लमहीका अधिकांस मेडिकल तथा अस्पतालमा म्याद गुज्रेका औषधी

शिबु खनाल

देउखुरी । देउखुरीको लमही नगरपालिका क्षेत्रमा रहेका अधिकांश औषधि पसलमा म्याद गुज्रेका औषधि फेला परेको छ । लमही नगरपालिका उपभोक्ता हित संरक्षण शाखा, देउखुरी उद्योग बाणिज्य संघ लमही, चेम्बर अफ कमर्स लमही, पत्रकार र वडा प्रहरी कार्यालय लमही र नगर प्रहरीको संयुक्त अनुगमन टोलीले शुक्रवार लमहीका विभिन्न मेडिकलबाट म्याद सकिएका औषधिहरू बरामद गरेको हो ।

नगरपालिका उपभोक्ता हित संरक्षण शाखाले नगर क्षेत्रका ११ वटा औषधि पसल, प्याथोलोजी, क्लिनिक, आयुर्वेद उपचार केन्द्रहरूमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा अधिकांश पसलहरूमा म्याद गुज्रिएका औषधि फेला परेको हो । लमही नगरपालिका वडा नं. ५ स्थित तुलसी सेटलाइट अस्पतालको फार्मेसी भित्रबाट सबैभन्दा बढी विभिन्न प्रकारका म्याद गुज्रिएको औषधि फेला परेको थियो भने लमही नगरपालिकाबाट बिना इजाजत अस्पताल सञ्चालन गरेको पाइएको लमही नगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायण शर्माले जानकारी दिए । उनका अनुसार तुलसी सेटलाइट अस्पताल लमहीले लमही नगरपालिकाबाट अस्पताल संचालन गर्नका लागि कुनै आधिकारीक अनुमतिपत्र नलिई कानुन विपरित अस्पताल संचालन गरेको पाइएको बताए ।

उनले भने,–। ‘व्यवसायी दर्ता गरेको पाइएको र अनुमतिको लागि प्रक्रिया अगाडि बढाएता पनि स्थानिय तहको अनुमति विना अस्पताल संचालन गरेको पाइयो । र्यागबाट छुट्टाइएको भएपनि फार्मेसी भित्र काटुनमा राखिएको अवस्थमा म्याद गुज्रिएका औषधीहरु भेटिएको छ ।’ अनुगमनको क्रममा अस्पताल भित्र विरामी भर्ना कक्ष अव्यवस्थित, प्रयोगशाला कक्षमा टायल नपिछाइएको, ईमर्जेन्सी कक्षमा विद्युतीय सामाग्री राखिएको, फार्मेसी भित्र म्याद गुज्रिएको औषधी बरामद भएको स्वास्थ्य शाखा प्रमुख शर्माले जानकारी दिए । अस्पताल प्रशासन प्रमुख आकुर दाहालले अस्पताल संचालनको लागि तत्कालै लमही नगरपालिकाबाट अनुमतिपत्र लिइ कानुनी रुपले अगाडी बढ्ने बताए ।

त्यस्तै, लमही नगरपालिका वडा नं. ५ कै जानकी मेडिकल स्वास्थ्य क्लिनिकबाट समेत केही म्याद गुज्रेका औषधि अनुगमन टोलीले बरामद गरेको छ । यसैगरी लमही नगरपालिका वडा नं. ५ स्थित सन्चो मेडिकल फर्म फार्मेसीबाटै म्याद गुज्रिएको औषधीहरु फेला परेको छ भने २०७६ देखि यता नविकरणनै नगरी मेडिकल संचालन गरेको अनुगमनको क्रममा भेटिएको हो । यस्तै अनुगमनको क्रममा कृपा मेडिकलमा नार्कोटिक्स औषधी राख्ने कोठामा थप व्यवस्थापन गर्न, देउखुरी फार्मेसी र विपि मेडिकलमा एक्सरे र प्रयोगशाला संचालन गर्ने कोठालाई सुधार गर्न निर्देशन दिइएको छ ।

त्यसैगरी पानस मेडिकल, मध्यपश्चिम स्वास्थ क्लिनिकमा पानस मेडिकल स्टोर पनि संचालनमा रहेकोले दुबै व्यवसायीलाई अलग अलग रुपमा स्थानिय तहमा दर्ता गरि संचालन गर्नुपर्ने सुझाव दिइएको लमही नगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायण शर्माले जानकारी दिए । उनका अनुुसार अधिकारी डेण्टल, गौरव बहउद्देश्य सहकारी संस्था, मेट्रो अस्पतालको समेत अनुगमन गरिएको हो भने अनुगमनको क्रमममा सामुदायिक अस्पतालको गेटमा ताला लगेको र बारिह केही समयपछि संचालनमा ल्याइदै छ भन्ने उल्लेख भएपछि उक्त अस्पताल कहिले संचालनमा आउने भन्ने विषयमा नगरपालिकाबाट खोजी गरिने स्वास्थ्य शाखा प्रमुख शर्माले बताए ।

अनुगमनको क्रमममा लमहीमा रहेको गितेश किराना पसलले किराना पसल दर्ता नगरि फलफुल, तरकारी र पिय पदार्थ विक्री गर्दै आएको भेटिएको छ । फलफुल, तरकारी र पिय पदार्थ विक्रीको कुनै अनुमति नलिइ अवैध रुपमा किराना पसलको नामबाट कारोबार गर्दै आएको लमही नगरपालिका उपभोक्ता हित संरक्षण शाखा प्रमुख शिवराज न्यौपानेले बताउनुभयो । उहाँले १५ दिनभित्रै कागजी प्रक्रिया सहित सुधार गर्नुपर्ने देखि लिएर व्यवस्थापन गर्न पसल संचालकलाई निर्देशन दिनुभयो । म्याद गुज्रिएको औषधि राख्ने गरिएको, कम गुणस्तरको औषधि बिक्री वितरण गरिएको, कतिपय औषधि प्रयोग गरेपछि मात्र म्याद गुज्रेको थाहा पाएको लगायतका जनगुनासो बढेपछि लमही नगरपालिका उपभोक्ता हित संरक्षण शाखाले औषधि पसलहरुको अनुगमन गरेको उपभोक्ता हित संरक्षण शाखाका प्रमुख शिवराज न्यौपानेले बताए । उनले अनुगमनको क्रममा औषधि पसल, प्याथोलोजी, क्लिनिक, आयुर्वेद उपचार केन्द्र सांचलनका लागि पूर्वाधार मापदण्ड नरहेको भेटिएको बताउनुभयो । एउटै औषधिको मूल्य पनि फरक–फरक पर्ने गरेको गुनासो पनि आएको छ, उनले भने,–। ‘नगरबासीको गुनासोपछि अनुगमन थालिएको हो । अनुगमनपछि मेडिकल व्यवसायीहरूलाई सचेत गराउनुका साथै दर्ता–नवीकरण प्रक्रिया तत्काल पूरा गर्न निर्देशन दिइएको छ ।’

म्याद गुज्रिएका स्वास्थ्य सामाग्री भेटिनु स्वभाविक हो त्यसलाई व्यवस्थित गरेर राख्नुपर्ने थियो । त्यो कुनै पनि मेडिकल व्यवसायीहरुले गरेको पाइएन । सुधार गर्ने व्यवस्थापकिय पक्ष मेडिकल व्यवसायीहरुको धेरै कमजोरी देखियो, लमही नगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायण शर्माले भने । उनले उपभोक्ता हित संरक्षण शाखाले संलग्न मेडिकलहरूलाई पहिलो पटक चेतावनी दिइएको बताए । उनका अनुसार स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा यस्तो लापरबाही अस्वीकार्य छ । अब नियमित अनुगमनलाई थप कडाइका साथ अघि बढाइनेछ । बरामद गरिएका औषधिहरू नष्ट गर्न र पुनः दोहोरिएमा कानुनी कारबाही गरिने चेतावनीसमेत दिइएको छ । यसअघि निजी फार्मेसीमा मात्र निगरानी गरिँदै आए पनि लमहीका मेडिकलहरुको फार्मेसीमा अनुगमन गरिएको यो पहिलो पटक हो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *