लिटिल एञ्जल्स स्कूलका प्रिन्सिप भुसाल ईन्टरनेशनल एक्सीलेन्स अवार्ड बाट सम्मानित
भिसुन शाही
काठमाडौं, भदौ २० । शिक्षा क्षेत्रमा पुर्याएको उत्कृष्ट योगदान, समाजको रूपान्तरण र देशको शैक्षिक स्तर उन्नत बनाउन खेलेको प्रशंसनीय भूमिकाको कदर गर्दै दाङ राप्तीस्थित लिटिल एञ्जल्स स्कूलका प्रिन्सिपल शशोभाखर भुसाल प्रतिष्ठित ‘इन्टरनेशनल एक्सीलेन्स अवार्ड २०२६’ बाट सम्मानित हुनुभएको छ ।
काठमाडौंको जमल चोकस्थित राष्ट्रिय नाचघरमा आज शनिबार आयोजना गरिएको “इन्टरनेशनल एक्सीलेन्स अवार्ड २०२६: नेपाल एण्ड इन्टरनेशनल समिट” भव्य समारोहका बीच उहाँलाई सो अवार्ड प्रदान गरिएको हो । उक्त विशेष समारोहमा नेपाल तथा अन्तर्राष्ट्रिय क्षेत्रका विभिन्न विधाका लब्धप्रतिष्ठित व्यक्तित्वहरू, शैक्षिक दूरदर्शी र विधागत सफल व्यक्तिहरूको उत्साहजनक उपस्थिति रहेको थियो।प्रिन्सिपल भुसाललाई शिक्षा क्षेत्रमा विशिष्ट र उल्लेखनीय सेवा पुर्याए बापत “बेस्ट कन्ट्रीब्युशन इन एजुकेसन फिल्ड” (शिक्षा क्षेत्रमा उत्कृष्ट योगदान) विधा अन्तर्गत ‘प्रमाणपत्र’ र ‘गोल्डेन ट्रफी’ द्वारा सम्मानित गरिएको हो ।
समारोहका प्रमुख अतिथि नेपालका पूर्व उपप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी, नेपाल (जसपा) का अध्यक्ष माननीय उपेन्द्र यादवले उहाँलाई सो सम्मान हस्तान्तरण गर्नुभएको थियो । एबीएम (ABM) को मुख्य आयोजना तथा समारी इन्टरनेशनल प्रालि, आभा फाउन्डेसन नेपाल, एस. राज प्रोडक्सन, कमला माई इन्टरटेनमेन्ट र मानव सेवा फाउन्डेसन ट्रस्टको सहकार्यमा यो कार्यक्रम सम्पन्न भएको हो।आयोजकका अनुसार यो सम्मान भविष्यलाई प्रेरित गर्ने र आफ्नो कर्मक्षेत्र मार्फत स्थानीय समुदायको विकासमा असाधारण योगदान दिने व्यक्तित्वहरूलाई प्रदान गरिँदै आएको छ । श्री भुसालको कुशल नेतृत्वमा राप्तीको लिटिल एञ्जल्स स्कूलले शैक्षिक गुणस्तरमा नयाँ उचाइ हासिल गरिरहेको र सोही योगदानको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उच्च मूल्यांकन भएको हो ।






