आत्महत्या रोकथाममा समुदायलाई सचेत बनाउँदै प्रहरी

घरसञ्चार

दाङ । समुदाय-प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत आत्महत्या न्यूनीकरण सम्बन्धी जनचेतनामूलक कार्यक्रम लमही नगरपालिका-७ जनकपुरमा सम्पन्न भएको छ । इलाका प्रहरी कार्यालय अमिलियाअन्तर्गत प्रहरी चौकी सतबरियाको आयोजनामा भएको कार्यक्रममा जनकपुर र कप्तानगञ्ज क्षेत्रका करिब ५० जना स्थानीयवासीको सहभागिता रहेको थियो ।

देशभर आत्महत्याका घटनामा वृद्धि भइरहेको अवस्थालाई मध्यनजर गर्दै समाजमा सचेतना फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको प्रहरी चौकी सतबरियाले जनाएको छ । कार्यक्रममा प्रहरी चौकी सतबरियाका इन्चार्ज प्रहरी सहायक निरीक्षक रामसागर चौधरीले सहजीकरण गर्दै आत्महत्याको जोखिम, त्यसका कारण, रोकथामका उपाय तथा मानसिक स्वास्थ्यको महत्वबारे प्रशिक्षण दिएका थिए । उनले आत्महत्या व्यक्तिगत मात्र नभई परिवार, समुदाय र समग्र समाजसँग जोडिएको संवेदनशील विषय भएकाले समयमै सचेतना, माया, साथ र उचित परामर्शले धेरै घटना रोक्न सकिने बताए ।

मानसिक तनाव, पारिवारिक समस्या, आर्थिक दबाब, लागुऔषध तथा मदिराको दुरुपयोग, सामाजिक एक्लोपनजस्ता कारणले आत्महत्याको जोखिम बढ्न सक्ने भएकाले यस्ता समस्यामा परेका व्यक्तिलाई सहयोग र हौसला दिन सबैको भूमिका आवश्यक रहेको उनले उल्लेख गरे । प्रशिक्षणका क्रममा नियमित व्यायाम, योग तथा ध्यान, सन्तुलित आहार, स्वस्थ जीवनशैली अपनाउने, जोखिमपूर्ण साधनको पहुँच कम गर्ने, आत्महत्यासम्बन्धी भ्रामक समाचारको अनावश्यक प्रचारप्रसार नगर्ने तथा आवश्यकता अनुसार मनोवैज्ञानिक वा मनोसामाजिक परामर्श लिनुपर्ने विषयमा समेत जानकारी गराइएको थियो । कार्यक्रममा सहभागी स्थानीयवासीहरूले मानसिक स्वास्थ्यका विषयमा खुलेर छलफल गर्न पाउँदा आफूहरू थप सचेत बनेको प्रतिक्रिया दिएका थिए ।

यस्ता कार्यक्रम गाउँ-समाजसम्म निरन्तर सञ्चालन गरिए आत्महत्या न्यूनीकरणमा सकारात्मक प्रभाव पर्ने उनीहरूको भनाइ थियो । प्रहरीले आत्महत्याको सोच वा गम्भीर मानसिक तनावमा रहेका व्यक्तिलाई एक्लै नछाड्न, परिवार र समुदायले सहयोगी वातावरण निर्माण गर्न तथा आवश्यक परे सम्बन्धित निकाय वा हेल्पलाइनमार्फत तत्काल परामर्श लिन आग्रह गरेको छ । समुदाय-प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सञ्चालन गरिएका यस्ता जनचेतनामूलक गतिविधिले नागरिक र प्रहरीबीचको सहकार्यलाई थप मजबुत बनाउनुका साथै मानसिक स्वास्थ्यप्रति सकारात्मक सोच विकास गरी आत्महत्याका घटना न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *