सभ्य समाज निर्माणको बाधक ‘लागू औषध’

घरसञ्चार
दाङ । सभ्य समाज निर्माणमा लागू औषधपनि बाधक बन्ने गरेको प्रहरीको तथ्याङ्कले देखाएको छ ।

समाजमा बस्ने मानिस नै दुर्ब्यसनीमा लागेपछि सभ्य समाज निर्माणको कल्पनाले सार्थकता पाउन सकेको छैन । पछिल्ला समय झन बालबालिका नै लागूऔषध तर्फ आकर्षित हुँदा समाजको अस्तित्व अझै मेटिदै गएको पाईन्छ । विद्यार्थी जिवनकाल बाटै यसको सेवन तथा बेचबिखन उच्च हुँदै आईरहेको तथ्याङ्कमा छ । जसका कारण समाजमा अन्य घटनाहरुपनि बढ्दै गईरहेका छन ।
वडा प्रहरी कार्यालय लमहीको तथ्याङ्कमा पनि लागूऔषध मौलाएको देखिन्छ । प्रहरीको तिनबर्षिय तथ्याङ्क अनुसार हालसम्म ४ महिला र ५५ पुरुष गरि ५९ जना पक्राउ परेका छन ।
आर्थिक बर्ष २०७८/०७९ मा ४ पुरुष पक्राउ परेका थिए । लगत्तै २०७९/०८० मा त्यसको सँख्या बढेर ४ महिला सहित २९ जनालाई प्रहरीले पक्राउ गर्न सफल भएको थियो । २०८०/०८१ हालसम्ममा भने २६ जनालाई पक्राउ गरिसकेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रकाश भुषालले जानकारी दिए । उनी वडा प्रहरी लमहीमा आए लगत्तै खैरो हिरोईन सहित ७ जना पक्राउ परि सकेका छन । पक्राउ परेका ब्यक्तिहरु १५ बर्षदेखी ४० बर्ष उमेरसमुहका छन । तिनबर्षमा पक्राउ परेका ५९ जनामध्य २० जनाको मुद्दा दर्ता भएको थियो । आर्थिकबर्ष ७८/७९ मा २ जना, ७९/८० मा ९ र ८०/८१ हालसम्ममा ९ जनाको मुद्दा दर्ता भएको छ ।

लागुऔषध नियन्त्रण २०३३ को कानुनी प्राबधान अनुसार लागुऔषध खेती, सँरक्षण, सेवन तथा बिक्रिबितरण जघन्य अपराध मानिन्छ । अफिम, ब्राउनसुगर जस्ता लागुऔषध सेवन तथा बिक्रिबितरण गरेको पाईएमा मात्राको आधारमा आजिवन कैद र २५ लाख सम्मका जरिवाना तोकिएको छ ।
देशैभर लागुऔषधका कारण कैद भुक्तान गरिरहेका घटना थुप्रै छन । प्रहरीले लागूऔषध प्रयोगकर्तालाई कारबाहीको दायरामा लिएपनि यसको प्रयोग भने घटेको देखिदैन ।
दिनप्रतिदिन यसको प्रयोग र बेचबिखन देशैभर बढ्दो सँख्यामा छ ।

वडा प्रहरी लमहीका प्रहरी प्रमुख भुषालका अनुसार लमहीको सन्दर्भमा अनुसन्धान गर्दा ठूलो मात्रामा डिलर नभएको र सामान्य सेवनका लागि किनबेच हुने गरेको पाईएको छ । सामान्य भएपनि लागुऔषध अपराध नै भएको उनले बताए । सामान्य परिवार, अभिभाबकत्व गुमाएकाहरु यसतर्फ आकर्षित भएको पाईएको प्रहरी प्रमुख भुषालले जानकारी दिए । यसको रोकथाम तर्फ वडाप्रहरी लमही लागिपरेको छ । दैनिकजसो जनचेतनामुलक कार्यक्रम गर्दै आईरहेको छ ।

विद्यार्थीहरुमा लागुऔषध सम्बन्धी जनचेतना जगाउन सके यसको प्रयोग तथा बेचबिखनमा केही कमि हुनसक्ने भन्दै वडा प्रहरी लमहीले बिद्यालयहरुमा चेतनामुलक कार्यक्रम गरिरहेको छ । वडा प्रहरी कार्यालय लमही र देउखुरी सामुदायिक सेवा केन्द्रको आयोजनामा सुर्य बिनायक माबि लमही-१ का बिद्यार्थीहरुमा जनचेतना जगाईएको हो । यसअघि बालजनता माबी लमही-३ बनगाउँमा कार्यक्रम गरिसकेको छ । कक्षा ८,९ र १० मा अध्ययनरत विद्यार्थीहरुलाई लागू औषध के हो? यसको दुर्व्यसनमा नफस्न के गर्ने ? कानूनी व्यवस्था के छन ? र विद्यार्थीको भुमिका केहो ? बिषयमा केन्द्रित रहेर जनचेतना कार्यक्रम गरिएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख प्रकाश भुषालले बताए ।

उनले लागू औषध व्यक्ति, परिवार, समाज र राष्ट्र विरुद्धको अपराध भएको बताए । यसको सेवन तथा कारोवारले क्षणिक खुसी मिलेपनि व्यक्तिगत तथा सामाजिक जीवनमा असर गर्ने भएकाले लागू औषधबाट टाढै रहन प्रहरीले सन्देश दिएको छ । नागरिक र प्रहरी बिच हातेमालो गर्दै सुमधुर सम्बन्ध बनाउदै सभ्य र सुरक्षित समाज निर्माणका लागि जनचेतनामूलक कार्यक्रम निरन्तर जारी राखिने वडा प्रहरी लमहीले बताएको छ । प्रहरी सँगै नागरिक स्तरबाटै चेतना फैलाउन सके लागुऔषधको प्रयोग केही कमि हुनसक्ने बिश्वास गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *