका अधिकांश वन डढेलो उच्च जोखिममा रहेकाले डिभिजन वन कार्यालय दाङ, देउखुरी लमहीले विशेष अभियान सञ्चालन गर्न थालिएको हो । हरेक वर्ष सामान्यतः फागुनदेखि जेठसम्मको समयलाई वन डढेलोको याम भनेर चिनिन्छ । प्रायः यो समयावधिमा वन डढेलोको प्रकोप देशैभर अत्यधिक बढ्ने गरेको छ । यसरी हरेक वर्ष लाग्ने डढेलोले वन प्राकृतिक र मानवीय धनजनको ठूलो क्षति हुने गर्छ । वन डढेलो व्यवस्थापनका लागि निरोधात्मक उपाय अवलम्बन गर्दै डढेलोबाट हुने जन, धन र वनको क्षति न्यूनीकरण गर्न वन डढेलो सचेतना कार्यक्रम सञ्चालन गर्न लागिएको डिभिजन वन कार्यालय दाङ, देउखुरी लमहीका सिनियर डिभिजनल वन अधिकृत महेन्द्र राज वाग्लेले बताए ।
उनले सुक्खायाममा मानवीय कारणबाट हुने डढेलो रोक्न सचेतना अभियान सञ्चालन गर्न थालिएको बताए । सो कार्यक्रम अन्तर्गत गाउँ–गाउँमा सचेतना सामग्री वितरण, माइकिङ, रेडियोबाट सूचना सामग्री प्रसारण, पोस्टर टाँस्ने, फायरलाइन रेखा सफा गर्ने, डेमो गराउने, पातपतिङ्गर हटाउने तथा जलाउनेलगायतका कार्य गर्ने कार्यक्रम रहेको बताए । डिभिजन वन कार्यालय दाङ, देउखुरी लमहीले सामुदायिक वन, समुदाय, वन कर्मचारी तथा सरोकारवाला निकायसँग अन्तक्र्रिया गर्दै सप्ताहव्यापी रूपमा कार्यक्रमलाई अगाडि बढाउने योजना रहेको डिभिजन वन कार्यालय दाङ, देउखुरी लमहीका सिनियर डिभिजनल वन अधिकृत महेन्द्र राज वाग्लेले बताए ।
राजमार्ग सडक तथा भित्री सडक छेउछाउको पातपतिङ्गर हटाउने, सरसफाइ गर्ने र पूर्वतयारीका कार्यक्रमलाई प्राथमिकता दिइएको कार्यालयले जनाएको छ । वनमा डढेलो लाग्न नदिन सबै नागरिकलाई सचेत हुन आग्रह गरिएको छ । स्थानीयवासी, जनप्रतिनिधिलगायत सरोकार पक्षलाई यस अभियानमा जोडिन आग्रह गरिएको छ । जिल्लाको अधिकांश सामुदायिक वन डढेलोको उच्च जोखिममा रहेकाले सबैलाई सतर्क र सुरक्षा अपनाउन आग्रह गरिएको छ । वनजंगलमा सुक्खा मौसमको समयमा लाग्ने आगलागी तथा डढेलोबाट हुन सक्ने नोक्सानी र डढेलो लाग्नै नदिने उपायबारे सरोकारवालासँग तत्कालै बृहत् छलफल गरि अगाडी बढ्ने योजना रहेको डिभिजन वन कार्यालय दाङ, देउखुरी लमहीका सिनियर डिभिजनल वन अधिकृत महेन्द्र राज वाग्लेले बताए ।
डढेलोले गर्दा हुने क्षति, प्रभाव, डढेलोबाट वन जोगाउन खेल्नुपर्ने भूमिका र चुनौतीका विषयमा व्यापक रूपमा सुसूचित गरिएको जनाइएको छ । मानवीय कारणले ९६ प्रतिशत डढेलो लाग्ने भएकाले सचेतना कार्यक्रमलाई प्राथमिकता दिइएको छ । उनले भने,–। ‘डढेलो लाग्नै नदिने उपायबारे सरोकारवालासँग तत्कालै बृहत् छलफल सकिएपछि पनि अन्य सचेतना कार्यक्रम डढेलोको जोखिम रहने समयभरि जारी रहने छ । सुरक्षा नीकायसँग सहकार्य गरी वनमा लाग्ने डेढेलो नियन्त्रण गर्न टोली परिचालन गर्ने तयारी छ ।’ सुक्खा मौसम भएकाले लमही नगरपालिकाको सामुदायिक वनमा डढेलोको समस्या देखिन थालेको सो कार्यालयले जनाएको छ । घाँस राम्रो पलाउने, चितुवा, बाँदरले दुःख दिँदैनन् भन्ने धारणाले गर्दा वनमा आगो लगाउने समस्या छ ।
वन्यजन्तुको सिकारका लागि समेत कतिपयले वनमा जानाजान आगो लगाउने गर्दा वन विनाश हुने गरेकाले यस्ता प्रवृत्तिको रोकथाममा लाग्न डिभिजन वन कार्यालय दाङ, देउखुरी लमहीका वरिष्ठ वन अधिकृत उपेन्द्र अर्यालले आग्रह गरे । गोठाला तथा केटाकेटीले मनोरञ्जनका लागि वनमा आगो बाल्दा, वननजिकका खेतबारीमा झारपात डढाउँदा आगो बाल्ने र ननिभाउने गर्नाले वनमा डढेलो लाग्ने गरेको डिभिजन वन कार्यालय दाङ, देउखुरी लमहीका सहायक वन अधिकृत हरी पौडेलले बताए ।
राष्ट्रिय वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा क्षति भएको बिगो असुलउपर गरी तीन वर्ष कैद वा ६० हजार रुपियाँसम्म जरिवाना हुने वा दुवै सजाय हुने प्रावधान छ । यसैगरी देउखुरीमा रहेको अजम्मरी सामुदायिक वन उपभोक्ता समूहले वन डढेलो रोकथामका लागि विशेष अभियान सञ्चालन गरिएको छ । वन डढेलोको उच्च जोखिममा भन्दै संरक्षणका लागि विशेष अभियान सञ्चालन गर्न थालिएको अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पवन शर्मा रिाजालले जानकारी दिनुभयो । वन डढेलो व्यवस्थापनका लागि निरोधात्मक उपाय अवलम्बन गर्दै वन डढेलोबाट हुने जन, धन र वनको क्षति न्यूनीकरण गर्नका लागि ‘वन डढेलो सचेतना कार्यक्रम सञ्चालन लागिएको अध्यक्ष रिजालले बताए ।
उनले डढेलोबाट वन जोगाउन सबै व्यक्ति सचेत हुन आवश्यक रहेको बताए । डढेलोले जनधन, वन र जैविक विविधता तथा पारिस्थितिक प्रणालीमा समेत क्षति गर्ने हुँदा यसको रोकथाममा स्थानिय सरकार, उपभोक्ता, वन हेरालु र वन उपभोक्ताको उपसमिति, नेपाली सेनासँग सहकार्य गरी अभियान सञ्चालन गर्न आवश्यक रहेको बताए ।।