दाङको लमही नगरपालिका पूर्णखोप सुनिश्चितता घोषित

घरसञ्चार
दाङ । दाङको लमही नगरपालिका पुर्ण खोप घोषित भएको छ । पालिकालाई बुधवार पूर्णखोप सुनिश्चितताको प्रमाणपत्र हस्तान्तरण गर्दै पुर्णखोप घोषित गरिएको हो ।
जिल्ला खोप समन्वय समितिले लमही नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता भएको प्रमाणपत्र हस्तान्तरण गरेको हो । लमही नगरपालिकामा एक कार्यक्रमका विच १६ महिना देखी ५९ महिना सम्मका सबै बालबालिकालाई १५ महिनाको उमेरभित्र पाउनुपर्ने सबै खोप दिलाई पूर्ण खोप पाएको सुनिश्चित गरिएको भन्दै प्रमाणपत्र हस्तान्तरण गरिएको हो । जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका अध्यक्ष नित्यानन्द शर्माले लमही नगरपालिकाका प्रमुख जोगराज चौधरी र प्रमुख प्रशासकीय अधिकृत प्रकाश देवकोटालाई पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र हस्तान्तरण गरे । पूर्ण खोप, सुरक्षित भबिस्य, खोप पाउनु बालबालिकाको नैसर्गिक अधिकार रहेको मुख्य सन्देश दिँदै दाङ जिल्लाका दशवटै पालिकालाई पूर्ण खोप सुनिश्चतता भएको घोषणा गर्न थालिएको छ ।

अहिले सम्म जिल्लाका लमही नगरपालिका, गढवा गाउँपालिका र राप्ती गाउँपालिकालाई प्रमाणपत्र हस्तान्तरण गरिसकिएको छ । यही महिना भित्र जिल्लाका अन्य पालिकालाई पनि प्रमाणपत्र हस्तान्तरण गर्ने कार्यक्रम रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख किशोर आचार्यले जानकारी दिए । लमही नगरपालिका भित्र २ जना एउटा पनि खोप नलगाएको र एक जना छुटेको बालबालिकालाई फेला पारी उनिहरुलाई पनि खोप लगाएर पुर्णखोप सुनिश्चितताको प्रमाणपत्र लिईएको लमही नगरका स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार जन्मेदेखी १५ महिना सम्मका एक हजार एक सय २८ बालबालिकाले नियमिति खोप लगाउदै आएका छन् । यसका साथै १६ महिना देखी ५९ महिना सम्मका दुई हजार तीन सय ३४ बालबालिका रहेका छन् ।

जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले बालबालिकाको मृत्युदर घटाउन र उनिहरुको जीवन रक्षाको लागी खोपले महत्वपूर्ण भूमिका खेलेको बताए । लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले महिला स्वास्थ्य स्वयंमसेविका र स्वास्थ्यकर्मीको अथक प्रयासबाट अभियान सफल भएको बताए । लमही नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रकाश देवकोटाले बालबालिकालाई अनिवार्य खोप लगाउन र त्यसको व्यवस्थापनमा स्थानीय सरकारहरुले प्रभावकारी रुपमा काम गरिरहेको र आगामी दिनमा पनि निरन्तरता दिने बताए । स्वास्थ्य कार्यालय दाङका प्रमुख किशोर आचार्यले पूर्णखोप सुनिश्चितता र दिगोपनाकोलागी सबैको साझा योग्दान रहेको बताए । वडा नम्बर ५ का वडा अध्यक्ष ओमप्रसाद सुवेदीले खोपले जीवन रक्षा गर्ने भएकाले नछुटाई अनिवार्य लगाउनुपर्ने धारणा राखे । स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद शर्माको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण मिना शर्माले गरेकि थिईन ।
