प्रधानमन्त्री कप लमहीमा शुरु हुँदै, सिनियर राष्ट्रिय खेलाडी पनि सहभागी हुने

शिबु खनाल
दाङ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता फागुन २५ देखि हुँदै छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले प्रतियोगिता दाङको लमहीमा रहेको देउखुरी अन्तराष्ट्रिय क्रिक्रेट मैदान, सिदार्थ रंगशाला र तिलोत्तमा एक्स्ट्राटेक ओभल मैदानमा सञ्चालन गर्न लागेको हो । उक्त प्रतियोगितामा सात प्रदेश तथा तीन विभागीय टोली सहित दस टिमको सहभागिता रहने छ । राष्ट्रिय खेलकुद परिषद्को आर्थिक सहयोगमा क्यानले प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेको हो । यसअघि प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता दाङको लमहीमा सम्पन्न भइसकेको छ । नेपाल क्रिकेट संघ लुम्बिनी प्रदेशका सचिव तथा देउखुरी अन्तराष्ट्रिय क्रिक्रेट मैदानका संयोजक कैलाश रोकाले प्रधानमन्त्री कप पुरुष क्रिकेटमा ४७ खेलमध्ये लमहीमा रहेको देउखुरी अन्तर्राष्ट्रिय क्रिक्रेट मैदनामा १४, अन्य खेल सिदार्थ रंगशाला र तिलोत्तमा एक्स्ट्राटेक ओभल क्रिक्रेट मैदानमा प्रतियोगिता हुने बताए ।
प्रतियोगिताको लागि देउखुरी मैदान तयारी अन्तिम चरणमा
आगामी फागुन २५ गतेदेखि लमहीस्थित देउखुरी अन्तराष्ट्रिय क्रिक्रेट मैदानमा प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता हुने भएपछि मैदानको तयारी तिब्र थालिएको छ ।
प्रतिष्ठित मानिएको यो प्रतियोगितालाई लक्षित गर्दै प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि खेल मैदान तयारीको काम लगभग अन्तिम चरणमा पुगेको नेपाल क्रिकेट संघ लुम्बिनी प्रदेशका सचिव तथा देउखुरी अन्तराष्ट्रिय क्रिक्रेट मैदानका संयोजक कैलाश रोकाले बताए । प्रतियोगिताका लागि मैदान सम्याउने, पिच निर्माण, दर्शकदीर्घा व्यवस्थापन, सुरक्षा संरचना मजबुत बनाउने र अन्य भौतिक पूर्वाधार मर्मत सम्भारका कार्य सकिएको रोकाले बताए । उनले फागुन २५ गतेदेखि लमही स्थित देउखुरी अन्तराष्ट्रिय क्रिक्रेट मैदानमा प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताको लागि एक महिनाभित्र मैदानलाई अन्तिम रुप दिएको बताए ।

नेपाल क्रिकेट संघ (क्यान)को टोलीले देउखुरी अन्तराष्ट्रिय क्रिक्रेट मैदान तयारीको कामलाई तीव्रता दिइएको थियो । नेपाल क्रिक्रेट संघ लुम्बिनी प्रदेशका अध्यक्ष संजय गुरुङ्ले प्रतियोगिता भव्य र व्यवस्थित बनाउन सबै तयारी अन्तिम चरणमा पुर्याइएको बताए । स्थानीय निकाय, खेलप्रेमी, तथा विभिन्न संघसंस्थाको सहयोगबाट खेलाडी र दर्शकलाई उत्कृष्ट वातावरण प्रदान गरी क्रिक्रेट प्रतियोगितालाई सफल पार्ने लक्ष्य भएको उनले बताए ।
प्रदेश अध्यक्ष गुरूङ्द्वारा लमहीको क्रिकेट मैदान निरीक्षण
नेपाल क्रिकेट संघ लुम्बिनी प्रदेशका अध्यक्ष संजय गुरूङले देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमको निरिक्षण गरेका छन । दाङको लमहीमा रहेको देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमको प्रदेश अध्यक्ष गुरूङले स्थलगत अवलोकन तथा निरिक्षण गरेका हुन । उनले फागुन २५ देखि प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितालाई लक्षित गरेर मैदान स्तरउन्नती गरिरहेको बताए । उनले खेलाडीलाई दक्ष बनाउन र प्रतिस्पर्धामा ल्याउन नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा नेपालमा प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता हुन लागेको बताए । रातो बल र सेतो पोसाकमा खेलिने प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता ५० ओभरको हुनेछ । लुम्बिनी प्रदेश क्रिकेट संघका पदाधिकारीहरू मैदान स्थलगत निरिक्षण तथा अनुगमनमा व्यस्त छन् ।
खेलाडीलाई अवसर, दर्शक उत्साहित
प्रतियोगितामा नेपालका विभिन्न प्रदेश तथा विभागीय टिमका उत्कृष्ट खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन् । प्रधानमन्त्री कपलाई नेपाली क्रिक्रेटमा खेलाडी उत्पादनको मञ्चका रूपमा हेरिन्छ । राष्ट्रिय टिमका धेरै खेलाडीहरू यिनै घरेलु प्रतियोगिताबाट उदाएका छन् । नेपाल क्रिकेट संघ क्यानको आयोजनामा हुने यो प्रतियोगिताले नेपाली क्रिकेटमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ । स्थानीय तह र खेलप्रेमीहरू पनि प्रतियोगिताप्रति उत्साहित देखिएका छन् । नेपाल क्रिक्रेट संघ दाङ जिल्ला अध्यक्ष प्रदिप मजगैँयाका अनुसार प्रतियोगितामा दर्शकको सहभागिता उत्साहजनक बनाउन टिकट व्यवस्थापन, सुरक्षा योजना, र स्वास्थ्य सहायता सेवाका तयारी पनि भइरहेको छ । प्रतियोगिता हेर्न लमही, भैरहवा, बुटवललगायतका स्थानबाट दर्शकको ठूलो उपस्थिति हुने अपेक्षा गरिएको नेपाल क्रिक्रेट संघ दाङ जिल्ला उपाध्यक्ष किशोर घर्ती मगरले बताए । दर्शकहरू पनि उत्साहित छन् । लमहीका युवा खेलप्रेमी तथा देउखुरी क्रिक्रेट क्लवका सदस्य प्रेम पुलामी भन्छन, ‘हाम्रो मैदानमा यति ठूलो प्रतियोगिता हुन लागेको छ । हामी सबै खुसी छौं । मैदान मर्मतसम्भार लगायत विभिन्न काम भइरहेकाले अब छिट्टै तयारी पूरा हुन्छ भन्ने विश्वास छ ।’

स्थानीय होटल तथा यातायात व्यवसायीले समेत प्रतियोगिताका कारण व्यवसायमा चहलपहल बढ्ने अनुमान गरेका छन् । प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता सफल बनाउन स्थानीय तह, खेलप्रेमी, संघसंस्था तथा व्यवसायीहरूसमेतले सक्दो सहयोग गर्न आह्वान गरिएको छ । नेपाल क्रिकेट संघले प्रतियोगिताले नेपाली क्रिकेटलाई थप उचाइमा पुर्याउने विश्वास लिएको छ ।
क्यानले यो ग्राउण्डलाई कसरी संरक्षण गर्छ त्यो भने महत्वपूर्ण हुनेछ । पहिले ढुंगा र खाल्डाखुल्डीका कारण यो मैदानमा अभ्यास गर्न समेत मिल्ने अवस्था थिएन । खेलाडी राम्रो पिचमा खेल्न लुम्बिनी प्रदेश बाहिर जानुपर्ने बाध्यता थियो । खेल सञ्चालन गर्न पिचमा म्याट राख्नुपर्ने अवस्था थियो । पानी पर्दा हिलो र घाम लाग्दा धुलो हुन्थ्यो । देउखुरी अन्तराष्ट्रिय क्रिक्रेट मैदान निर्माणको काम लमही नगर विकास समितिले थालेको हो । २०६८ सालदेखि लमहीमा रहेको अन्तर्राष्ट्रिय क्रिक्रेट मैदान निर्माणको काम सुरु भएको लमही नगर विकास समितिका सव–इञ्जिनियर तुलसीराम अर्यालले बताए ।