लमही बजार सफा राख्न ठाउँठाउँमा डस्टबिन

टेकबहादुर पुन
दाङ । लमही बजारमा फोहोर फाल्नलाई ठाउँठाउँमा डस्टबिन राखिएको छ ।
यो भन्दा अगाडि फोहोर बाटैमा वा सडकमा फाल्नुपर्ने बाध्यता थियो । बजार गर्न आउनेहरु सानादेखी ठुला सम्मलाई बाहिर नै फोहोर फाल्नुपर्ने बाध्यता थियो । जसले गर्दा लमही बजार फोहोरले कुरुप बन्दै गएको थियो । लमही नगरपालिका र लमही खानेपानीले केही बर्ष अगाडि डस्टबिन राखेपनि त्यो प्रयाप्त भने थिएन । बाँकि भएका डस्टबिन पनि चोरी हुँदा लमही बजार फोहोरले कुरुप बन्दै गईरहेको थियो । डस्टबिन बिहिन बनेर कुरुप बन्दै गईरहेको लमही बजारलाई स्वच्छ र सफा राख्ने उद्देश्यले लमही स्थित निरासिज युवा फाउण्डेसनले ठाउँठाउँमा डस्टबिन राखेको छ । फाउण्डेसनले बजारका विभिन्न क्षेत्रमा गरि ७० वटा डस्टबिन राखेको हो । सामान्य तया बजारमा हिंड्दा मानिसबाट निस्कने प्लास्टिक तथा कागजी वा अन्य फोहोर हरु डस्टबिनमा फाल्न फाउण्डेसनले सबैमा अनुरोध गरेको छ ।

यो भन्दा अघि सडक होस या किनार, कुरुप दखिने लमही बजार केही सफा देखिने बिश्वास गरिएको छ । लमही बसपार्क, लमही बजारका गल्लिहरु, क्रिकेट स्टेडियम लगायत क्षेत्रमा डस्टबिन राखिएको छ । ब्यक्तिगत सोचलाई बदल्दै आफ्नो स्थान सफा राख्नुपर्ने चेतनाको बिकाश गर्न खोजिएको फाउण्डेसनकि अध्यक्ष निर्मला चौधरीले बताईन । ‘सामान्यतया हामी हिँड्दा कुनै कागज होस या प्लास्टिक हामी त्यसै फाल्दिन्छौ, त्यसले त्यो स्थानलाई जति राम्रो भएपनि कुरुप देखाईदिन्छ अध्यक्ष चौधरीले भनिन्- आफ्नो ठाउँ आफै सफा राखौँ भन्ने हाम्रो उद्वेस्य हो र अरुको लागि पनि हाम्रो काम सिकाईको पाठ हो ।’

उनले सबै ब्यक्ति तथा यसक्षत्रका संघसँस्थाहरु मिलेर अघि बढे लमही बजारलाई थप सौन्दर्यमा ढल्काउन सकिने बताईन । डस्टबिन राख्ने कार्यक्रम औपचारिक रुपमै उद्घाटन गरिएको थियो । लमही नगरपालिका वडा नम्बर ५ का वडा सदस्य हरिराम चौधरीले कार्यक्रमको उद्घाटन गरेका हुन् । उनले लमही बजार सफा राख्न फाउण्डेसनले गरेको यो कार्य सह्राहनिय रहेको बताए । नागरिकलाई सचेत हुनेगरी ठाउँलाई सफा राख्नुपर्ने उदाहरण मात्र नभई यो अभियानले साँच्चिकै ठाउँ सफा हुने कुरामा दुईमत नरहेको उनले बताए । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका सदस्य चौधरीले लमही बजार आउनेहरुलाई जहाँकतै फोहोर नफाली सभ्य नागरिक भएर डस्टबिनमै फोहोर फाल्न अनुरोध गरे ।
निरासिज युवा फाउण्डेसनले सामाजिक क्षेत्रमा थुप्रै काम गर्दै आईरहेको छ ।
